कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

खोलामा करेन्ट लगाएर माछा मार्ने ७ जनालाई कारबाही

आश गुरुङ

लमजुङ — खोलामा करेन्ट लगाएर माछा मार्ने ७ जनालाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । प्रहरीले पक्राउ गरी कारबाहीका लागि प्रशासनमा बुझाएकोमा उनीहरुले जनही १ हजारदेखि ३ हजार रुपैयाँसम्म जरिवाना तिराएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक थानेश्वर चपाईंले बिहीबार राति बेंसीसहर नजिकै मजुवा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मध्यनेपालबाट ५ जना र बेंसीसहरबाट २ जना युवकलाई पक्राउ गरिएको थियो । उनका अनुसार बिहीबार रातको साढे १२ बजेतिर मध्यनेपाल ५ पराजुलीबेंसीमा पर्ने मादी नदीमा करेन्ट लगाएर अवैध रुपमा माछा मार्दै गरेको अवस्थामा मध्यनेपाल५ का २६ वर्षीय दिपक विश्वकर्मा, वर्ष २६ कै सुदिप बिक, २३ वर्षीय संगम तामाङ, ६१ वर्षीय श्रीबहादुर थापा मगर र ३२ वर्षीय मिलन थापामगरलाई उपकरणसहित पक्राउ गरिएको थियो । उनीहरुलाई शुक्रबार जिल्ला प्रशासन कार्यालयले जनही ३/३ हजार रुपैयाँ जरिवाना तिराएर छाडेको छ ।

यस्तै, बेंसीसहर नगरपालिका ८ र ३ को सिमानामा पर्ने मझुवा खोलामा बिहीबार साँझ साढे ६ बजेतिर करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थामा बेंसीसहर ८ का ३७ वर्षीय विनोदकुमार श्रेष्ठ र नुवाकोटको ककनी गाउँपालिका ९ घर भई हाल बेंसीसहर ८ बस्ने ३० वर्षीय प्रकाश गोतामेलाई पक्राउ गरिएको थियो । उनीहरुलाई जनही १/१ हजार रुपैयाँ जरिवाना तिरेर छुटेको प्रहरीले जनाएको छ ।

लमजुङमा केही समययता करेन्ट लगाएर माछा मार्ने क्रम बढ्दो देखिएको प्रहरीले जनाएको छ । दोर्दीको किसेदी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा गत जेठ ५ गते राति करेन्ट लागेर दोर्दी गाउँपालिका ४ जितौरेका २६ वर्षीय विकास गुरुङको मृत्यु भएको थियो ।

प्रकाशित : असार ७, २०८१ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

‘नैतिक चरित्र’ मा गम्भीर प्रश्न उठेका निर्वाचन आयुक्त पदमा प्रस्तावित कृष्णमान प्रधानलाई अब संसदीय सुनुवाइ समितिले के गर्नुपर्छ ?

×