कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

थोरोङ हिमचुलीमा पुगे आरोही

दीपक परियार

पोखरा — मुस्ताङ र मनाङको सिमानामा रहेको ६ हजार १ सय ४४ मिटर अग्लो थोरोङ हिमचुलीमा ६ जनाले सफल आरोहण गरेका छन् ।

थोरोङ हिमचुलीमा पुगे आरोही

नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशको प्रारम्भिक पर्वतारोहण तालिम तथा प्रवर्द्धनात्मक आरोहणका क्रममा आरोही थोरोङ हिमचुली पुगेका हुन् । सफल आरोहण गर्नेमा लालबहादुर तामाङ, राजु परियार, गौतम नेपाली, डिल्लीप्रसाद आचार्य (दिलीप), दिवस गुरुङ र तबबहादुर तामाङ छन् । उनीहरुलाई प्रशिक्षक पुरबहादुर गुरुङ (युक्त), सहायक प्रशिक्षकद्वय सन्दीप गुरुङ र बुद्धबहादुर गुरुङले आरोहणमा सहयोग गरे ।

पर्वतारोहण पथप्रदर्शक (माउन्टेन गाइड) उत्पादन गर्ने उद्देश्यले आयोजित तालिम तथा आरोहणमा सहभागी हुन २३ जनाको टोली जेठ २५ मा मुस्ताङ पुगेको थियो । आठ हजार मिटरमाथिका १४ मध्ये ११ हिमाल आरोहण गरिसकेका पुरबहादुर गुरुङ र दुई सहायक प्रशिक्षकले उक्त टोलीलाई ५ दिनसम्म हिमाल आरोहणसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरेका थिए । तीमध्ये ८ जनाले आरोहण गर्ने योजना रहेकोमा दुईजनालाई स्वास्थ्यले साथ नदिएको कार्यक्रम संयोजक शेषकान्त शर्माले बताए ।

थोरोङ हिमचुलीमा सर्वसाधारणले समेत आरोहण गर्न सक्ने भएकोले साहसिक पर्यटनको रुपमा विकास गर्न सकिने उनी बताउँछन् । उनका अनुसार गण्डकी प्रदेशमा ६ हजार मिटर माथिका १ सय ६८ हिमाल छन् । तीमध्ये सबैभन्दा धेरै आरोहण हुनेमा मनास्लु पर्छ । अन्नपूर्ण प्रथम, धौलागिरि, टुकुचेलगायत हिमालमा आरोही पुग्छन् । ‘हिमाल चढेको अनुभव लिन्छु तर धेरै उचाइ वा कठिन ठाउँमा जान सक्दिनँ भन्नेका लागि थोरोङ पिक उत्तम विकल्प हो,’ पर्वतारोहण संघ, गण्डकीका पूर्वअध्यक्ष समेत रहेका शर्माले भने, ‘त्यसरी हिमाल चढ्न इच्छा राख्नेलाई गाइड गर्ने पर्वतारोहण पथप्रदर्शक तयार गर्न यो कार्यक्रम गरिएको हो ।’

नेपाल पर्वतारोहण संघ, गण्डकीका अध्यक्ष विकास गुरुङले गण्डकी प्रदेशमा भएका हिमालको व्यावसायिक आरोहणले गति पाउने आशा व्यक्त गरे । पर्वतारोहणका लागि आवश्यक दक्ष जनशक्तिमा अझै पनि काठमाडौंकै भर पर्नु परिराखेको बताउँदै गण्डकी प्रदेशमै पर्वतारोहण पथप्रदर्शक उत्पादन गर्ने कार्यक्रमको लक्ष्य रहेको उनले सुनाए । ‘यहाँका हिमाल चढ्छु भनेर कोही आयो भने काठमाडौंतिर गाइड खोज्नुपर्ने बाध्यता नहोस् भन्न तालिम र प्रवर्द्धनात्मक आरोहण गरेका हौं,’ उनले भने, ‘गण्डकी प्रदेशमै जनशक्ति तयार गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्य हो ।’

आरोहीको सम्मानमा संघले शुक्रबार पोखराको हल्लनचोकदेखि ड्यामसाइडसम्म र्‍याली गर्दै छ । प्रारम्भिक पर्वतारोहण तालिम तथा प्रवर्द्धनात्मक आरोहणलाई नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सहयोग गरेका छन् । संघले यसअघि मुस्ताङकै धम्पुस पिकको प्रवर्द्धनात्मक आरोहण गरेको थियो ।


प्रकाशित : जेष्ठ ३१, २०८१ २२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×