२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

एउटाको जग्गामा ठडियो अर्कैको घर

दीपक परियार

पोखरा — घान्द्रुकबाट झरेर सेती परियारले छोरा वीरबहादुरको नाममा पोखरा–१५ टुटुंगामा चार आना जग्गा किनिन् । घडेरी किनेको केही समयपछि रोगले थलिएर बुहारी बितिन् । छोरा पनि अल्सरको रोगी भए । घडेरी बेचेर दुई नाती नातिनाको लालनपालन, पढाइलेखाइ र छोराको औषधिमुलोमा खर्च गर्ने सेतीको योजना थियो । उनको सपनामा बज्रपात पर्‍यो जब आफ्नो घडेरीमा अर्कैले घर ठडाइदिए । 

एउटाको जग्गामा ठडियो अर्कैको घर

०७५ मा उनले कित्ता नम्बर ११५.८० वर्ग मिटरको घडेरी किनेकी थिइन् । आफ्नो घडेरी हेर्न बेलाबेला पुग्थिन् । ०७८ कात्तिकमा उनी पुग्दा आफ्नो घडेरीको छुट्याएको डीपीसी डोजर लगाएर भत्काइँदै गरेको देखिन् । उनले आफ्नो घडेरीमा डोजर नलगाउन आग्रह गरिन् ।

नजिकै रहेकी टीकाकुमारी छिरिङले उक्त घडेरी आफ्नी आमा रुकमाया सुनारको नाममा भएको र त्यहाँ घर बनाउने तयारी गरेको बताइन् । आफ्नो घडेरीलाई अर्कैले आफ्नो भनेर दाबी गर्दै घर नै बनाउन लागेको देखेपछि सेती परियार छाँगाबाट खसेजस्तै भइन् ।

उनी गुनासो लिएर तत्कालीन वडाध्यक्ष प्रकाश पौडेलसमक्ष पुगिन् । पौडेलले ‘अर्कैको जग्गामा को मूर्खले घर बनाउँछ ∕’ भन्दै उल्टै हप्काएर पठाए । उनले पटकपटक टीकाकुमारीलाई उक्त जग्गा आफ्नो भएको बताइन् । तर, टीकाकुमारीले पनि उक्त जग्गा आफ्नो भएको दाबी गर्न छोडिनन् । घरको डीपीसी तयार गरिन् । सेतीले उक्त घडेरी आफ्नो भएको दाबी गर्न फेरि पुगिन् । टीकाकुमारीले ‘जहाँ गएर जेसुकै गर’ भन्ने जवाफ दिइन् । साना नातीनातिना र बिरामी छोरालाई छोडेर उनी यताउता धाउन सकिनन् ।

सेतीले सुरुमा घडेरी खरिद गर्दा नापजाँच गरेका अमिनलाई फोन गरिन् । अमिनले ‘आफ्नो लालपूर्जामा भएको जग्गा कही जाँदैन, २–४ हजार भए पनि किन खर्च गर्नुहुन्छ ?’ भन्ने जवाफ दिए । अमिनले नै त्यसो भनेपछि उनी केही ढुक्क भएर बसिन् । हेर्दाहेर्दै टीकाकुमारीले उक्त जग्गामा चार तले घर ठड्याइन् ।


गत माघमा सेतीकै घडेरीको आडमा अर्को घडेरी भएका छिमेकीले आफ्नो जग्गा नापजाँच गर्न अमिन लिएर आए । अमिनले नाप्दा टीकाकुमारीले आफ्नी आमाको नाममा भएको भनिएको घडेरी सेतीका छोरा वीरबहादुरकै नामको भएको पत्ता लाग्यो । टीकाकुमारीको घडेरी भने कित्ता नम्बर १२० थियो । उक्त कित्ताको क्षेत्रफल १०९.८० वर्ग मिटर थियो । सेतीकोभन्दा एक घडेरी छोडेर उतापट्टि रहेको टीकाकुमारीको घडेरी ६ वर्गमिटर सानो थियो । यतिबेला छाँगाबाट खस्ने पालो टीकाकुमारीको थियो ।

लाखौं रुपैयाँ खर्च गरेर घर बनाएको घडेरी नै अर्कैको परेपछि टीकाकुमारीको दाँतमै ढुंगा लागेझैं भएको छ । दुबै घडेरीको मोहडा समान २० हात थियो, पिछाड लामो छोटो । आफूलाई बिक्री गर्ने ‘दलाल’ले उक्त घडेरी देखाएकोले झुक्किन पुगेको टीकाकुमारीले स्वीकारेकी छन् । अमिन ल्याएर नापजाँच नगरी घर बनाउँदा गल्ती गरेको उनले महसुस गरेकी छन् । अहिले समस्या समाधान गरिदिन दुबै जग्गाधनी वडा कार्यालय धाइरहेका छन् ।

कन्सल्टेन्सीदेखि वडासम्मको लापरवाही

आफ्नो जग्गामा घर बनाउन जग्गाधनीले सुरुमा जग्गाधनी पूर्जाको प्रतिलिपि, तिरो तिरेको रसिद्, जग्गाको नक्सा, नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित किताबमा विवरण भरेर वडामा स्वीकृतिका लागि निवेदन पेश गर्नुपर्छ । कन्सल्टेन्सीले घरको नक्सा बनाउँछन् । कन्सल्टेन्सीले नक्सा बनाउँदा जग्गाको पनि नापजाँच गर्नुपर्छ । टीकाकुमारीले पोखराकै सिटी कन्सल्टेन्ट एन्ड कन्स्ट्रक्सनका इन्जिनियर समुद्र गुरुङसँग घरको नक्सा बनाएकी थिइन् । कन्सल्टेन्सीले घर बनाउने अनुमति माग गर्दा भर्नुपर्ने किताबमा टीकाकुमारीको कित्ता नम्बर १२० कै विवरण भरेको छ । तर, घडेरीको नापजाँच नगरी जग्गाधनीले भनेकै आधारमा घरको नक्सांकन गरेको देखिन्छ ।

रुकमायाको निवेदनपछि वडाले १५ दिने सूचना टाँस गर्‍यो । सूचना टाँस पनि वडाले कित्ता नम्बर र जग्गा फरक पर्ने गरी वीरबहादुरको जग्गामा टाँस्यो । तत्कालीन वडाध्यक्ष प्रकाश पौडेलको रोहबरमा वडासचिव कुलराज पौड्यालले सूचना टाँस गरे । विवरण किताबमा भएको कित्ता नम्बर र सूचना टाँस गरिएको कित्ता नम्बर एकै हो/होइन भन्ने वडाले हेरेन । वडाले १६ औं दिनमा जग्गामै पुगेर घर निर्माण कार्यको लागि साँधसँधियारसहितको सर्जमिन मुचुल्का तयार गर्‍यो ।

वडाध्यक्ष पौडेलकै रोहबरमा ०७८ कात्तिक २५ मा गरिएको सर्जमिन मुचुल्का वडाका कर्मचारी विष्णुप्रसाद लामिछानेले गरेका हुन् । जग्गासम्मै पुगेर छिमेकीलाई राखेर सर्जमिन मुचुल्का गर्दा समेत कित्ता नम्बर अनुसारको घडेर हो/होइन भन्ने हेरिएन । उल्टै घर बनाउने अस्थायी स्वीकृति दियो । यतिसम्मको एक बैंकले समेत उक्त घडेरीमा घर बनाउन ऋण प्रवाह गर्‍यो । बैंकले लगानी गरेको घर कागजमा कित्ता नम्बर १२० मा छ तर फिल्डमा भने १०५ मा ।

अस्थायी स्वीकृति पाएर घर बनाउन थालेपछि पटकपटक वडाबाट प्राविधिक अनुगमनमा जानुपर्छ । उक्त अनुगमनका क्रममा समेत प्राविधिकले एउटाको जग्गामा अर्कैले घर बनाएको कुनै मेसो पाएनन् । डीपीसी सकेर स्थायी स्वीकृति दिँदा पनि वडाले कित्ता नम्बर अनुसारको घडेरमा घर बनाउन लागिएको हो/होइन भन्ने जाँचेन । हाल वडामा तत्कालीन वडाध्यक्षको कार्यकाल सकिइसकेको छ । वडा सचिव सरुवा भइसकेका छन् ।

वर्तमान वडाध्यक्ष तोरणबहादुर बानियाँ कन्सल्टेन्सीदेखि तत्कालीन वडाध्यक्ष र सचिवसम्मको गल्तीले एउटाको घडेरीमा अर्कैले घर बनाएको स्वीकार्छन् । ‘यो समस्यामा दुबै पक्षलाई मर्का नपारी कसरी समाधान गर्न सकिन्छ भन्ने छलफलमै छौं,’ उनले भने, ‘यस्तो लापरवाही अन्त पनि हुन नदिन यो घटनाले पाठ सिकाएको छ ।’

प्रकाशित : फाल्गुन १९, २०८० १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?