कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

भीरमह शिकार ‘भगवान भरोसा !’

आश गुरुङ

लमजुङ — टाउको नै रिंगाउने भीरको सिरानबाट चोयाको डोरी च्याप्दै झरेका २५ वर्षीय डिलबहादुर गुरुङलाई खासै डर लागेन । शरीर नै झिरिङ्ग हुने भीरमा मह काढेको हेर्न पुगेकाहरु भने डराउँदै जिब्रो टोकिरहेका थिए, शरीरमा काँडा उम्रिएको थियो ।

भीरमह शिकार ‘भगवान भरोसा !’

करिब डेढसय मिटर उचाइको भीरमा चोया बाटेर बनाइएको भर्‍याङबाट झर्दै गरेका गुरुङलाई गुरुहरुले चर्को आवाजमा सुरक्षित साथ झर्न आग्रह गरिरहेका थिए । गुरुङ बेला-बेलामा सुरक्षाका लागि बाँधिएका ‘हार्नेस बेल्ट’ हेर्दै थिए ।

भीरमौरीले उनको शरीर घेरेर चिले पनि सुरक्षित पोशाकले खिल शरीरसम्म पुग्न पाएन । मौरीलाई हटाउँदै ठूलो निगालोको टुप्पोमा राखिएको पेरुङ्गु (चोयाबाट निर्मित कुनै वस्तु राख्ने भाँडा)लाई महनेर पुर्‍याउँदै अर्को निगालोको टुप्पोले घोचेर उनले मह खसाले । डोरीमा बाँधिएको पेरुङ्गो जब भुइँसम्म छोडियो तब, मह हेर्नेको घुइँचो लाग्यो ।

लमजुङको बेंसीसहर नगरपालिका-१, उदिपुरदेखि दोर्दी गाउँपालिका केन्द्र नौथर शेरा हुँदै करिब २२ किलोमिटरको यात्रा गरेपछि दोर्दी गाउँपालिका-८, टापगाउँ पुगिन्छ । गाउँबाट करिब ५ किलोमिटरको दुरीमा रहेको पिर्क्वे चे र त्यसपछि २० मिनेटमा हिँडेर पुगिने छौंदी कोइरो (महभीर) मा टापगाउँबासीले शनिबार र आइतबार भीरमह काढे । समुद्री सतहदेखि २ हजार मिटर उचाईको उक्त कोइरो वरपर अन्य ठाउँमा पनि भीरमौरी रहेको गाउँले बताउँछन् ।

‘मलाई खासै डर लागेन । मुख्य कुरा सेफ्टी (सुरक्षा सामग्री) को हो’ मह शिकारी डिलबहादुरले भने, ‘मान्छेको काल आए खाटबाट लडेर पनि मृत्यु हुन्छ । भीरमा चढेर मह काढ्नु भगवान भरोसा हो ।’ मह काढ्ने बेला आफ्नो आवाजलाई डोरी छोड्ने, मुनी खोला किनारमा बस्नेले नसुन्ने र ईशारा नबुझ्दा भने समस्या हुने गरेको उनले बताए ।

‘मैले २ वर्ष भयो मह काढ्न थालेको । निगालोको लामो डण्डी समात्दा निकै समस्या हुन्छ, हात दुख्छ । ठूला भीरहरुमा समस्या हुन्छ’ उनले भने । उनले आइतबार छौंदी कोइरोमा ६ घण्टा झुण्डिएरै भीर मह काढे ।

अर्का मह शिकारी २६ वर्षीय सोमराम गुरुङका अनुसार भीरदेखि डर लाग्नेहरु मह काढ्दा तल हेर्दैनन् किनकि, टाउको रिङ्ग्याउँछ । सादा पोशाकमा मह काढ्न गए मौरीले खिल गाढ्ने उनले बताए ।

‘बुढाहरुले सक्दैन भन्छन् । बाउबाजेले गर्दै आएको परम्परालाई किन छोड्ने भनेर हामी अघि बढ्यौं । मह काढ्दा रमाइलो हुन्छ । सम्झिएर ल्याउँदा डर लाग्छ तर, हामी सम्झिन्नौं’ उनले भने । मह काढ्दा मौरी र भीरदेखि डर लाग्नेहरु भीर चढ्न नसक्ने उनी बताउँछन् । ‘भीरमा डर नलाग्नु भनेको मृत्युदेखि डर नलाग्नु हो,' उनले भने ।

भीरमह काढ्दा बढी दुःख प्रों बोक्नु पनि हो । करिब १ क्वीन्टलको प्रोंलाई पहिले मह काढेको ठाउँबाट बासास्थान पिर्क्वे चे पुर्‍याएका लालजङ गुरुङले भोलिपल्ट गाउँले झाडी फाँड्दै पहिल्याएको भीरखोंचको बाटो हिँडेर छौंदी कोइरो पुर्‍याए । ‘बोक्नमात्रै अलिकति तलमाथि भयो भने योसंगै भीरबाट खस्ने हो । त्यही भएर कसैले बोक्न मान्दैनन् । घोप्टो परेर लडेमा यसले थिचेर मर्छ’ उनले भने, ‘गुलियो झिक्न सजिलो कहाँ छ र ।’

नेपाल पर्यटन बोर्डको कार्यालय, गण्डकी प्रदेश पोखराको प्रवर्द्धनमा दोर्दी गाउँपालिकाले २६ गते शनिबार भीर मौरी शिकारको महोत्सव नै गर्‍यो । मह काढ्ने कार्यक्रम भने आइतबारसम्म जारी रहृयो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले मह शिकार विशेष रहेको दावी गरे । ‘हामीले भीरमह शिकारीहरुको सुरक्षार्थ सामग्री सहयोग गर्‍यौं, जीवन बिमा गर्‍यौं । हामी ठाउँमै पुग्यौं’ उनले भने ।

गाउँपालिका अध्यक्ष युवराज अधिकारीले टापगाउँलाई साहसिक पर्यटन महशिकारसंग जोडिएको बताए । ‘यहाँको पर्यटन प्रवर्द्धनका लागि टापगाउँमा होमस्टे, सडकको स्तरोन्नति गर्न आवश्यक छ । यहाँको महशिकारको प्रवर्द्धनका लागि हामीले प्रचारप्रसार थालेका छौं’ उनले भने । उनले टापगाउँबाट ऐतिहासिक एवं पर्यटकीय बराहपोखरी, मेमेपोखरी, दूधपोखरीसम्म पुग्न सकिने बताए । ‘यो क्षेत्रमा धेरै प्रजातिका लालीगुराँस पाइन्छ । धेरै प्रकारका वन्यजन्तु छन् । कन्चन हावापानी छ । हरियाली वातावरणमा छुट्टै आनन्द लिन सकिन्छ,’ उनले भने ।

नेपाल पर्यटन बोर्डको कार्यालय, गण्डकी प्रदेश पोखराका कार्यालय प्रमुख नवीन पोख्रेलका अनुसार परम्परागत सीप र कलाकौशल भीरमहको शिकारमा झल्किन्छ । ‘भीरमौरी, भीरमहले यस ठाउँको पहिचान झल्काएको छ । यसलाई जोगाउन सकिए यहाँको संस्कृति र परम्परा जोगिन्छ भने पर्यटन प्रवर्द्धन गरी गाउँले आर्थिक उपार्जन गर्न सक्छन्,' उनले भने ।

तत्कालका लागि टापगाउँमा होमस्टे सञ्चालनका लागि सहयोग गर्ने र दीर्घकालीन रुपमा महशिकार महोत्सवसंग जोडिएर यस ठाउँको पर्यटन प्रवर्द्धनका लागि आउँदो योजनामा सिफारिस गरिने उनले बताए ।

टापगाउँमा ९१ घरधुरी छन् । धेरै युवा बैदेशिक रोजगारीमा रहे पनि केही युवा गाउँमै छन् । उनीहरु गाउँको पर्यटन प्रवर्द्धनमा लागेका छन् । स्थानीय अगुवा सुकबहादुर गुरुङका अनुसार यस क्षेत्रमा टाप भन्दा माथि मानववस्ती छैन । ‘सिधै प्रकृतिसंग जोडिएको गाउँ निकै रमणीय छ । आगामी वर्षदेखि योजनावद्ध ढंगले महशिकारका लागि महोत्सव गर्ने योजनमा छौं’ उनले भने ।

अर्का अगुवा चित्रबहादुर गुरुङका अनुसार गाउँमा विस्तारै भौतिक सुविधाका योजनाहरु अगाडि बढिरहेका छन् । बाह्रैमहिना गाउँसम्म आउजाउका लागि सडक र पुल निर्माणको योजनामा रहेको उनले सुनाए । यसका लागि सरकारले सहयोग गर्नुपर्ने उनी बताउँछन् । ‘हाम्रै अगुवाइमा यहाँ विकासका कामहरु अघि बढेका छन् । हिजो विजुली थिएन, खानेपानी थिएन, गाउँसम्म आउने बाटो थिएन । आज विस्तारै हुँदैछ,’ उनले भने ।

विशेषगरि असोज–कार्तिक र बैशाख–जेठ महिनामा वर्षको २ पटक भीरमह काढिन्छ । लेकाली क्षेत्र खोलानालाका ठूलाठूला पहरामा रहने भीरमहको प्रवर्द्धनमा केही वर्षयता स्थानीय लागि परेका छन् । ‘भीरमह काढ्नका लागि भीरपहरा कोप्ने, प्रतिकूल समयमा मह काढ्ने, अनावश्यक फोहर गर्नाले भीरमौरी हराउँछ’ भीरमह शिकारी ६५ वर्षीय चन्द्रसिंह गुरुङले भने । उनका अनुसार स्थानीयले त्यसो गर्न नदिएका कारण हिजोआज भीरमा मौरी बस्ने गरेका छन् ।

भीरमह काढ्दा स्थानीयवासिन्दाले सिमेभूमि (वनदेवी) को पूजा गर्छन् । यसो गर्नाले प्रकृतिले कुनै घटना–दुर्घटना हुन नदिने गाउँलेको विश्वास छ । भीरको कुनामा गएर चोखोनितो गरी पूजापाठ गरेपछिमात्रै भीरको सिरानबाट प्रों छोड्ने काम हुन्छ ।

‘पूजापाठ नगरिए घटना–दुर्घटना हुन सक्छ । पूजापाठ गरिएका कारण अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन’ ३ दशकदेखि भीरमह काढ्दै आएका ५१ वर्षीय बिरसिंह गुरुङले भने । उनका अनुसार भीरमह काढ्दा धेरैजना जम्मा हुन्छन् । उनीहरुले जुठो गर्छन्, फोहर गर्छन्, त्यो प्रकृतिले सहँदैन । त्यसैले पूजापाठ अत्यावश्यक रहेको उनले सुनाए ।

भीरमौरी विषेशतः गुरुङ वस्ती नजिक बस्ने गरेका छन् । लमजुङ, कास्की, गोरखा लगायत गुरुङ बस्ती आसपास भीरमौरी रहेकाछन् । गुरुङ पुरोहितहरुका अनुसार गुरुङ जातिको पौराणिक ‘क्हार्ब पे’ कथामा गुरुङ र भीरमौरीको साइनो र सम्बन्धका बारेमा ब्याख्य गरिएको पाइन्छ ।

यस विषयमा आख्यानकार तीर्थ गुरुङले ‘आपा क्हार्प’ नामक पुस्तक लेखिसकेका छन् । लमजुङको भुजुङ, घनपोखरा, ताघ्रिङ, घेर्मु, दूधपोखरीलगायत क्षेत्रमा भीरमौरी रहेका छन् । भीरमह स्वास्थ्यबर्द्धक र चिसोका लागि अचुक औषधीको रुपमा लिइन्छ । मह धेरै खाँदा लाग्ने भएकाले एकपटकमा आधा चम्चामात्रै खान गाउँले सुझाव दिन्छन् ।

प्रकाशित : जेष्ठ २८, २०८१ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x