छाेरी मृत्युको कारण खोज्दै विक दम्पती
Highlights
- घटना भएकाे १४ महिना, १४ पटक नै १ सय २० कि सदरमुकाम आउजाउ
बागलुङ — घाँस काट्न गएकी १४ वर्षकी छोरी घर नफर्केपछि तत्काल खोजी सुरु भयो । छिमेकीले उनको मृत्यु भएको भनेर खबर सुनाएपछि बाबु झमरसिंह विक र आमा गोमा बेहोस भए । केही समयपछि प्रहरी आएर घटनास्थल मुचुल्का बनायो । छिमेकीले विक दम्पतीलाई सम्झाइबुझाइ गरे ।
ढोरपाटन नगरपालिका–८ का झमरसिंह कामी र गोमाकी माइली छोरी विपनाको २०७९ चैत २८ मा मृत्यु भएको थियो । झमरले छोरीको शव पोखरा लगेर पोस्टमार्टम गर्न खोजे । तर प्रहरीले मानेन । उनले किटानी जाहेरी पनि दिए । घाँस काट्न सँगसँगै गएका छिमेकीको नाममा दिएको जाहेरी अनुसार इलाका प्रहरी कार्यालय बुर्तिवाङले मुद्दा चलाउने आश्वासन दियो । आश्वासन पाएका विक दम्पती घर फर्केर मृतक छोरीको दाहसंस्कार गरे । मृत भेटिएकी छोरीको कसरी ज्यान गयो भन्ने उनी जान्न चाहन्छन् । तर विकलाई न पोस्टमार्टमको रिपोर्ट दिइयो, न किटानी परेकालाई मुद्दा चलाइयो । घटनाको १४ महिना बित्दा पनि सत्य जान्न नपाएकामा विक चिन्तित र आक्रोशित छन् । विक भन्छन्, ‘मेरी छोरीको हत्या कसले गर्यो ? खोजी गर्नु पर्दैन ?’
आफ्ना दुई छोरीसँगै छिमेकी समेत ५ जना घाँस काट्न जंगल गएकामा एक छोरी मात्र नफर्केपछि तत्काल खोजी गरेका थिए । छिमेकीले छोरी घर आइसकी, नुहाउन गएकी छ भनेर पनि झुक्याएको विकले बताए । सँगै गएका मध्ये घाँस लिएर फर्केकाले नै दुई पटकसम्म झुक्याएकाले छोरीको हत्या भएको उनले अनुमान लगाएका छन् । घाँस काट्न गएका ५ जनामा ३ जना एउटा पाटोमा र २ जना अर्को पाटोमा थिए । ३ जना फर्कंदा जेठी छोरी घर आइसकेकी थिइन् । सँगै रहेकी अर्की किशोरी फर्केको तर विपना नफर्केकाले घटना शंकास्पद भएको हो । रुखमा झुण्डिएको विपनाको शवदेखि वरिपरि उनको चप्पल, पैसा र कपाल बाँध्ने रबरसमेत छरिएको अवस्थामा भेटेको प्रहरीले घटनास्थल मुचुल्का बनाएको थियो । उक्त मुचुल्का अनुसार प्रहरीले जाहेरी लेखिदिएको भन्दै पढेर सुनाए पनि अर्कै कागजमा आफ्नो हस्ताक्षर गराएको विकको आरोप छ ।
आफूले दुवै कागज सुरक्षित राखेको उनले बताए । घटनाको डेढ वर्षसम्म कुनै प्रक्रिया अगाडि नबढ्दा विक यो अवधिमा १४ पटक सदरमुकाम आइसकेका छन् । उनको घर सदरमुकामदेखि १ सय २० किमि पश्चिममा पर्छ । तर रित्तो हात फर्केका छन् । ‘साछीसमेत लिएर आउँदा हरेक पटक १०/१२ हजार खर्च हुन्छ, पटक–पटक आइसकेको छु, केही भएन,’ उनले भने, ‘अहिले त प्रहरी कार्यालयमा पुग्दा उल्टै हप्कीदप्की खानु परेको छ ।’ हस्ताक्षर नभएको कागज आफैंले तयार पारेको भनेर प्रहरीले हप्काएको उनले गुनासो गरे । तर उक्त कागजमा भएका हस्तलिखितको खोजी गरेमा कागज लेख्ने दोषी पनि भेटिने विकले बताए ।
अझै पनि उनकी छोरीको मृत्युबारे कुनै मुद्दा अगाडि बढेको छैन । छोरीको मृत्यु कसरी भयो भन्ने सत्य जान्न चाहेको उनले बताए । झमरसिंहले किटानी जाहेरी दिएकालाई प्रहरीले पक्राउ गरेन । बरू बुटवल पठाइदिएको १६ महिनापछि मात्र थाहा पाएको बताए । ‘किटानी दिएकी युवती त्यतिबेला १८ वर्षकी थिइन्, अहिले २० वर्ष पुगिसकेकी छन्,’ उनले भने, ‘जिल्ला पठायौं भनेर मलाई ढाँटेर आफन्तको घरमा बुटवल पठाएका रहेछन् ।’ अहिले ती युवती गाउँ फर्केपछि उनीहरू झसंग भएका छन् । मुद्दा अदालतमा पेस नभएपछि उनले खोजी गरिरहेका थिए । तिनै युवतीले छिमेकीलाई सुनाउँदै आफ्नी अर्की छोरीको पनि हत्या गरिदिन्छु भन्ने धम्की दिएपछि झनै त्रसित भएको विकले बताए । विकका दाइ टेकबहादुरसहित सदरमुकाममा आएर उनले हारगुहार गरिरहेका छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी ऋषिराम कँडेलले मृतकका परिवारजनबाट पटक–पटक अनुसन्धान नभएको गुनासो आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा घटनाको अनुसन्धान भइरहेको र पोलिग्राफ परीक्षणका लागि विज्ञ टोली मगाएको बताए । आफू केही समयअघि मात्रै सरुवा भएर आएकाले दुईथरी कागज भएको बारे अनुसन्धानबाटै खुल्ने उनले बताए । ‘मुद्दाको टुंगो लाग्न किन ढिला भयो भन्ने बुझ्दैछु,’ उनले भने, ‘यसबारे अहिले नै थप केही भन्न सकिन्न । सबैकुरा अनुसन्धानबाटै खुल्छ ।’ ढिला भए पनि घटनाको सत्यतथ्य जाँच गर्ने कँडेलले बताए ।
प्रकाशित : श्रावण २७, २०८१ २१:२४