कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

सोलेडाँडालाई जडिबुटी अनुसन्धान केन्द्र बनाइँदै

प्रकाश बराल

बागलुङ — चर्चित गायक खड्ग गर्बुजाले तत्कालीन समयमा गाएको गीतले सोलेडाँडा अनकन्टार थियो भन्ने बुझिन्छ । ‘हेर्दाहेर्दै कान्छीले सोलेडाँडा काट्यो मायालु’ यो गीतले सोलेडाँडा काटेपछि भेट्न पनि सकिँदैन भन्ने सन्देश दिन्थ्यो ।

सोलेडाँडालाई जडिबुटी अनुसन्धान केन्द्र बनाइँदै

अहिले सोलेडाँडामा विकासका पूर्वाधार धमाधम थपिएका छन् । २ हजार ७ सयदेखि २ हजार ९ सय मिटरको उचाईको सोलेडाँडामा सडक पूर्वाधार बनिसकेको छ । म्याग्दीको दरवाङ, बागलुङको बुर्तिवाङदेखि सवारी चढेर यहाँ पुग्न सकिन्छ । त्यतिमात्र हैन, बागलुङको तमानखोला गाउँपालिकाले त सोलेलाई पर्यटकीय स्थल, अध्ययन अनुसन्धान केन्द्र र सहिदपार्कको रुपमा विकास गरिसकेको छ । गत वर्षको नीति तथा कार्यक्रममा तमानखोलाले सोलेमा जडीबुटी अध्ययन अनुसन्धान केन्द्र बनाउने घोषणा गरेर कार्यक्रम समेत संचालनमा ल्याइसकेको छ । तमानखोला–४ सोलेडाँडामा पाइने सबै प्रकारका जडीबुटीको नमुना संकलन गरेर अनुसन्धानको बाटो खोल्न लागेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।

सोलेमा बनाइने केन्द्रमा ३ हजार ५ सय मिटरको ढोरपाटनसम्म पाइने जडिबुटीहरु संकलन गरिनेछ । यहाँका पहाडमा पाइने जडीबुटीको खोजी गरेर नमुना संकलन गरी भण्डारण गर्ने र त्यसको महत्वबारे प्रचारप्रसार गर्ने लक्ष्यसमेत गाउँपालिकाले बनाएको हो । ‘वैज्ञानिक रुपमा कुन जडीबुटीको के महत्व छ भन्ने पहिला बुझाउने र विज्ञबाट पहिचान गर्ने काम सुरु भैसकेको छ,’ बुढाले भने, ‘भोलिका दिनमा ती जडीबुटीको बजारीकरणको बाटो पनि खोल्ने योजनामा यो अवधारणा ल्याएका हौं ।’ उनले त्यसका लागि पहिलो चरणमा सोलेडाँडामा संकलन केन्द्र स्थापनाको काम भैरहेको हो ।

पर्यटनको दृष्टिले महत्वपूर्ण गन्तव्य बन्दै गरेको सोले म्याग्दी र बागलुङको सिमानामा पर्छ । यहाँ धेरै रंगका लालीगुराँस फूल्छन् । त्यस्तै उत्तरतर्फ धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रेसम्मका हिमाली शृंखला पनि देख्न सकिन्छ । चिसो हावापानी भएकोले यहाँ घुम्न जानेहरु बढिरहेका छन् । अनुसन्धान केन्द्र बनेपछि पर्यटकसमेत बढ्ने उनले बताए । त्यसका लागि न्यूनतम खाने र बस्ने खालका होमस्टे र होटल व्यवसाय संचालन गर्नेलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि उनले सुनाए । नगरसभाबाटै यो क्षेत्रलाई पर्यटन प्रवर्द्धनको गन्तव्य बनाउने योजना बनाएपछि केही वर्षदेखि पूर्वाधारका कामसमेत सुरु भएका छन् । पहाडमा ठूलाठूला चउरसमेत भएकोले यहाँ पर्यटक पुगेर बस्ने केही स्थान बनाइएको छ ।

त्यस्तै सहिद पार्क, ताल संरक्षण, पार्क निर्माण र स्तरीय सडकसमेत बनाइएको छ । झण्डै २ करोड खर्च गर्ने गरी डीपीआरसमेत बनेको सोलेमा अहिलेसम्म ५० लाखभन्दा बढीका योजना सम्पन्न भैसकेका हुन् । ‘आजको कामले भोलिको राजस्वको पनि आधार बन्छ,’ बुढाले भने, ‘यो सुरुआत हो, भोलिका दिनमा यहाँ ल्याब पनि बनाउने छौं ।’ चोरी तस्करी भएर यहाँको धेरै जडीबुटी बहिर गएको छ । तर स्थानीयले सदुपयोग गर्न सकेका छैनन् ।

यो पालिकाको केही खण्ड ढोरपाटन सिकार आरक्षमा जोडिएको छ । त्यसैले कतिपय भौतिक पूर्वाधार निर्माणदेखि जडिबुटी संकलनको काम गर्न पनि आरक्षको अनुमति लिनुपर्ने कानुनी बाध्यता छ । त्यसका लागि गाउँपालिकाले यो अभियानलाई वन मन्त्रालय र आरक्षसँग समन्वय गरिरहेको हो । सहज पहुँच अभावमा अन्य विकासका कामसमेत अवरुद्ध भएकोले आरक्षकै समन्वयमा पालिकाको केन्द्र रहेको बोङगादोभानदेखि खुंखानी हुँदै गुर्जाघाट ढोरपाटन जोड्ने सडक निर्माण हुँदैछ । यहाँ ७ किमि खण्ड आरक्षको क्षेत्रमा परेकोले आरक्षमा समन्वय भैरहेको उपाध्यक्ष हिराकुमारी छन्त्यालले बताइन् । ‘यो कामले पालिकामा सयौंलाई रोजगारी दिन सकिन्छ, तर काम चुनौतीपूर्ण छ’ छन्त्यालले भनिन्, ‘जडिबुटीको बजारीकरण र कानुनी वैधता दिनसके पालिकाको राम्रो आम्दानीको स्रोतसमेत बन्ने छ ।’ चोरी तस्करी रोकेर वैधानिक रुपमा बजार पठाउने काम भएमा राजस्वकै आधार बलियो बन्ने उनले बताइन् ।

राज्यको माथिल्लो निकायसम्म तमानखोलाको जडीबुटीको प्रवर्द्धन, बजारीकरणमा जानकारी दिन सके बलियो कमाइको आधार बन्न सक्ने धौलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक रामप्रसाद उपाध्यायले बताए । ‘पालिकाहरु धनी बन्ने आधार नै स्थानीय स्रोतसाधनको सदुपयोग हो,’ उपाध्यायले भने, ‘पालिकाले कस्तो नीति बनाउँछ, कसरी समन्वय गर्छ त्यसमा सबैकुरा निर्भर हुन्छ ।’

तमानखोलालाई ६ वटा वडामा विभाजन गरिएपछि बस्तीभन्दा चारदेखि ५ गुणा बढी जल र जंगलले ढाकेको छ । यहाँ पशुपालन र पर्यटन प्रवर्द्धनका कार्यक्रम पनि जोड्न सकिन्छ । हाल यहाँबाट जडिबुटीहरु अवैधरुपमा चोरी निकासी हुने वा जंगलमै खेर जाने गरेको स्थानीयले बताए ।

राजस्वको आधार बलियो बनाउन सकेमा तमानखोलाका छरिएका बस्तीलाई एकीकृत गरेर ती स्थानमा पनि जडिबुटी प्रवर्द्धनका कार्यक्रम गर्न सकिने संभावनाबारे अध्ययन भएको बुढाले बताए । तर सानो पुँजीले विकास गर्नुपर्ने बाध्यता हुँदा एकीकृत बस्ती विकास गर्ने योजना भने तत्काल असंभव भएको उनले बताए ।

बागलुङ र म्याग्दीको सिमानामा पर्ने सोलेडाँडालाई जडीबुटी संकलन तथा अनुसन्धान केन्द्र बनाइँदैछ । तस्बिर : प्रकाश बराल/कान्तिपुर

प्रकाशित : जेष्ठ ३०, २०८१ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×