कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनाङमा हिमपहिरो : सडक अवरुद्ध

आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका १ ढिकुरपोखरी नजिकै हिमपहिरो खसेको छ । हिमपहिरोका कारण सडक अवरुद्ध बनेको छ । पर्यटक र स्थानीय जोखिम मोलेर वारपार गरिरहेका छन् ।

मनाङमा हिमपहिरो : सडक अवरुद्ध

मनाङ ङिस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङका अनुसार ढिकुरपोखरी नजिकै क्याङ्दी क्षेत्रमा आइतबार राति हिमपहिरो खसेको हो । हिमपहिरोका कारण सडक अवरुद्ध भएको उनले बताए । यो क्षेत्र सदरमुकाम चामेबाट करिब १४ किलोमिटर उत्तरतर्फ पर्छ । उनका अनुसार मानिसहरु जोखिम मोलेर आवतजावत गरिरहेका छन् । विकल्पमा ढिकुरपोखरीमा मर्स्याङ्दी माथि रहेको काठे पुल तथा झोलुंगे पुलबाट मानिस आवतजावत गरिरहे पनि ङावल र घ्यारुको बीचमा हिउँले थुनिँदा सडक अवरुद्ध रहेको उपाध्यक्ष गुरुङले बताए । माथिल्लो मनाङसँग सडक सम्पर्क टुटेको उनले बताए ।

उक्त ठाउँको हिमपहिरोमा परी सन् २०१९ को यसै समय एक जना विदेशी पर्यटक र एक जना नेपाली पथप्रदर्शकले ज्यान गुमाएका थिए । ‘माथिबाट आएको पहिरोले सडक सबै पुरिएको छ । मर्स्याङ्दीसम्मै पुगेको छ । खुलाउन सकिएको छैन । खुलाउने प्रयास भइरहेको छ,’ उपाध्यक्ष गुरुङले भने ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका निमित्त प्रमुख प्रकाश अधिकारीले ढिकुरपोखरी नजिकै गएको हिमपहिरोका कारण जोखिम बढेको बताए । ‘पर्यटकहरु आइरहेका छन् । केहीले जोखिम मोलेर हिँडेका हुन सक्छन्, केही पारीको बाटो पिसाङ हुँदै हिँडेका हुन सक्छन् । हामीले सचेत हुन आग्रह गरेका छौं,’ उनले भने । उनका अनुसार दैनिक ३० जनासम्म पर्यटक अहिले चक्रीय अन्नपूर्ण पदमार्गमा आइरहेका छन् । माथिल्लो क्षेत्रमा बाक्लो हिउँ रहेकाले हिउँमा जोखिम मोलेर हिँड्न नसक्ने पर्यटकहरु फर्किरहेको उनले बताए । ‘केही दिनअघि हिमपात भयो । विस्तारै घाम लाग्न खोज्दैछ । माथिल्लो क्षेत्रमा अब विस्तारै सहज होला,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार भारी हिमपातका कारण आइतबार राति उक्त क्षेत्रमा हिमपहिरो गएको हो । हिमपहिरोका कारण सडक बन्द रहेको उनले बताए । ‘हिजो (सोमबार) दिनभरि डोजर र एक्साभेटर खोजियो । आज (मंगलबार) देखि बाटो खुलाउन थालिएको छ । समन्वयको लागि प्रहरीलाई भनेको छु ।’ उनले एउटा डोजर र एउटा एक्साभेटरको प्रयोगबाट बाटो खुलाउन थालिएको बताए ।

मनाङ ङिस्याङ १, तलेखुको पारि रहेको खोलाबाट पनि हिमपहिरो झरेको छ । हिमपहिरोले बाटो नछेके पनि मर्स्याङ्दीलाई छेकेको र पहिरोमुनी हुँदै पानी बगेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । उनका अनुसार हिमपहिरो पग्लिन थालेको छ । मनाङमा पुसमाघमा खासै हिमपात नभइ फागुनमा आएर हिमपात भएको थियो ।

अहिले पनि पदमार्गमा हिउँ रहेकाले सचेत भएर यात्रा गर्न स्थानीय र पर्यटकलाई आग्रह गरिएको उनले बताए । निरन्तरको हिमपातपछि घाम लाग्न थालेको र अन्य ठाउँमा पनि हिमपहिरो जान सक्ने अवस्थालाई मध्यनजर राखेर सचेत अपनाउन आग्रह गरिएको उनले बताए ।

प्रकाशित : फाल्गुन २२, २०८० १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?