कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९१

लक्ष्यभन्दा बढी मुद्दा फैसला

श्रावण १६, २०८१
लक्ष्यभन्दा बढी मुद्दा फैसला

बागलुङ — आर्थिक वर्ष २०८०/०८१ मा उच्च अदालत पोखरा, बागलुङ इजलासले लक्ष्यभन्दा बढी मुद्दा फैसला गरेको छ । अदालतले ३ सय ५५ मुद्दा फैसला गर्ने लक्ष्य राखेकामा असार मसान्तसम्ममा ४ सय ५८ मुद्दा फैसला गरेको हो ।

अघिल्लो वर्ष जिम्मेवारी सरेर आएका १ सय ६१ मुद्दा र गत वर्ष परेका ३ सय ६० गरी ५ सय २१ मुद्दा रहेकामा कुल मुद्दाको ८७ दशमलव ९१ प्रतिशत फैसला गरिएको हाे । गत वर्षको फैसलाबाट चालु वर्षका लागि ६३ वटा मुद्दा मात्रै सरेका छन् । सरेका मध्ये पनि ६ महिना कटेको एउटा मात्रै मुद्दा बाँकी रहेको उच्च अदालत पोखरा, बागलुङ इजलासका मुख्य न्यायाधीश नातीबाबु लामिछानेले बताए ।

अदालतले चालु वर्षका लागि पनि लक्ष्य निर्धारण गरेर काम थालिसकेको छ । अदालतको फुल बेन्चले तयार पारेको लक्ष्यअनुसार मंगलबारदेखि काम सुरु भएको रजिस्ट्रार लालसिंह थापाले बताए । अदालतको लक्ष्य अनुसार चालु वर्षमा कुल ७ सय ६९ मुद्दाको लागत रहने र ५ सय ९४ फर्स्यौट गर्ने लक्ष्य बनाइएको हो ।

अदालतले गुणस्तरीय न्याय, नागरिकलाई न्यायमा पहुँच, अदालतको आस्था वृद्धि गर्ने र सूचना प्रविधिमा संस्थागत विकास गर्ने लक्ष्यसहित काम अगाडि बढाएको थापाले जानकारी दिए ।

अदालतले आउटरिच कार्यक्रममार्फत जनताको चासोको विषय पनि खोजी गरिरहेको थापाले जानकारी दिए । पछिल्लो समय अदालतप्रति जनआस्था बढाउने र न्यायमा नागरिकको पहुँच बढाउन पनि पहल भएको उनले बताए ।

प्रकाशित : श्रावण १६, २०८१ १३:१०
x
×