कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

निर्माण र अटोमोबाइल्समा भारतीय श्रमिकको भर

प्रकाश बराल

बागलुङ — बागलुङ नगरपालिका-१ को राजभण्डारी अटो मोबाइल्समा २० जना श्रमिक छन् । तीमध्ये १५ जना भारतीय नागरिक हुन् । ५ जना नेपालीमध्ये सवारी चालक र पसलको काम गर्नेहरु छन् । प्राविधिक काम गर्ने स्थानीय श्रमिक भेट्न नसकेको प्रोपाइटर पवन राजभण्डारीले बताए ।

निर्माण र अटोमोबाइल्समा भारतीय श्रमिकको भर

‘दशकदेखि नेपालीहरुनै प्राविधिक खोजेको छु, नपाएपछि भारतीय श्रमिक राखेको हुँ,' राजभण्डारीले भने, ‘मेकानिकल इन्जिनियरलाई खाना खुवाएर ५० हजार तलब दिने गरेको उनले बताए ।

यहाँको शिवशक्ति अटो मोबाइल्सले पनि १५ जना भारतीय कामदार राखेको छ । यहाँ त गाडी चालकदेखि मेकानिकल इन्जिनियर सहितका सबै कामदार भारतीय छन् । यादव ब्रदर्श र शिव ट्रेडर्समा पनि भारतीय श्रमिक मात्रै छन् । गाडीको मर्मत, टायर पचर टाल्नेदेखि पार्टपुर्जा बिक्री गर्ने पसलमा समेत भारतीय कामदार छन् ।

कोरोना संक्रमण अघि त यहाँका अटोमोबाइल्समा २५ जना सम्मका कामदार थिए । पछिल्लो समय विकास निर्माणका एक्साभेटर, ट्रिपर, ट्रयाक्टर जस्ता साधनको उपयोग घटेको छ । ती साधन घट्दा कामदार समेत घटेको अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिवशंकर शाहले बताए ।

उनका अनुसार बागलुङ बजारमा मात्रै ७९ वटा अटो मोबाइल्स सेन्टर छन् । ती बाहेक गलकोट, बुर्तिवाङ, कुश्मीसेरा लगायत मध्यपहाडी लोकमार्गको आसपासका साना बजारमा समेत गरी १ सयबढी मोटरपार्ट्स् बनाउने तथा अटोमोबाइल्स पसल छन् । ती अधिकांश पसल भारतीय श्रमिक र प्राविधिकबाटै चलेको उनले बताए ।

शाहका अनुसार एउटा फर्ममा १० जनामात्रै कामदार राखेको भएपनि १ हजारबढी भारतीय श्रमिकले काम पाइरहेको उनले बताए । त्यसबाहेक दर्जनौं फर्निचर उद्योग, कवाडी संकलन, सडक आयोजनाको मदजुर समेत भारतीय छन् । तारजाली बुन्ने, कपडा बेच्ने र पुराना कपडाबाट सिरक डसना बनाउने, सडक कालोपत्रे गर्नु परेमा सडक बढार्ने काममा समेत ठेकेदारले भारतीय श्रमिक ल्याउने गर्छन् ।

नाइसंघमा आबद्ध ५० बढी पसल समेत भारतीय नागरिककै छन् । ‘काम राम्रो गर्ने, चौबिसै घण्टा खटाउन सकिने र सस्तो कामदार भएकोले भारतीय श्रमिक बढीछन्’ निर्माण व्यवसायी हरिलाल शाहले भने, ‘नेपाली कामदारले काममा मेहेनत गर्दैनन् ।’ प्राविधिक ज्ञान भएका कामदार समेत नपाइने उनले बताए ।

भारतीय श्रमिकको यकिक तथ्यांक भने कसैले राखेको छैन । अनुमानित ५ हजार कामदार सदरमुकाममा भएको अनुमान गर्दै बागलुङ नगरपालिकाले सूचीकृत गर्ने तयारी गरेको छ । ती श्रमिकले काम नगरेमा प्राविधिक, निर्माण तथा कवाडी र नाई लगायतको क्षेत्र ठप्पै हुने अवस्था आएको बागलुङ नगरपालिकका प्रमुख बसन्तकुमार श्रेष्ठ बताउँछन्।

‘भारतीय श्रमिक नहुँदा पनि सबै काम गर्न सकिने गरी श्रमिक उत्पादन गर्ने योजना छ,’ श्रेष्ठले भने, ‘त्यसका लागि पहिलो चरणमा कामदारको यकिन तथ्यांक उतार्दै छौं ।’ त्यसपछि नेपाली श्रमिकलाई प्राविधिक सीप सिकाउने योजना उनले सुनाए । श्रमिक मात्र नभइ नगर बाहिरका बौद्धिक पेशाका मानिसको पनि तथ्यांक खोज्न लागेको श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार अपराधका घटनामा समेत बाहिरका नागरिकको भूमिका देखिने गरेको छ । नगरपालिकाले थाल्ने योजनाले अपराध नियन्त्रणमा पनि सहज वातावरण बन्ने प्रहरी नायव उपरीक्षक मदन केसीले बताए । यो तथ्यांकले सुरक्षामा समेत साथ मिल्ने उनको भनाइ छ । सुन सफाइ गर्ने निहुँमा आउनेले लुटेका घटना समेत अत्याधिक भएपछि नगरले यस्तो योजना ल्याएको श्रेष्ठले बताए ।

सबै श्रमिकको यकिन तथ्यांक राखेपछि नगर भित्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा जोड्ने योजना समेत उनले सुनाए । नेपाल ट्रेड युनियन कांग्रेसले जिल्लाका सबै स्थानीय तहलाई सामाजिक सुरक्षाबारे जानकारी गराएर श्रमिकको सुरक्षामा ध्यान दिन ध्यानाकर्षण गरेपछि श्रेष्ठले अन्य पालिका भन्दा सदरमुकाममा श्रमिकको बर्गिकरण आवस्यक भएको बताए ।

यसअघि यहाँको ताराखोला गाउँपालिकाले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको थालनी गरिसकेको छ । गत महिना ६७ जना कामदारलाई रोजगारी दिएर यो अभियान थालिसकेको हो । बडिगाड गाउँपालिकाले आगामी आर्थिक बर्षदेखि कार्यक्रम संचालन गर्ने तयारी गरेको अध्यक्ष गण्डकी थापाले बताइन् ।

जैमिनी नगरपालिका र गलकोट नगरपालिकाले पनि स्थानीय श्रमिकको तथ्यांक निकालेर सीपमूलत तालिममा जोड्ने र उनीहरुको लागत राख्ने योजना बनाएका छन् । ‘दुइ बर्ष अघिदेखिनै हामीले ग्याबिन जाली बुन्ने र रिटेनिङ वाल लगाउने तालिममा जोडेका छौं’ जैमिनी नगरपालिकका उपप्रमुख हरिहर शर्माले भने, ‘धेरै रकम बाहिरका कामदारलाई भुक्तानी भएको देखेपछि यस्ता तालिममा जोड दिएका हौं ।’

निर्माण, अटोमोवाइल तथा कवाडी लगायतका क्षेत्रमा काम गर्ने श्रमिकले मासिक न्युनतम २० हजार देखि ५० हजार सम्म कमाइरहेको शाहले बताए ।

प्रकाशित : फाल्गुन ७, २०८० १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?