कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

पोलिएको घाउसँगै विद्यालयमा

श्रावण १९, २०८१
पोलिएको घाउसँगै विद्यालयमा

Highlights

  • खुट्टा काटिएपछि सांकेतिक भाषा सिकेर बहिरा विद्यालयमा भर्ना

बागलुङ — दुई वर्षको उमेरमा आगोमा परेर पोलिए । बल्लबल्ल बाँचे । तर उनको उपचार भएन । जसका कारण अहिलेसम्म उनको शरीर अति संवेदनशील छ । दैनिक रगत र पिप बगिरहन्छ । दैनिक कपडा फेरेर धुनुपर्ने बाध्यता छ ।

ढोरपाटन नगरपालिका–७ का सौरभ गुरुङ ११ वर्षका भए । यो उमेर र संवेदनशील घाउ भएका यी बालक अभिभावकसँगै बस्नसमेत पाएका छैनन् । तीन वर्षदेखि यहाँको रामरेखा आधारभूत विद्यालयमा भर्ना भएर पढिरहेका छन् । कक्षा ३ मा पढ्ने उनको शरीर देख्दा धेरै मानिस डराउँछन् । टाउको, कानदेखि शरीरसम्मै पोलिएको घाउ बोकेर उनी पढ्दै छन् ।

सौरभका बुवा देवीरामको ५ वर्षअघि दुर्घटनामा परेर मृत्यु भयो । त्यसपछि आमा हेमसराले दुःख गरेर ७ सन्तान हुर्काइन् । ४ छोरी र ३ छोरालाई मजदुरी गरेर पाल्न कठिन भयो । अपांगता भएकाले माइलो छोरा सौरभलाई रामरेखामा ल्याएर पढाइएकी हुन् । घरदेखि १ सय किमि पूर्वको रामरेखामा पढ्ने छोरा भेट्न हेमसरा आउन भ्याउँदिनन् । बरु बिदा भएका बेला कोही चिनेजानेको खोजेर विद्यालयका शिक्षकले सौरभलाई घर पठाइदिने गर्छन् । उनको घाउ बेलाबेला दुख्ने गरेको छ ।

‘चिसोमा त धेरै दुख्ने गरेकाले रुन्छन्,’ शिक्षकहरूले भने, ‘हामी पनि उनको दुःखमा संवेदनशील हुनु सिवाय केही गर्नै सक्दैनौं, कहिलेकाहीँ दुखाइ कम होस् भनेर औषधि ल्याएर खुवाउने गरेका भने छौं ।’ उनको शरीरको पूर्ण उपचार हुन सकेको छैन । उपचार सम्भव हुने भए पनि खर्च अभावले कतै पठाउन नसकेको प्रधानाध्यापक सिर्जना शर्माले बताइन् ।

विद्यालयमा रहेको शारीरिक अपांगता भएकाहरू बस्ने छात्रावासमा सौरभ पनि बस्दै आएका छन् । सौरभका दाइ र दिदीले पढ्न पाएका छैनन् । सानैदेखि उनीहरूले गाउँमै मजदुरीमा लागेको उनले बताए । भाइ कक्षा २ मा पढ्छन् । आमाबाबुको काखमा बसेर पढ्ने र रमाउने उमेरमा उनी १ सय किमि परको विद्यालयमा आइपुगेका छन् । घाउ दुख्दा वा अरु बेलामा पनि आमा सम्झेर रुन्छन् । छात्राबासका ‘आया’ले सम्झाइबुझाइ गरेर राख्ने गरेको प्रअ शर्माले बताइन् । समस्यामा परेका बालबालिका खोजी गर्ने क्रममा व्यवस्थापन समितिले सौरभलाई ल्याएर पढाएको हो ।

उनीसहित यो विद्यालयमा पढ्ने १ सय ४० बालबालिकाका लागि शैक्षिक सामग्री र विद्यालय पोसाक धौलागिरी एकीकृत ग्रामीण विकास केन्द्र (डीआईआरडीसी) ले सहयोग गरेको छ । खानेबस्ने व्यवस्थापन भने बागलुङ नगरपालिकाको जिम्मामा छ । बागलुङ नगरपालिका–१ रामरेखा आधारभूत विद्यालयमा शारीरिक अपांगता भएका विद्यार्थी राखेर पढाउने गरिन्छ ।

यहाँ कक्षा १ देखि १२ सम्म पढ्ने १३ जना पूर्ण अपांगसहित ४५ जना कुनै न कुनै किसिमको अपांगता भएका बालबालिका पढ्छन् । तीमध्ये कक्षा ८ सम्मका यही विद्यालयमा पढ्छन् भने बाँकी अन्यत्र जान्छन् । अन्यत्र जानुपर्ने विद्यार्थीलाई भने सास्ती छ । ‘यहाँ जस्तै अपांगता भएका विद्यार्थीलाई पढाउने र राख्ने व्यवस्था अन्यत्र छैन, जबरजस्ती भर्ना गर्ने मात्र हो,’ विद्यालयका शिक्षक विष्णुराज पौडेलले भने, ‘कक्षा ८ पास गरेपछि विद्यार्थीले पढाइ छाड्नुपर्ने बाध्यता छ ।’

सांकेतिक भाषा सिकेर बहिरा विद्यालयमा

यो विद्यालयमा पढेर कक्षा ८ उत्तीर्ण गरेका जीवनबहादुर क्षेत्री पनि पढ्ने ठाउँ नपाएर धेरै समय अलपत्र परे । पछिल्लो समय धौलागिरी बहिरा विद्यालयले उनलाई भर्ना गरेर पढ्ने अवसर दिएको छ । यहाँ सुस्त श्रवणशक्ति भएकालाई सांकेतिक भाषामा पढाइन्छ । क्षेत्रीले भने बाध्यताले सांकेतिक भाषा सिकेर कक्षा ९ मा पढ्न थालेका हुन् ।

बडिगाड गाउँपालिका–९ का क्षेत्रीको पाँच वर्षअघि क्यान्सरका कारण खुट्टा काटिएको थियो । बुवा थम्मन र आमा तपकुमारीले ज्याला मजदुरी गरेर छोराछोरी हुर्काएका छन् । जीवनका दाइ रामु छुट्टिएर बसेका छन् । दिदी देवी, भाइ रमित र बैनी मनीषालाई पढाउनुपर्दा परिवारमा आर्थिक संकट चुलिएकाले आफूलाई पढाउन नसकेपछि यो विद्यालयमा आइपुगेको उनले बताए ।

अझै २ वर्षका लागि बहिरा विद्यालयले पढ्ने अवसर दिनेछ । त्यसपछि भने उनको अवस्था के हुने भन्ने अन्योल छ । अवसर नपाएका बालबालिका पढाउने गरी बनाइएको छात्रावासमा अहिले पनि १३ जना अपांगता भएका बालबालिका बसेका छन् । उनीहरूका लागि खानेबस्ने व्यवस्थापन गर्न खर्च अभाव छ ।

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले हरेक किसिमका अपांगता भएका बालबालिकालाई कक्षा १२ सम्म पढ्ने अवसरका लागि पहल गरेको बताए । ‘छात्रावासमा स्याहार गर्न राखिएका आयालाई तलब बढाएर सक्रिय बनाउन लागेका छौं,’ श्रेष्ठले भने, ‘जसका अभिभावक छैनन्, उनीहरूलाई नगरपालिकाले साथ दिन्छ ।’

बीचैमा पढाइ छुट्न नदिने योजना बनाएको उनले बताए । डीआईआरडीसीकै पहलमा यहाँका बालबालिकालाई विद्यालयसम्म ल्याउन र लैजान गाडीको व्यवस्था गरिएको छ । राजस्व छुट गरेर २० लाख रुपैयाँमा खरिद गरिएको उक्त गाडीले कालीगण्डकी किनारका माझी बस्तीका बालबालिका, अपांगता भएका बालबालिका र मजदुरका छोराछोरीलाई यातायातको निःशुल्क व्यवस्था गरिएको व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र केसीले बताए ।

प्रकाशित : श्रावण १९, २०८१ १२:०६
x
×