कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेनी नगरपालिकामा हुक्का प्रतिबन्ध

घनश्याम खड्का

म्याग्दी — बेनी नगरपालिकाले नगरक्षेत्रका सार्वजनिक स्थलमा हुक्का सेवनमा प्रतिबन्ध लगाएको छ । किशोर/किशोरी तथा युवा/युवतीमा मौलाउँदो हुक्का विकृतिलाई रोक्न नगरपालिकाले फागुन १६ गतेदेखि होटल, रेष्टुरेन्ट समेत सार्वजनिक स्थलमा जनश्वास्थ्यलाई गम्भीर असर गर्ने हुक्का बिक्री तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

बेनी नगरपालिकामा हुक्का प्रतिबन्ध

स्थानीय सरकार संञ्चालन ऐन ०७४ परिच्छेद ३ को धारा ११ को उपधारा ञ को १४ नं दफामा ‘स्थानीयस्तरमा जनश्वास्थ्यमा प्रतिकुल असर पर्ने किसिमका उपभोग्य वस्तुहरुको बेचबिखन र उपभोग तथा वातावरणीय प्रदुषण र हानीकारक पदार्थहरुको नियन्त्रण, अनुगमन तथा नियमन गर्ने अधिकार’ उल्लेख भए अनुसार होटल तथा रेष्टुरेन्ट ब्यवसायीकै सहकार्यमा फागुन १६ गतेदेखि हुक्का सेवन तथा बिक्रीमा प्रतिबन्ध गर्न लागेको बेनी नगरपालिकाले जनाएको छ ।

‘बेनीमा मौलाएको हुक्का विकृति रोक्न सार्वजनिक स्थलमा प्रतिबन्ध लगाएका हौं । हुक्काले केही गर्दैन भन्ने भ्रमपूर्ण मनोविज्ञानले किशोर/किशोरी समेत सार्वजनिक स्थलमा अभिभावक र मान्यजनकै अगाडि हुक्का तान्ने गरेका छन् । हुक्काले युवा पुस्तालाई निकोटिनको लतमा फसाई मात्र राखेको छैन, सामाजिक मर्यादा पनि भत्काएको छ,’ मेयर सुरत केसीले भने, ‘फागुन १६ गतेसम्म हुक्का बारहरुलाई आ–आफ्नो ब्यवस्थापन गर्न र हामीले कार्यविधि बनाउने समेतका कानुनी आधारहरु तयार पर्न समयसीमा तोकेका हौं । त्यसपछि सेवन गर्ने र बिक्री गर्ने दुवैको नियमन गर्छौ, कारबाही गर्छौ ।’

होटल तथा रेष्टुरेन्टहरुले अनिवार्य जस्तै आफ्ना मेनुमा ‘हुक्का एभाईलेवन’ लेखेका छन । ध्रुमपान तथा सूर्तीजन्य पदार्थ सेवन गर्न आफुभन्दा माथिल्लो पुस्तासँग लजाउने, डराउने किशोरकिशोरी, युवायुवतीहरु रेष्टुरेन्टहरुमा हुक्का निर्धक्क सेवन गर्छन् । केहीले त मेनुमा मात्र होइन, वोर्डमै हुक्का बार लेखेका हुन्छन् । अझ रेष्टुरेन्ट वा बारमा बसेर हुक्का सेवन गर्दै गरेको तस्बीर सामाजिक संञ्जालमा राख्ने प्रवृत्तिले कलिला बालबालिकाको सोचाईमा समेत असर पारेको छ । हुक्काले खुल्लमखुल्ला कुलतलाई बढवा दिइरहेको छ ।

‘अन्य सूर्तीजन्य पदार्थ जस्तै हुक्कालाई पनि नियमन आवश्यक छ । हामी मुनाफाको भरमा हुक्का सेवनमा बेलगाम छोड्नु पर्छ भन्ने ठान्दैनौं तर पूर्ण रोक लगाउने कुराले ब्यवसायलाई प्रभावित पार्छ । कार्यान्वयन गर्न पनि समस्या पर्ने भएकोले नियमनको विधि बनाउन आवश्यक ठानेका छौं,’ होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका सचिव राजन लामाले भने, ‘बालबालिकालाई पूर्ण निशेष गरौं, वयस्कका लागि अहिले जस्तो खुल्ला हैन, तर कुनै स्पेसल जोन बनाई सेवन गर्न दिने गरी ब्यवस्थापन गरौं ।’

स्याउ, आरु, नरिवल, आँप, पुदिना, कोला, स्ट्रेबेरी आदी फ्लेवरमा पाइने हुक्का सूर्तीलाई चारकोलको कोईला प्रयोग गरी सल्काइन्छ । गाउँघरबाट प्रायः लोप भएको पित्तल र काठबाट निर्मित तमाखु हुक्कालाई काँचका रंगीन भाँडोमा विभिन्न फ्लेवरयुक्त हुक्का प्रयोगमा छन् ।

फेसन र मनोरञ्जनको साधनको रुपमा प्रयोग भइरहेको हुक्का सूर्तीजन्य पदार्थ सेवन भन्दा सयौं गुणाबढी घातक भएको श्वास्थ्यविद्हरुले बताएका छन् । विभिन्न फ्लेवरको धुँवा पानीबाट पास भएर फिल्टरहुने भन्दा सुर्तिजन्य पदार्थ र चुरोटभन्दा सुरक्षित छ भन्ने गलत बुझाई झन घातक छ ।

प्रकाशित : फाल्गुन १०, २०८० १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?