लमजुङ — करिब ३ दशकअघि कालोपत्र गरिएको डुम्रे–बेंसीसहर सडकमा बर्सेनि बजेट विनियोजन हुन्छ, बर्सेनि मर्मतका काम पनि भइरहेको छ ।
वर्षायाममा सडक पानी पर्नासाथ दिनहुँ बन्द हुन्छ । माथिल्ला क्षेत्रमा निर्माण गरिएका कच्ची सडक र ढुंगाका खानीहरूले सडक बगाइदिन्छ ।
सिंगल लेनको यो सडकको लमजुङ खण्डमा धेरै समस्या आउने गरेको छ । कुल ४२ किलोमिटर सडकको डुम्रे–बेंसीसहर सडक लमजुङमा मात्रै १८ किलोमिटर पर्छ । लमजुङ खण्डको पनि बेंसीसहर नगरपालिका-१, उदिपुर क्षेत्रमा यो सडकले बढी दुःख दिने गरेको छ ।
उदिपुरको अँधेरीखोला, दलाल र उदिपुर बजारमा माथिबाट आएको गेग्र्यानहरू थुप्रिने, सडक बगाउने र क्षति पुर्याउने समस्याले लामो तथा छोटो दुरीका सवारीसाधनलाई मात्रै होइन, बटुवालाई समेत सास्ती दिएको स्थानीय पुरुषोत्तम सिलवालले बताए । उनका अनुसार बेला–बेला चिल्पेटी खोलाले पनि समस्या बनाउँछ ।
डुम्रे–बेंसीसहर–सडक आयोजना कार्यालयका निमित्त प्रमुख इन्जिनियर किरण पोखरेलका अनुसार माथिल्लो कच्ची सडकबाट बगेको गेग्र्यानले तल्लो क्षेत्रको पक्की सडकमा क्षति पुर्याउने गरेको छ । ‘अँधेरीखोलामा ६० मिटर जति माथि अर्को सडक रहेछ । त्यही सडकमा गेग्र्यान रहेछ । बाढीको भलसँगै वरिपारिको गेग्र्यानले बाटो नै ध्वस्त भयो, बिगार्यो,’ उनले भने । उनका अनुसार माथिबाट आएको गेग्र्यानले चण्डीप्रसाद गणलाई समेत असर पारेको छ । ‘यसलाई तत्काल नियन्त्रण गर्नुपर्ने भयो । हामीले सडक जोगाउन टेवा पर्खाल उठाउने काम गरिरहेका छौं,’ उनले भने । करिब १० लाख रुपैयाँ खर्च अनुमान गरेर १२ मिटर लम्बाई र ४ मिटर उचाइको पर्खाल लगाउने काम भइरहेको उनले बताए । ‘यो तत्काल सडक जोगाउन मात्रै हो । दीर्घकालका लागि विस्तृत अध्ययन नै गरेर ठूलो कार्ययोजना बनाउनुपर्छ,’ उनले भने ।
दलालमा ५०–६० मिटर माथि ढुंगाखानीबाट गेग्र्यान बगेको उनले बताए । उनका अनुसार गेग्र्यानले सडकमा मात्रै नभएर घरहरूमा समेत क्षति पुगेको र निर्माण सकिँदै गरेको नेपाल विद्युत प्राधिकरणको उदिपुर सवस्टेसनलाई समेत जोखिममा पारेको छ । ‘सडकबाट, खानीबाट सोरिएर पहिरो सडकमै आउने भयो । पानी पर्नेवित्तिकै डुम्रे–बेंसीसहर सडक बन्द भयो भन्ने बुझे भयो,’ उनले भने ।
बेंसीसहर नगरपालिका १ का वडाअध्यक्ष दुर्गाबहादुर बुढाथोकीले माथिल्लो क्षेत्रमा निर्माण गरिएका सडक, ढुंगाखानी र डढेलोका कारण सडकमा समस्या देखिएको बताए । ‘ढुंगाखानी त २०७४ तिरबाटै बन्द भएको भन्ने बुझिन्छ । माथिको बाटो पहिल्यै बनेको रहेछ । डढेलोले रुखविरुवा खाइदिने, सुख्खा हुने र बाढीपहिरो जाँदा त्यसले ठूलो रुप लिएको देखियो,’ उनले भने ।
प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले माथिल्लो क्षेत्रमा भएको सडक विकास, ढुंगाखानीलगायतका कारण विपद निम्तिएको बताए । ‘अँधेरीखोलाको सडकमा क्षति पुग्नुमा माथिको बाटो नै हो भन्ने छ । दलालमा माथि ढुंगा खानी छ भन्ने छ । अनुसन्धान गर्न बाँकी छ, मापदण्डमा हो या होइन,’ उनले भने, ‘भूगोलका कारणले पनि सडकहरू भासिए होलान् । जथाभावी डोजर प्रयोग गर्नाले पनि समस्या आएको देखिन्छ । वातावरणीय प्रभाव अध्ययन नगरी सडकहरू बनाएर पनि हुन सक्छ ।’
प्रकाशित : श्रावण २३, २०८१ ०९:३०