बागलुङ — सोमबार रातिदेखि परेको वर्षापछिको पहिरोले बागलुङको बडिगाडमा एक बालकको मृत्यु भएको छ । बडिगाड गाउँपालिका-९ बलघाँसका १५ वर्षीय विधान परियारको मृत्यु भएको हो ।
घर पछाडि आएको पहिरो पन्छाउन गएका परियारलाई पहिरोले पुरेको हो । पहिरो पन्छाउने क्रममै उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बतायो । घटनास्थलमा उद्धार टोली पुगेर परिवारका अन्य सदस्यलाई सुरक्षित स्थानमा पठाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ ।
त्यस्तै वडा नं १० को आरुपाटा भन्ने स्थानमा खसेको पहिरोले स्थाानीय जोगलाल बुढाको घर र गोठ पुरिंदा बुढाको पत्नी र २ छोरी बेपत्ता भएका छन् । घरहरु भत्केर पुरिएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बुर्तिवाङ र आसपासको प्रहरीको उद्धार टोली त्यसतर्फ गएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
वडा अध्यक्ष वीरेन्द्र बुढाले पनि घटना भएको जानकारी गराएका छन् । बुढाको घरदेखि पैदल दुई घण्टामा पुगिने उक्त स्थानमा जाने झोलुंगे पुलमापनि पहिरोले क्षति पुगेपछि उद्दार टोली पुग्न नसकेको हो । घटनामा मानवीय क्षति भए नभएको जानकारी छैन । टेलिफोन सम्पर्क पनि नहुँदा स्थानीयले सबै जानकारी दिन समेत नसकेका हुन् ।
यसैबीच अविरल वर्षाले खसेको पहिरोले बागलुङ नगरपालिका वडा नं १० को दब्ल्याङमा कालीगण्डकी करिडोर र मालढुंगा कुश्मीसेरा सडक अवरुद्ध भएको छ । यो सडक नचल्दा दक्षिण बागलुङका दर्जनौं सवारी अलपत्र परेका छन् । किसानले तरकारी र दूध बजार ल्याउन नपाएको गुनासो गरेका छन् ।
असार लागेदेखि नै यो पहिरोले दैनिक जसो यातायात ठप्प भएको छ । ‘बल्लबल्ल खुलाएको सडक झरी पर्नासाथ बन्द भएर हैरान भएका छौं,’ नगर प्रमुख बसन्तकुमार श्रेष्ठले भने, ‘पहिरो नियन्त्रणको दिगो व्यवस्थापनको खोजी भइरहेको छ ।’
प्रकाशित : श्रावण २२, २०८१ ११:५८