कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

गण्डकी प्रदेशसभामा तीन विधेयक पेस

प्रतीक्षा काफ्ले

कास्की — लामो समयपश्चात् गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारदेखि सुरु भएको छ । गत ११ असोजमा स्थगित भएको अधिवेशन झण्डै छ महिनापछि सुरु भएको हो ।

गण्डकी प्रदेशसभामा तीन विधेयक पेस

बुधबार हिउँसो बसेको प्रदेशसभा बैठकमा तीन वटा विधेयक पेस भएका छन् । गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक टेबुल भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले उक्त विधेयक पेस गरेका थिए ।

यस्तै, समितिको प्रतिवेदनसहित सामाजिक विकास तथा कृषि समितिका सभापति फणीन्द्र देवकोटाले गण्डकी प्रदेशमा बीउ बीजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र प्रदेश मामिला तथा कानुन समितिका सभापति चम्फादेवी खड्काले गण्डकी प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरेकी छन् । दफावार छलफलपछि उक्त विधेयक संशोधनसहित प्रदेशसभामा पेस गरिएको हो । अधिवेशनको पहिलो बैठकमा प्रतिनिधित्व गर्ने चारवटै संसदीय दलका नेताले सम्बोधन गरेका थिए ।

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारलाई बलियो बनाउने विषयमा सत्तापक्ष र प्रतिपक्षसँग सहकार्य, समन्वय गर्दै अघि बढेको बताए । प्रमुख प्रतिपक्ष दलका नेता खगराज अधिकारीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने विषयमा जहिल्यै सरकारको पक्ष रहेको बताए ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले संघीयता कार्यान्वयन भएको ८ वर्ष भइसक्दा पनि प्रभावकारी काम गर्न नसकिएको बताएका थिए भने राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले २०४६ सालपछि विकासले गति लिन नसकेको बताएका थिए ।

प्रकाशित : फाल्गुन १६, २०८० २२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?