कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा

कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । आज प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा पत्र बुझाएका हुन् । संविधानको धारा १६९ को उपधारा १ बमोजिम मुख्यमन्त्रीले पदबाट राजीनामा दिएका हुन् ।

गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा

गत फागुन २३ मा नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका सुरेन्द्रराज नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

सरकार अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधानअनुसार पाण्डेले चैत २२ भित्र विश्वासको मत लिनुपर्ने थियो । तर मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिइ पदबाट राजीनामा दिएका हुन् ।

पाण्डे २०८० वैशाख १५ मा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । केन्द्रमा सत्ता समिकरण फेरिएपछि यसको असर गण्डकी प्रदेशमा पनि देखिएको छ । सरकार बनाउन गण्डकीमा राष्ट्रिय प्रजातन्त्र पार्टी निर्णायक बनेको छ । चैत २७ गतेसम्म राप्रपाको आफ्नै कार्यक्रम रहेकाले सरकारमा जान्छ या जादैन भन्ने टुंगो नलाग्दा गण्डकी प्रदेशमा पनि कुन दलको नेतृत्वमा सरकार बन्छ भन्ने टुंगो लागेको छैन् । राप्रपाको टुंगो नलाग्दासम्म संसदमा ठूलो दलको हैसियतले पुनः मुख्यमन्त्री हुने योजनाअनुसार पाण्डेले राजीनामा दिएका हुन् ।

६० सदस्यीय गण्डकी प्रदेशमा कांग्रेसको २७ सिट छ । दोस्रो ठूलो दलको हैसियतमा नेकपा एमालेको २२ सिट छ भने, ८ सिटसहित माओवादी केन्द्र तेस्रो स्थानमा छ । राप्रपाको दुई सिट रहेको छ भने स्वतन्त्र सांसदको पनि सहभागिता छ । सरकार बनाउन गण्डकीमा ३१ सीटको आवश्यकता पर्दछ । नयाँ सत्ता समिकरणअनुसार एमाले–माओवादी मात्र भएर सरकार गठन गर्ने स्थिति छैन । एमाले–माओवादीलाई राप्रपाको साथ चाहिन्छ भने कांग्रेसलाई पनि सहजै सरकार बनाउने स्थिति छैन । चैत ५ मा स्वतन्त्र सांसद दीपक मनाङेलाई भौतिक मन्त्री बनाएका मुख्यमन्त्रीले राप्रपाको साथ खोजेका छन् । राप्रपाले साथ दिए पनि सरकार बनाउने स्थिति नरहेपछि मुख्यमन्त्री पाण्डेले माओवादीको चुनाव चिन्ह लिएर गोरखाबाट निर्वाचित भएका बाबुराम भट्टराई नेतृत्वको पार्टी नेसपाका फणिन्द्र देवकोटालाई फकाएका छन् । देवकोटाले साथ दिए भने पाण्डे नेतृत्वको सरकार बन्नेछ ।

प्रकाशित : चैत्र २१, २०८० ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?