कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

गण्डकीका ऊर्जामन्त्री देवकोटा सांसदबाट पदमुक्त

 मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत नदिन जारी ‘ह्वीप’ उल्लंघन गरेको भन्दै माओवादीद्वारा कारबाही

पोखरा — ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत, सिँचाइ तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटा सांसदबाट पदमुक्त भएका छन् । माओवादी केन्द्रको गण्डकी प्रदेश संसदीय दलले उनलाई कारबाही गरेको पत्र शुक्रबार प्रदेशसभा बैठकमा सुनाउँदै सभामुख कृष्णप्रसाद धितालले देवकोटा पदमुक्त भएको घोषणा गरेका हुन् । 

गण्डकीका ऊर्जामन्त्री देवकोटा सांसदबाट पदमुक्त

माओवादीको संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई प्रदेशसभा सदस्यबाट निष्कासन गरी दल त्याग गरेको सूचना शुक्रबार संसद् सचिवालयमा बुझाएका थिए । प्रदेशसभा बैठकमा सभामुखले माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको कार्यालयबाट राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ अन्तर्गत दल त्याग गरेको सूचना प्राप्त हुन आएको संसद्मा जानकारी गराएका थिए ।

देवकोटा २०७९ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया–हथौडा लिएर गोरखा २ (१) बाट निर्वाचित भएका थिए । माओवादीको पत्रमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ अन्तर्गत माओवादीको चुनाव चिह्न र दलका अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षर भएको उम्मेदवारको आधिकारिक पत्र प्राप्त गरी देवकोटा निर्वाचनमा उम्मेदवार भएर निर्वाचित भएकाले उनी माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको सदस्य रहेको उल्लेख छ । नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ तथा गण्डकी प्रदेशसभा नियमावली २०८० बमोजिम प्रदेशसभा सदस्य देवकोटालाई प्रदेशसभा सदस्य पदबाट निष्कासन गरी दल त्याग गरेको माओवादी संसदीय दलको पत्रमा जनाइएको छ । उक्त ऐनको दफा ३५ र गण्डकी प्रदेशसभा नियमावली, २०८० को नियम २०७ समेतको कानुनी व्यवस्थाअनुसार देवकोटालाई पदमुक्त गरिएको जानकारी सभामुखले सभामा गराएका थिए ।

माओवादी केन्द्रले जेठ २८ मा मुख्यमन्त्री पाण्डेको पक्षमा विश्वासको मत नदिन ‘ह्वीप’ जारी गरेको थियो । देवकोटाले ‘ह्वीप’ उल्लंघन गरेपछि माओवादी प्रमुख सचेतक सुशीला सिंखडाले कारबाहीका लागि सिफारिस गरेकी थिइन् । विश्वासको मत दिएपछि देवकोटालाई मुख्यमन्त्री पाण्डेले भोलिपल्ट मन्त्री नियुक्त गरेका थिए । उनीसहित कांग्रेसका २७, राप्रपाका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले समर्थन गर्दा ६० सदस्यीय संसद्मा मुख्यमन्त्री पाण्डेको विश्वासको मतको प्रस्तावको पक्षमा ३१ सांसद पुगेका थिए । देवकोटा पदमुक्त भएपछि संसद्मा प्रदेशसभा सदस्यको संख्या ५९ मा झरेको छ ।

कानुनी रूपमा प्रतिवाद गर्छु : देवकोटा

सांसदबाट पदमुक्त भएका फणीन्द्र देवकोटाले आफू नेसपाबाटै उम्मेदवार भएर चुनाव लडेकाले उक्त पार्टीले मात्रै स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार भएको बताएका छन् ।

पदमुक्त भएपछि शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी उनले संविधानको धारा १८० र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ र ३२ को उपदफा २ र ५ बमोजिम माओवादी केन्द्रले नेसपाका तर्फबाट उम्मेदवार भई निर्वाचित भएको सांसदउपर कारबाही गर्न नमिल्ने उनले बताए । ‘दल फरक हो, संसदीय दल फरक हो,’ उनले भने, ‘चुनाव चिह्न लिएका आधारमा माओवादी संसदीय दलको सदस्य भनेर कारबाही गरिएको छ, यो कानुनी, राजनीतिक र संवैधानिक हिसाबले गलत छ ।’

आफूलाई प्रदेशसभा सचिवालयले दिएको परिचयपत्रमा पनि दलको नाम नेपाल समाजवादी पार्टी नै रहेको, निर्वाचन आयोगको कार्यालयमा पनि नेसपाकै सांसदका रूपमा उल्लेख भएको उनले जानकारी गराए । दुई वा दुईभन्दा बढी राजनीतिक दलले एउटै चुनाव चिह्न लिन पाउने व्यवस्था भएको र दुईवटा राजनीतिक दलको अस्तित्व स्विकारेकाले जुन दलबाट विजयी भएको हो, त्यसैले मान्यता पाउने कानुनी, राजनीतिक र संवैधानिक अधिकार रहने उनको तर्क छ । ‘मैले त्यही अधिकार प्रयोग गर्दै आएँ र गण्डकी प्रदेशसभामा वर्तमान मुख्यमन्त्रीलाई विश्वासको मत दिएकै आधारमा माओवादी केन्द्रले मलाई राजनीतिक प्रतिशोधका आधारमा, उहाँहरूको पार्टीको पछि नलागेको आधारमा कारबाही गर्‍यो,’ उनले भने, ‘त्यो निन्दनीय छ । यसको म कानुनी रूपमा प्रतिवाद गर्नेछु ।’

प्रकाशित : असार १, २०८१ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×