१४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

लमजुङमा भोज खाँदा बिरामी परेका महिलाको मृत्यु, ३८ जना उपचाररत 

आश गुरुङ

लमजुङ — लमजुङको सुन्दरबजार नगरपालिका-८, डुडकुलामा क्रिसमसको अवसरमा भएको सामूहिक भोज खाएर बिरामी भएकामध्ये १ जना महिलाको मृत्यु भएको छ । भोज खाएकामध्ये ३८ जनाको सुन्दरबजारस्थित एडचडीसीएस–नमुना अस्पतालमा उपचार भइरहेको छ । एकजना बिरामी बेंसीसहरस्थित लमजुङ अस्पतालबाट पुरानो मेडिकल कलेज रिफर भएको छ ।

लमजुङमा भोज खाँदा बिरामी परेका महिलाको मृत्यु, ३८ जना उपचाररत 

एचडीसीएस–नमुदा सामुदायिक अस्पतालका अनुसार भोज खाएपछि सिकिस्त बिरामी परेका बेंसीसहर नगरपालिका-४, पुरानकोट घर भई हाल सुन्दरबजार नगरपालिका-९, भोटेओडार बस्दै आएकी ३२ वर्षीया देवी परियारको मृत्यु भएको हो । अस्पताल प्रमुख हेमन्त श्रेष्ठले आइतबार बिहानीपख ४–५ बजेतिर बेहोस् भएपछि उनलाई अस्पताल ल्याएको र अस्पताल ल्याउनेबित्तिकै डाक्टरहरुले मृत घोषणा गरेका थिए । उनका अनुसार भोज खाएपछि बिरामी भएका ३८ जनाको एचडीसीएस–नमुना अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ ।

बिरामी परेकामा एकै घरकाहरु समेत छन् । अस्पतालका अनुसार उपचार गराइरहेकामा १० जना पुरुष र २८ जना महिला छन् । यसमा १५ वर्ष मुनिका ३ जना बालिका र ८ जना बालक छन् ।

शुक्रबार साँझ सुन्दरबजार-८, डुढकुलाका क्षेत्रबहादुर गुरुङ घरमा सोही ठाउँस्थित अनन्त सालोम चर्चमा आबद्ध सुन्दरबजार-८ र ९ बस्दै आएका स्थानीय क्रिसमसको अवसरमा क्यारल भोज (सामूहिक भोज) खाएका थिए । त्यसपछि घर गएका उनीहरुमा पखाला लाग्ने, बान्ता हुने, पेट दुख्ने, शरीर कमजोर भई काम्ने जस्तो लक्षण देखिएको थियो । उपचार र औषधिबिना घरमै बसिरहेका उनीहरुमध्ये मृत्यु भएका बिरामी गम्भीर भएपछि अस्पताल लगिएको र त्यसपछि बिरामी भएका सबैजना उपचारका लागि आएको अस्पतालले जनाएको छ ।

उनीहरुले कालो दाल, भात, कुखुराको मासु, मुलाको अचार, गाउँघरको धाराको पानी खाएको बताएका छन् । करिब ४० जनाले भोज खाएको उनीहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी थानेश्वर चपाईले भोज खाएर बिरामी परेकामध्ये १ महिलाको मृत्यु भएको र अन्यको उपचार भइरहेको बताए ।

प्रकाशित : मंसिर २४, २०८० १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?