२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बुर्तिवाङमा ५० शैय्याको अस्तापल बन्ने

प्रकाश बराल

बागलुङ — बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैय्याको अस्पताल बनाउने योजना १४ वर्षपछि अघि बढ्ने भएको छ । २०६६ मा तत्कालीन बागलुङ अस्पताल खारेज भएर धौलागिरि अस्पताल बनेपछि जिल्ला अस्पताल थिएन । बुर्तिवाङलाई जिल्ला अस्पतालका रुपमा स्तरबृद्धि गर्ने प्रयास रहेको थियो । गण्डकी प्रदेश सरकारको सिफारिसमा संघीय सरकारले बागलुङको बुर्तिवाङ र गोरखाको आँपपिपलमा ५० शैय्याको अस्पताल बनाउने निर्णय गरेको गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले बताइन् ।

बुर्तिवाङमा ५० शैय्याको अस्तापल बन्ने

धौलागिरि अस्पताल विशेषज्ञ सेवाको हो । जिल्ला अस्पताल अभावमा निशुल्क औषधि, चौबिस घण्टे उपचार सेवालगायतको समस्या थियो ।

‘दुवै स्थानमा आवश्यकता थियो, प्रदेश सरकारको पहलमा संघीय सरकराले निर्णय गरिदिएको छ,’ मन्त्री सिम्खडाले भनिन्, ‘तत्काल अत्यावश्यक सेवासुविधा थप गरेर जाने र आगामी आर्थिक वर्षदेखि जिल्ला अस्पतालको रुपमा काम थालिने छ ।’ केही वर्षअघि भएको ओएनएमकै आधारमा जनशक्ति व्यवस्थापन गरेर काम थालिने छ ।

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले स्वास्थ्य मन्त्रालयको टोलीले बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रको अनुगमन गरेको बताए । ‘न्यूनतम आवश्यक पर्ने चिकित्सक र उपकरण व्यवस्थापनकालागि उहाँहरुले अध्ययन गर्दै हुनुहुन्छ,’ आचार्यले भने, ‘११ औं तहको मेडिकल सुपरिटेण्डेन्टसहित सेवा व्यवस्थापन आगामी साउनदेखि हुनेछ ।’ हाल भएका जनशक्तिमा केही थप गरेर सेवा बढाउने उनले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यालय समयबाहेक आकस्मिक सेवा दिने व्यवस्था छैन । २४ घण्टे सेवा नपाउँदा ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, निसीखोला र तमानखोला गाउँपालिका बासीले सास्ती भोगेका थिए । मध्यपहाडी लोकमार्ग समेत भएकोले रुकुमदेखि यात्रा गर्नेले पनि यहाँ स्वास्थ्य सेवा पाउन सकेका थिएनन् । जटिल समस्या भएमा स्थानीय पाल्पा, बुटवल र पोखरा पुग्नुपर्ने बाध्यता थियो । पोखरा पुग्दा निसी, तमान र ढोरपाटनका स्थानीयले २ सय किमी यात्रा गर्नुपर्छ ।

केन्द्रको तथ्यांक अनुसार यहाँ स्वास्थ्य केन्द्र तहमै बर्षमा ५ सय जनासम्मले सुत्केरी सेवा लिएका छन् । मासिक २० वटासम्म जटिल समस्याका बिरामी बुटवल र पोखरासम्म पुग्थे । दैनिक १ सय ५० बिरामीको ओपिडीमा स्वास्थ्य परीक्षण गरिन्छ । ती मध्ये ३० जनाको ल्याब र २० जनाको भिडियो एक्सरे गराउनुपर्ने बाध्यता भएको ढोरपाटन नगरपालिका स्वास्थ्य शाखाका प्रमुख केशव थापाले बताए ।

बर्षमा ६० देखि ७० जनाको पोर्ष्टमार्टम समेत भएका छन् । नियमित ओपीडि, गर्भवती जाँच, सुत्केरी सेवा, आधारभूत ल्याब, खोप सेवा, परिवार नियोजन सेवा, क्षयरोग र कुष्ठरोगको उपचार सेवा जस्ता काम पनि केन्द्रबाटै भएका थिए । ‘अस्पतालको मान्यता नहुँदा ९२ प्रकारका निशुल्क औषधि दिने व्यवस्था समेत थिएन,’ थापाले भने, ‘स्वास्थ्य संस्थाको रुपमा मात्र हुँदा बिरामीले नै सेवा नपाउने अबस्था थियो ।’ यहाँ एक्सरे, भिडियो एक्सरे संचालन गर्न बिद्युत अभाव हुँदा जेनेरेटर समेत थिएन । जिल्ला अस्पताल भएपछि जेनेरेटर राख्न पाउने सुविधा हुनेछ ।

यहाँ पटक-पटक रगतको अभाव हुँदा उपचार गर्न नसकी बिरामी शहर पस्थे । जिल्ला अस्पताल बनेपछि सामान्य अपरेशन सेवाको पनि बैधानिकता हुने स्टाफ नर्स पार्वती अर्यालले बताइन् ।

प्रकाशित : फाल्गुन २०, २०८० १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?