बागलुङ — बागलुङ नगरपालिका–९ का बद्रीप्रसाद शर्माको खेतमा लगाएको धान गोड्ने बेला नहुँदै मर्न थालेको छ । गाभा कुहिने रोगले धान सखाप भएकोमा उनी चिन्तित छन् । साता अघिसम्म केही नभएको धान तीन दिनको फरकमा पहेंलो भएको शर्माले बताए । धानको फेद र डाँठ पहेलो हुने, सुक्दै जाने र कुहिने गरेको हो ।
वडा १२, १३ र १४ को बलेवा क्षेत्रका फाँट लगाएको धान पनि कुहिन थालेको छ । वडा ७ को कालीमाटी, वडा ६ को सिम लगायतका स्थानमा पनि धान कुहिएको किसानले गुनासो गरेका छन् । ‘यो वर्ष धेरै पानी परेकाले उत्पादन राम्रो होला भनेको त महिना दिन नहुँदै बोट कुहियो,’ बागलुङ नगरपालिका–१३ का मुक्तिराम पौडेलले भने । उनको मात्रै ५ रोपनीमा रोपेको धानमा रोग देखिएको बताए । पर्याप्त वर्षा भएकोले यो वर्ष छिटै रोपाइँ सकिएको थियो ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कुमार पुनले एकाएक बोट कुहिने रोग आएपछि प्राविधिक खटाएर समस्या पत्ता लगाउने काम भइरहेको बताए । ‘हामी पुग्दा ढुसीजन्य रोग फैलिएको देखियो, तत्काल रोकथामका लागि चाहिने विषादी मगाएर किसानलाई दिने क्रममा छौं,’ पुनले भने, ‘तत्काल औषधि राखेपछि कुहिएको भाग गए पनि फेरि पलाउँछ ।’ त्यसबाहेक कुहिएको भाग सफा गर्न पनि किसानलाई उनले आग्रह गरे ।
पुनले परम्परागत धानको बीउ रोपेको स्थानमा बढी समस्या आएको बताए । उन्नत जातको धानमा भने कुहिने रोग नलागेको उनले जानकारी दिए । बीउमा नै खराबी भएकाले पनि यो अवस्था आएको प्राविधिकहरूको अनुमान छ । नगरभित्रको झन्डै ३ सय रोपनी क्षेत्रफलको धान कुहिएको नगर कृषि शाखाका प्रमुख सुवास सापकोटाले बताए । सापकोटाले किसानलाई बेबिस्टिन नामक विषादी लगेर खेतमा छर्कन दिएको बताए ।
‘स्थानीय जातको एक्ले, खुमलटार र गौरियाजस्ता जातमा बढी किरा लागेको छ,’ सापकोटाले भने, ‘केही दिनमै यो रोग नियन्त्रणमा आउनेछ ।’ रोग नियन्त्रणका लागि खेतको पानी सुकाएर विषादी प्रयोग गर्न सुझाएको उनले बताए । ‘तत्काल थाहा पाएर उपचार सुरु भइसकेको छ, त्यसैले धेरै क्षति नहोला,’ सापकोटाले भने । सापकोटाका अनुसार ढुसीजन्य रोग पानीबाटै सर्ने गरेको हो । कुहिएको खेतमा लगाएको पानी बगेर गएमा अन्यमा पनि असर पर्ने भएकाले पानी घटाउन सुझाव दिएको उनले बताए ।
जिल्लाभर धान खेती हुने ५ हजार ७ सय ७ हेक्टरमा गत वर्ष १९ हजार ७ सय ५० मेट्रिक टन धान उत्पादन भएको थियो । समयमा मल पाउने र रोग लागेमा तत्काल उपचारको पद्धति भइदिए उत्पादन बढाउन सहज हुने गलकोट–६ का नरबहादुर खत्रीले बताए । बागलुङमा मकै २३ हजार ५ सय १५ मेट्रिक टन, गहुँ ८ हजार र कोदो १० हजार ६ सय मेट्रिक टन उत्पादन हुने गरेको छ । जिल्लामा चैते धान भने २ सय हेक्टरमा मात्र लगाइन्छ ।
प्रकाशित : श्रावण १६, २०८१ १०:१२