कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

ढल खन्दा पुरिएर ३ मजदुरको मृत्यु : स्थानीयले गरे कावासोतीका मेयरको घर घेराउ  

नारायण शर्मा

पूर्वीनवलपरासी — पूर्वीनवलपरासीको सदरमुकाम कावासोतीको फलफूल चोकमा ढल निकास निर्माणका क्रममा ३ महिला मजदुरको मृत्यु भएपछि आक्रोशित स्थानीयले कावासोती नगरपालिकाका मेयरविरुद्ध नाराबाजीसहित घर घेराउ गरेका छन् ।

ढल खन्दा पुरिएर ३ मजदुरको मृत्यु : स्थानीयले गरे कावासोतीका मेयरको घर घेराउ  

कावासोती नगरपालिकास्थित महेन्द्र राजमार्गमा रहेको मेयर विष्णुप्रसाद भुसालविरुद्ध नाराबाजी गर्दै स्थानीय युवाले बिहीबार राति मेयरको घर घेराउ गरेका छन् । मेयरको घरमा स्थानीयले ढुंगा हानेको प्रत्यक्षदर्शी शंकरराज कँडेलले जानकारी दिए । अहिले राति ९ बजे मेयरको घरको सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी खटाइएको छ ।

कावासोती थानादेखि पूर्वतर्फ लगिएको ढलको नाला एक महिनाअघिबाट खन्न सुरु गरिएको हो । थानाचोकदेखि पूर्व हाटबजारसम्म लगिएको नाला खन्न फटाफट काम नगरेको भन्दै मेयरको ध्यानाकर्षण गराए पनि मेयरले बेवास्ता गरेको स्थानीयको आरोप छ ।

फलफूल चोकका स्थानीयले केहीदिनअघि चाँडो काम सम्पन्न गर्न भन्दै मेयरकहाँ डेलिगेसन गएका थिए । खाल्डो खन्दा पुरिएका बिहीबार साँझ ६ बजेतिर ३ महिला मजदुरमध्ये २ जनाको अस्पताल लैजाँदै गर्दा र एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

नगरपालिकाले महेन्द्र राजमार्गदेखि उत्तरतर्फ पानीको निकासका लागि ९, १० फिट गहिरो खाल्डो (नाला) खन्ने क्रममा ३ जना महिला मजदुर पुरिएका थिए । राजमार्ग किनारमै नाला खन्दा नगरपालिका र ठेकेदारले आवश्यक सावधानी नअपनाएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

प्रकाशित : जेष्ठ ३१, २०८१ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×