कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

वन्यजन्तुका लागि घाँसे मैदान र खानेपानी 

नवीन पौडेल

पूर्वी नवलपरासी — कावासोतीको पिठौली, अमलटारीमा क्षेत्रमा रहेका मध्यवर्ती सामुदायिक वनले वन्यजन्तुका लागि व्यवस्थित घाँसे मैदान र पिउने पानीको व्यवस्था गरेका छन् । कावासोती–१५ स्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका उपभोक्ताले हालै करिब १ सय ५० हेक्टरमा घाँसे मैदान निमार्ण गरेका छन् । वन उपभोक्ताले पर्यापर्यटनको विकाससँगै वन्यजन्तु संरक्षणका लागि आफैले घाँसे मैदान निमार्ण गरेका हुन् ।  

वन्यजन्तुका लागि घाँसे मैदान र खानेपानी 

वन क्षेत्रका खुला स्थानमा वनमारालगायत अनावश्यक झाडी र झार हटाएर नयाँ घाँस उम्रिएपछि आहाराका लागि वन्यजन्तु भौतारिनु परेको छैन । आहाराको खोजीमा हिँड्ने गैंडा, मृग, चराचुरुङ्गीका लागि घाँसे मैदान नजिकैको सिमसार क्षेत्रलाई सफा गरेर खानेपानी र आहाल खेल्नका लागि तयार गरिएको छ ।

‘हामीले जसरी सफा र प्रशस्त पानी स्थान बसोबासका लागि रोज्ने गर्छौं । जनावरका लागि पनि यही नियम लागु हुन्छ,’ गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले भने, ‘पर्याप्त आहारा र खानेपानी खोज्दै वन्यजन्तु बस्ती पस्न थालेपछि वनभित्रै उनीहरुको अनुकूल हुने गरेर घाँसे मैदान निर्माण गरिएको हो ।’

वनमा खानेपानीका लागि सोलार प्रविधिको बोरिङ पनि राखिएको छ । जसले दिउँसोको समयमा पानी पिउन सहज हुने उनको भनाइ छ । घाँसे मैदानले जंगली स्थानीयलाई पनि फाइदा पुगेको छ । नारायणी वरपर खुलेका होटल तथा रेष्टुरेन्टले यही घाँसे मैदानमा पर्यटकलाई घुमाएर आम्दानी लिइरहेका छन् । अन्य स्थानमा भन्दा पानी र घाँसको उपलब्धताका कारण यहाँ वन्यजन्तु सहजै देख्न पाइन्छ ।

पिठौलीमा तीन वर्ष अगाडि नमुनाको रुपमा स्थानीय उपभोक्ताले तयार गरेको घाँसे मैदान अहिले पर्यटकको आकर्षण बनेको छ । घाँसे मैदानले नौलो प्रयोग भएको र यसले जैविक विविधता संरक्षणसँगै स्थानीय उपभोक्तालाई आर्थिक उपार्जनमा समेत टेवा पुर्याएको पर्यटन व्यवसायी तथा संरक्षणकर्मी डीबी चौधरीले बताए ।

‘प्राकृतिक स्रोतसाधनको उचित प्रयोगले सबैलाई फाइदा हुने रहेछ,’ उनले भने, ‘सामुदायिक वनको खाली चौरलाई व्यवस्थित गरेर घाँसै मैदान निर्माण गरेपछि पर्यटकको आकर्षण पनि बढेको छ ।’

पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको पिठौली नारायणी किनारमा गैंडा, बाघलगायतका वन्यजन्तु हेर्न आउने पर्यटक नमुना घाँसे मैदानमा जीप सफारीमा रमाउने गरेका छन् । सुक्खा मौसममा पाईपमार्फत मैदानको खाडलमा पानीको समेत व्यवस्था गरेपछि जंगली जनावरलाई पिउन समेत सहज भएको छ । वन्यजन्तु हेर्न आउने पर्यटकले सामुदायिक वनको आम्दानी समेत बढेको छ भने व्यवसायी पनि लाभान्वित भएका छन् ।

घाँसे मैदान निमार्णले वन्यजन्तु–मानव द्वन्द्व समेत कम गर्ने उद्देश्य छ । ‘आहाराको खोजीमा भौतारिने जंगली जनावरले चरन र पानी पाएपछि बस्तीमा जनावर आउन कमी भएको छ,’ नेचर गाईड सुधन लम्सालले भने, ‘उपभोक्ताको खेती तथा मानवमाथिको आक्रमणमा घटना समेत कम भएका छन् ।’

यससँगै पर्यटकीय गतिविधि र व्यवसाय बढेको छ । पिठौली, कावासोती, अमलटारी लगायतका स्थानका नारायणी किनारमा होटल तथा रेष्टुरेन्टको संख्या बढेका छन् । पैदल, जीप सफारी र चरा अवलोकनका लागि सामुदायिक वनमा पर्यटक आउने क्रम बढेको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा पनि घाँसे मैदान व्यवस्थापन गरिएको छ । निकुञ्जको कोर क्षेत्रमा १० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा घाँसे मैदानको व्यवस्थापन गरिएको र पानीको स्रोतको संरक्षणमा ध्यान दिइएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले बताए ।

‘हाम्रो मुख्य काम वन्यजन्तु संरक्षण हो । त्यसका लागि घाँसे मैदान र सिमसार क्षेत्रको संरक्षणमा ध्यान दिएका छौं,’ तिवारीले भने, ‘मध्यवर्ती क्षेत्रमा पनि उपभोक्ताले घाँस र पानीको स्रोतको जोहो गरेर वन्यजन्तुका लागि आहारा सहज बनाउने प्रयास प्रशंसनीय छ ।’

प्रकाशित : फाल्गुन ७, २०८० २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?