कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

वर्षाले क्षतविक्षत् कालीगण्डकी करिडोर

प्रकाश बराल

बागलुङ — जैमिनी नगरपालिका–५ लामाबगरमा झरी पर्नासाथ बग्ने लेदोले सवारी साधन मात्र हैन, पैदल हिँड्न समेत सास्ती हुन्छ । कालीगण्डकी करिडोर खुलेर कालोपत्रे तयारी भइरहेका बेला यो सडक खण्डमा खसेको पहिरोले असार १४ गतेयता कुनै दिन नियमित सवारी चल्न सकेका छैनन् ।

वर्षाले क्षतविक्षत् कालीगण्डकी करिडोर

जैमिनी–१ स्थित जैमिनी धाममा पनि ढुंगा खसेर हैरान बनाएको स्थानीय हरिबहादुर क्षेत्रीले बताए । ‘सडक त राम्रो बनेको थियो आहिले ढुंगा खसेर जोखिमको बनेको छ,’ क्षेत्रीले भने, ‘नयाँ खनेको ठाउँमा पहिरो नखसेको कतै छैन ।’ ठूला ढुंगा खसेर सहज यात्रा गर्नै नसकिने भएको उनले बताए ।

बागलुङ नगरपालिका–१० एक्लेसालको पहिरोले करिडोरको दब्ल्याङमा सडक भत्केको छ । झरी परेको दिन यो सडकमा सडक भत्केकै हुन्छ । यतिबेला ३ दिन लगाएर पनि सडक खोल्न नसकिएको हो । ‘बल्लबल्ल खोल्यो, फेरि पहिरोले बगाउँछ,’ बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भने, ‘यो पहिरोले करोडौं बजेट खेर गैरहेको छ ।’ झरी परेको दिन कहिले पनि यो सडक चल्नै नसक्ने अबस्था हुने गरेको छ ।

करिडोर सँगै एक्लेसालका दुई वटा घुम्ती बग्दा मालढुंगा कुश्मीसेरा सडकमा पनि बर्षातमा यातायात ठप्पै हुने गरेको छ । सवारी चल्न नसक्दा दक्षिण बागलुङका बासिन्दाले कृषिजन्य उत्पादन बजार ल्याउन नसकेको गुनासो गरे ।

मालढुंगादेखि रिडीसम्म करिडोरको ८० किमी सडकमा दर्जनौं पहिरोले बर्षातमा यात्रा जोखिमपूर्ण बनेको हो । ‘पहिला सरर बुटवल जाने गरिएको करिडोरमा असारपछि सहज यात्रा गर्न सकिँदैन,’ जैमिनी–८ का अध्यक्ष बिमल श्रीषले भने, ‘सदरमुकाम आउनु पर्दा हामीले सास्ती भोग्ने गरेका छौं ।’ निर्माणाधीन भएकोले पहिरोले कतिबेला कुन ठाउँ पुरिन्छ यकिन गर्न समेत नसकिएको उनले बताए । करिडोर बाहेक जैमिनी नगरपालिकाको मुकाम कुश्मीसेरा आउने कृषि सडकमा पनि दर्जनौं पहिरोले सवारी चल्न सकेका छैनन् ।

करिडोरको कार्यालय पाल्पामा छ । सडकको अधिकांश खण्ड बागलुङ र गुल्मीमा छ । त्यसैले यो सडक खण्डमा अबरोध भएको सूचना ढिला पुग्ने, कार्यालयलाई पनि चासो कम हुने गरेको स्थानीयको गुनासो छ । ठेक्काको काम गरिरहेको कालिका कन्स्ट्रक्सनले पहिरो गएको ठाउँमा पुगेर पन्छाउने र सवारी चलाउने गरिरहेको छ । कन्स्स्ट्रक्सनले १० वटा डोजर ८० किमी खण्डमा राखेर यातायता खुलाउने प्रयास गरिरहे पनि निरन्तरजसो बर्षात र धेरै ठाउँमा पहिरो खसिरहने समस्याले सास्ती भएको जनाएको छ ।

बर्षात लागेपछि पैदल यात्रा पनि जोखिमपूर्ण भएको स्थानीयको भनाइ छ । रिडीकी एक शिक्षक अम्बिका न्यौपानेले बरालबा लगायतका स्थानमा पनि ठूला पहिरो खसेर करिडोर जोखिमको बनेको बताइन् ।

कालोपत्रेको तयारी भैरहेको मालढुगादेखि हर्मीचौरसम्मको झण्डै ५० किमी खण्ड बढी प्रभावित भएको हो भने अन्य खण्ड पनि जोखिम बनेको छ । अयाोजना कार्यालयका सूचना अधिकारी अरुण खत्रीले सकेसम्म सडक खुलाउने प्रयास भैरहेको बताए ।

‘ठेकेदार पक्षलाई आग्रह गरेर पटक पटक सडक खुलाइरहेका छौं, अब त भन्न पनि नसकिने अबस्था भैसक्यो,’ खत्रीले भने,‘केही स्थानमा जियोटेक्निकल अध्ययन गर्नैपर्ने भैसकेको छ ।’ ठेकेदार पक्षले सम्भौता अनुसार बनाउने संरचना बनाए पनि ठेक्का भन्दा बाहिरको क्षेत्रले करिडोरमा असर परेको प्राविधिकको भनाइ छ । अग्ला भीरहरुबाट ढुंगा खस्ने र सडक भत्कने अवस्थाले यात्रामा समेत जोखिम भएको हो ।

चीन र भारत जोड्ने सबैभन्दा छोटो सडक भएकोले करिडोरको प्रयोग गरेर बुटवल, भैरहवाबाट मुक्तिनाथ जाने पर्यटक पनि हिड्ने गरेका छन् । तर सडकमा जोखिम मोल्नुपर्दा धेरैले सास्ती खेपेका हुन् । बागलुङ बजारदेखि रिडीसम्म ८० किमी मात्रै भएकोले सडक स्तरीय भएमा साँढे दुई घण्टामा पुग्न सकिन्छ । रिडीदेखि पाल्पा हुँदै बुटवल पुग्न छोटो भएपछि धेरैको रोजाइमा पर्न थालेपनि बर्षातमा सडक जोगाउनै नसकिएको कालीगण्डकी करिडोर आयोजनाका इन्जिनियर सुरेन्द्र गौतमले बताए ।

करिडोरको फाइदा

बागलुङको जैमिनी–६ अर्जेवाका कृष्णबहादुर थापा बुटबल जानु परे हिउँदको दिन सदरमुकाम आउँदैनन् । बरु कुश्मीसेराबाट कालीगण्डकी करिडोर हुँदै छुट्ने बसको यात्रा तय गर्थे । बुटवल जानुपरे सदरमुकाम आएर एक रात बस्नुपर्ने बाध्यता थियो । सदरमुकाम आउन ६ सय भाडा तिरेपछि बागलुङबाट बुटवल जान थप १२ सय रुपैयाँ लाग्छ । बिहान ५ बजे छुट्ने बसले बेलुकी ६ बजे मात्रै पुर्‍याउँछ । कालीगण्डकी करिडोरबाट यात्रा गर्दा भाडा र समय आधा सस्तो पर्छ ।

१ सय ५० किमी यात्रा गरेर मात्र पोखरा पुगिने जैमिनीबासीको बाध्यता अहिले हटेर त्यतिनै दुरी यात्रा गर्दा उनीहरु बुटवल पुग्छन् । बुटवल पुग्न सकेपछि उनीहरुले उपचार मात्र हैन, फर्कंदा गाउँको व्यवसायकालागि सामान पनि ल्याउन सक्छन् । यो क्षेत्रका धेरै मानिस बुटवल, भैरहवा र कपिलबस्तुमा बसाइँ सरेका छन् । अधिकांशले आफन्तको नजिक पुग्नका लािग पनि यो बाटो तय गर्न थालेका छन् ।

तर बर्षातमा क्षतबिक्षत हुँदा फेरि उनीहरुले दुःख पाएको बताए । त्रिदेशीय मार्गको रुपमा कालीगण्डकी करिडोर स्थापित भैसकेकोले राज्यले नियमित सुचारु गर्ने काममा ध्यान दिनुपर्ने जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । करिडोरले बागलुङको जैमिनी मात्र हैन गुल्मीको कालीगण्डकी गाउँपालिका, पर्वतको बिहादी र फलेवास नगरपालिकाबासीलाई पनि सहज बनाएको छ ।

‘बुटवल पढ्न गएका छोरीहरु बिहानको खाना खानै आइपुग्छन्,’ पर्वतको बिहादीका हरि न्यौपानेले भने, ‘करिडोरले सदरमुकाम र बुटवल बराबरी बनाएको छ ।’ करिडोरले ४ सय १७ किमीमा चीन र भारत जोड्ने त्रिदेशीय मार्ग निर्माण गरेको छ । करिडोर अर्न्तगत गुल्मी र बागलुङ खण्डको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पाएको थियो । त्यसपछि १० मिटर चौडा पार्ने काम पनि सेनाले गर्‍यो । अहिले कालोपत्रेका लागि यो सडकमा ठेक्का लागेको छ ।

आगामी २०८२ मंसिर मसान्तसम्म सक्ने गरी करिडोरको मालढुगादेखि हर्मीचौर सडक निर्माण भैरहेको छ । केही खण्ड कालोपत्रे भैसकेको छ । ‘पहिरो पन्छाएर नियमित चलाउने चुनौती छ, हिउँद लागेपछि कालोपत्रे समेत हुनेछ,’ गौतमले भने, ‘केही बर्ष पहिरोले सताउने भयो ।’ पहिरो रोक्न नसकिने, तर तत्काल पन्छाएर संचालन गर्ने संयन्त्र बनाउने उनले बताए ।

२०४४ सालमा यो सडक ट्रयाकको परिकल्पना गरे पनि २०७१ पछि मात्रै करिडोरको ट्रयाक खोल्न सुरु भएको हो । करिडोरमा सेनाले दर्जन बेलीब्रिज पनि बनाएको छ । ती पुल बिस्थापित गर्न करिडोर आयोजनाले विभिन्न स्थानमा ठेक्का समेत लगाएको छ । बागलुङ बजारदेखि ८० किमी दुरीमा रिडी पुगिने भएपछि धेरैले यो सडक स्तरीय भएपछि पोखरा, स्याङजाको सडक प्रयोग गर्न छाड्नेछन् ।

करिडोरको देवघाट हुँदै जाने सडक ४ सय १७ किमी भएपनि पाल्पा हुँदै भारत जोड्दा ३ सय ६९ र मिर्मीहुँदै भारत जोड्दा ३ सय ४२ किमी मात्र हुने करिडोर सरोकार समितिका अध्यक्ष टीकाराम न्यौपानेले बताए । कालीगण्डकी कोरिडोर सम्पन्न हुँदा आसपासका १० लाख ३० हजार जनसंख्यालाई बसाई सराई रोक्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित : असार २७, २०८१ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×