कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

तनहुँको आबुखैरेनी डेंगी संक्रमणको हटस्पट बन्दै

श्रावण २३, २०८१
तनहुँको आबुखैरेनी डेंगी संक्रमणको हटस्पट बन्दै

Highlights

  • संक्रमित बढेपछि चार विद्यालय बन्द

तनहुँ — जिल्लाको आबुखैरेनी गाउँपालिकाको आबुखैरेनी बजार क्षेत्र डेंगी संक्रमणको हटस्पट बन्दै गएको छ । गत जेठ ३१ मा यहाँ एक जना डेंगी संक्रमित भेटिएकामा अहिले दैनिक ३५/४० जनामा संक्रमण देखिन थालेको हो ।

गाउँपालिकाले सञ्चालन गरेको आबुखैरेनी अस्पतालमा मात्रै मंगलबारसम्म ३५० जनामा डेंगी संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख डीबी क्षेत्रीले बताए । जसमध्ये ११७ जना अस्पतालमै भर्ना भई उपचाररत छन् । उनका अनुसार आबुखैरेनी–३ का बासिन्दा डेंगी संक्रमणबाट बढी प्रभावित भएका छन् ।

अस्पतालमा गोरखा र मुग्लिङ क्षेत्रबाट समेत सर्वसाधारण उपचारका लागि आउने गरे पनि बढी मात्रामा संक्रमित आबुखैरेनीकै रहेको प्रमुख क्षेत्रीले बताए । ‘डेंगी संक्रमितको संख्या दैनिक बढ्दै गएको छ, अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ,’ उनले भने, ‘कतिपय बिरामी परीक्षणको दायरामै आइपुग्नु भएको छैन भने कति उपचारका लागि अन्यत्र समेत जानुभएको होला ।’

स्वास्थ्य कार्यालय तनहुँका अनुसार गत असार १ देखि मंगलबारसम्म जिल्लामा ६४३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । जिल्लाको आबुखैरेनी गाउँपालिकामा सबैभन्दा बढी डेंगी संक्रमित भेटिएका छन् । स्वास्थ्य कार्यालय तनहुँकी पब्लिक हेल्थ नर्स पूजा कुवँरका अनुसार आबुखैरेनी गाउँपालिकामा मंगलबारसम्म ४८१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । आबुखैरेनीका स्वास्थ्य संस्थामा आबुखैरेनीसँगै छिमेकी जिल्ला गोरखाबाट समेत बिरामी उपचारका लागि आउने गरेका कारण संक्रमितको संख्या बढी देखिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार मंगलबारसम्म तनहुँको शुक्लागण्डकी नगरपालिकामा १०५ जना, व्यास नगरपालिकामा ५६ जना, बन्दीपुर गाउँपालिकामा ३५ जना र भीमाद नगरपालिकाका २ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

यस्तै, पालिकामा डेंगी संक्रमितको संख्या बढ्दै गएपछि र बालबालिका समेत संक्रमित हुन थालेपछि चारवटा विद्यालय बन्द गरिएको छ । आबुखैरेनी–३ अन्तर्गतको मर्स्याङ्दी बाल ज्योति इङ्लिस बोर्डिङ स्कुल, रामशाह माध्यमिक विद्यालय, नवबुद्ध इङ्लिस बोर्डिङ स्कुल र बाल शिक्षा सदन इङ्लिस बोर्डिङ स्कुल बन्द गर्न लगाइएको पालिकाकी शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी गराइन् ।

‘डेंगी संक्रमणका कारण विद्यार्थी बढी प्रभावित हुन थालेपछि यी विद्यालय बन्द गर्न निर्देशनानुसार अनुरोध गरिएको छ,’ उनले भनिन्, ‘अन्य विद्यालयले समेत विद्यार्थीको अवस्था अनुसार बिरामी संख्या वृद्धि भएको खण्डमा विद्यालय बन्द गर्न र डेंगी रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा पूर्वतयारी एवं विशेष सतर्कता अपनाउनुका साथै उपचारमा समस्या भएका तथा बिमा नभएका विद्यार्थीलाई आबुखैरेनी अस्पतालमा निःशुल्क उपचारको व्यवस्थासमेत गरिएको जानकारी गराइएको छ ।’

यस्तै, पालिकामा डेंगी संक्रमण फैलदै गएपछि गाउँपालिकाले सचेतनामूलक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए । पालिकाले डेंगी संक्रमण फैलाउने लामखुट्टे बस्न सक्ने सम्भावित ठाउँको पहिचान गरी ‘खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिएको छ भने डेंगी प्रभावित क्षेत्रमा किटनाशक औषधि छर्कने कि भन्ने विषयमा पनि छलफल भइरहेको उनले बताए ।

सडक छेउछाउका नालाबाट डेंगी संक्रमण फैलिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको आबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । ‘वर्षातका समयमा परेको पानी नालामा जम्न गई सोही स्थानबाट संक्रमण फैलिएको प्रारम्भिक अनुमान गरिएको छ,’ उनले भने, ‘अहिले पालिकाभित्रका नाला सफा गरी औषधि छर्किने काम भएको छ ।’

डेंगी प्रभावितहरूलाई उपचारको व्यवस्था मिलाउनका लागि अस्पतालमै डेंगी वर्ड बिहीबारबाट सञ्चालन गर्न लागिएको उनले बताए । ‘आबुखैरेनी अस्पताल १५ बेड क्षमताको भए पनि हाल इमर्जेन्सी वर्डमा ४० वेड राखेर उपचार गराइरहेका छौं तर यसले पनि धान्न नसकेर १५ बेडको छुट्टै डेंगी वार्ड सञ्चालन गर्न लागिएको हो,’ उनले भने, ‘यस वार्डमा उपचार गर्न नसक्नेहरूको पनि निःशुल्क उपचार गर्ने गरी तयारी गरेका छौं ।’

यस्तै, आईसीयूसहितको उपचार सेवा आवश्यक पर्ने संक्रमितलाई चितवन पठाउनु पर्ने बाध्यता रहेको उनले बताए । ‘हामीसँग आईसीयूसहित उपचार कक्ष छैन, त्यसैले बुधबारसम्म १५ जना बढीलाई उपचारका लागि बाहिर पठायौं,’ उनले भने, ‘भोलिका दिनमा संक्रमण यसरी नै बढ्दै गए हामीलाई थप विशेषज्ञ सेवा पनि चाहिन सक्छ । त्यसका लागि प्रदेश र संघ सरकारलाई केही समयकै लागि भए पनि विशेषज्ञ चिकित्सक सहित आवश्यक उपकरण उपलब्ध गराइदिनुहुन अनुरोध गरेका छौं ।’

डेंगी संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भएकाले पालिकाले जनचेतनासँगसँगै घर वरपरका खाल्टा पुर्ने, सरसफाइ अभियान चलाएको गाउँपालिकाका अध्यक्ष चुमानले बताए ।

डेंगी संक्रमणका कारण जिल्लामा एक पुरुषको मृत्यु भइसकेको छ । व्यास नगरपालिका–७ का ५० वर्षीय पुरुषको मंगलबार मृत्यु भएको बताइएको छ । मृतक व्यक्तिमा दीर्घरोगको समस्यासमेत रहेको थियाे ।

जिल्लामा गत वर्ष डेंगी संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो भने करिब ८ हजार जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

प्रकाशित : श्रावण २३, २०८१ १९:०७
x
×