कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

गण्डकीमा पाण्डेलाई विश्वासको मत, किन गरे देवकोटाले ‘फ्लोर क्रस’ ?

नेसपा केन्द्रीय समिति र प्रदेश समितिको निर्णयअनुसार विश्वासको मत दिएको सांसद देवकोटाको दाबी
दीपक परियार

पोखरा — गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार संसद्मा विश्वासको मत पाएका छन् । ६० सदस्यीय प्रदेशसभामा पाण्डेले पक्षमा ३१ मत पाएका हुन् । यसअघि नै तय कांग्रेसका २७, राप्रपाका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले पाण्डेलाई विश्वासको मत दिनु जति सामान्य रह्यो, त्यति नै नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाको ‘फ्लोर क्रस’ चर्चामा रह्यो । 

गण्डकीमा पाण्डेलाई विश्वासको मत, किन गरे देवकोटाले ‘फ्लोर क्रस’ ?

माओवादीको चुनाव चिह्नबाट निर्वाचित देवकोटाको मतका आधारमा नै पाण्डेले पक्षमा ३१ सांसदको बहुमत जुटाउन सकेका हुन् । जबकि माओवादीले विश्वासको मतको विपक्षमा मत दिन ह्विप जारी गरेको थियो । विपक्षमा एमालेका २२ र माओवादीका ६ सांसदले मतदान गरेका थिए । विश्वासको मत पाएसँगै मुख्यमन्त्री पाण्डे सरकारले गण्डकीमा निरन्तरता पाएको छ । मुख्यमन्त्री पाण्डे संविधानको धारा १६८ (३) बमोजिम संसद्को ठूलो दलको नेताका हैसियतमा जेठ १६ मा नियुक्त भएका थिए ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटा प्रदेशसभामा माओवादी सांसदकै हैसियतमा रहेकाले संसद्मा ह्विप उल्लंघन गर्न नमिल्ने जिकिर गरेका थिए । मतदानअघि नै देवकोटाले ‘फ्लोर क्रस’ गर्न लागेको सुइँको पाएका एमाले संसदीय दलका नेता खगराज अधिकारीले त्यसो गरिए राजनीतिक रूपमा प्रतिवाद गर्ने बैठकमै बताएका थिए । तर पनि देवकोटाले ‘फ्लोर क्रस’ गर्दै विश्वासको मत दिए । उनले प्रदेश सरकारलाई स्थायित्व दिन, प्रदेशसभा बचाउन र मध्यावधिमा जानबाट रोक्न पाण्डेलाई विश्वासको मत दिएको बताए ।

सांसद देवकोटाले नेसपाको केन्द्रीय समिति र प्रदेश समितिको निर्णयअनुसार नै विश्वासको मत दिएको दाबी गरे । ‘सरकार बन्ने, भत्किने, फेरि बन्ने, अदालत जाने, अनि फेरि भत्किने प्रक्रिया भइरह्यो,’ उनले भने, ‘राप्रपाले समेत समर्थन गरिसकेपछि मैले मत दिँदा प्रदेशसभा जोगिन्छ, यो आर्थिक मन्दीमा मध्यावधिमा जानबाट रोकिन्छ भने ह्विप उल्लंघन गरेर भए पनि प्रदेशसभा बचाउने दायित्व सम्झेर मत दिएँ ।’

नेसपाले सोमबार साँझ नै विज्ञप्ति जारी गर्दै गत निर्वाचनमा पार्टीले आफ्नो चुनावी नारा र घोषणापत्रसहित मत मागेको र जनताले पार्टीको उम्मेदवार र एजेन्डालाई अनुमोदन गरेकाले अन्य दलले ह्विप जारी गर्दै कारबाही गर्न नमिल्ने जनाएको छ । ‘निर्वाचन आयोगले उहाँ (देवकोटा) लाई नेसपाको विजयी सांसद भनी प्रमाणपत्र र परिचयपत्र दिएको हो, निर्वाचन आयोगमा भएको अभिलेखमा समेत नेसपाको प्रदेशसभा भनी उल्लेख गरेको अवस्था छ । तसर्थ गण्डकी प्रदेशसभामा नेसपाले संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी विश्वासको मत दिएको अवस्था हो,’ विज्ञप्तिमा भनिएको छ ।

उता, पार्टी ह्विप उल्लंघन गरेको भन्दै एमाले र माओवादी सांसदले केहीबेर बैठकस्थलमा नाराबाजी नै गरेका थिए । निवर्तमान मुख्यमन्त्री अधिकारीले पाण्डेको कदमले ‘संसदीय मर्यादा र राजनीति संस्कार कायम नरहेको’ भन्दै आपत्ति नै जनाए । बहुमत जुटाउन ठूलो रस्साकसी गरेका पाण्डेले थप दुई मत रापप्राबाट समेत पाएका थिए ।

जबकि कांग्रेस सभापति शेरबहादुर देउवाले गत शनिबार गण्डकीमा आफ्नो सरकारलाई समर्थन गर्न अनुरोधसहित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाए पनि केन्द्रीय समितिले यसबारे कुनै निर्णय लिएको थिएन । तर राप्रपाका दुई सांसदले पाण्डेका पक्षमा विश्वासको मत दिए  ।

‘फ्लोर क्रस’ गरेको भन्दै माओवादी संसदीय दलको बैठकले सोमबार नै देवकोटालाई स्पष्टीकरण सोध्न पार्टी केन्द्रीय समितिलाई पत्र पठाएको छ । गत चुनावमा कांग्रेस, माओवादी र नेसपाबीच गठबन्धन हुँदा देवकोटा गोरखा २ (१) बाट गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर निर्वाचित भएका थिए । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार देवकोटा माओवादी संसदीय दलकै सदस्य रहेको दलका नेता चुमानको तर्क छ । ‘ह्विपको उल्लंघन गरेपछि सम्बन्धित दलले निजलाई स्पष्टीकरण सोध्छ,’ उनले भने, ‘जवाफ चित्त बुझ्दो नआएमा कारबाहीको सिफारिस गर्छ । त्यसो भएमा उहाँ निष्कासनमा पर्नुहुन्छ, उहाँको पद रिक्त हुन्छ ।’ चुमानले जुन पार्टीको चिह्न लिएर चुनाव जितेको हो, उसको संसदीय दल सोही पार्टी हुने तर्क गर्दै सांसदका लागि संसदीय दलको निर्णय मान्न बाध्यकारी हुनुपर्ने बताए ।

दाहाल–भट्टराईको दूरीले फेरिएको समीकरण

नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराई आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग रुष्ट छन् । यी दुई नेताको सम्बन्ध चिसिएको नेसपा गण्डकी प्रदेश अध्यक्ष हेमबहादुर थापाले पनि पुष्टि गरे । ‘गोरखामा हाम्रा नेता/कार्यकर्तालाई माओवादीका नेताको हेपाहा व्यवहार छ,’ थापाले भने, ‘माओवादीले जितेको पालिकामा नेसपाका कार्यकर्तालाई सिफारिस पनि नदिने अवस्था छ । यस्तो अवस्थामा माओवादीलाई साथ दिइरहन सकिएन ।’

मुख्यमन्त्री पाण्डेले अध्यक्ष भट्टराईलाई काठमाडौंमा भेटेरै समर्थन गरिदिन आग्रह गरेका थिए । सोमबार नै माओवादी अध्यक्ष तथा प्रधानमन्त्री दाहालले सांसद देवकोटालाई कारबाही गर्ने जानकारी दिए । स्वाभाविक रूपमा पार्टीले ह्विप जारी गरिसकेको भन्दै संविधान र कानुनको मर्मविपरीत ‘फ्लोर क्रस’ गरेकाले उनलाई निलम्बन गर्ने दाहालले बताए । ‘संविधान र कानुनको मर्मविपरीत फ्लोर क्रस गरेकालाई कारबाही हुन्छ । निलम्बन हुन्छ,’ भारत भ्रमणबाट स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा उनले भने ।

प्रकाशित : जेष्ठ २९, २०८१ ०६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x