१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

कालिका सहकारी ठगी प्रकरणमा २५ जनालाई खोज्दै प्रहरी

आश गुरुङ

लमजुङ — जिल्ला प्रहरी कार्यालय, लमजुङले कालिका बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा थप २५ जनाको खोजी गरिरहेको छ । प्रहरीले दोस्रो चरणमा पक्राउ अनुमति लिएका २६ जनामध्ये १ जना पक्राउ गरिसकेको छ ।

कालिका सहकारी ठगी प्रकरणमा २५ जनालाई खोज्दै प्रहरी

पहिलो चरणमा ८ जनाको पक्राउ अनुमति लिएकोमा ६ जनालाई पक्राउ गरेर मुद्दा अघि बढाएको छ । मुख्य दोषी मानिएका मृगेन्द्र घिमिरे र उनकी श्रीमती विनिता घिमिरे फरार छन् ।

जिल्ला अदालतबाट २६ जनालाई गत शुक्रबार पक्राउ अनुमति लिएको प्रहरीले अन्य २५ जनालाई निगरानीमा राखेको छ । यीमध्ये कतिपयले आफ्नो मोबाइल स्विचअफ गरेर बसेका छन् । कतिपय सार्वजनिक कार्यक्रममा प्रहरी प्रशासनकै अघिल्तिर देखिने गरी आफ्ना गतिविधि गरिरहेका छन् ।

पक्राउ सूचीमा रहेकामध्ये सञ्चालकविरुद्ध जाहेरी दिने तैमाया गुरुङसमेत छन् । कालिका सहकारी एकीकरणपूर्व साविक सम्पदा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति सदस्य रहेका गुरुङ एकीकरणपछि बनेको समितिमा महिला समितिमा बसेर काम गर्दै आएकी थिइन् । जिल्ला प्रहरी कार्यालयमा बचतकर्ताहरुले उनीविरुद्ध समेत जाहेरी निवेदन दिएपछि उनलाई पनि प्रहरीले खोजीरहेको छ ।

प्रहरीले साविकको कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव एवं हालको सञ्चालक सदस्य हरिबाबु थापालाई गत शनिबार राति पक्राउ गरेको थियो । प्रहरीले पहिलो चरणमा सहकारीका अध्यक्ष शिवराम सिलवालसहित कोषाध्यक्षबाहेक पदाधिकारी, पूर्वअध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र केही सदस्यलाई मंसिर १० गतेबाट पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

सहकारीमा समस्या उत्पन्न भएर वचत फिर्ता गर्न नसकेपछि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले विज्ञ खटाएर छानबिन गरेको थियो । छानबिनका क्रममा कालिका सहकारीका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरे र सहकारीका तत्कालीन प्रबन्धक एवं एकीकरणपछि बनेको कालिका सहकारीका कोषाध्यक्ष समेत रहेका उनका श्रीमती विनिता घिमिरेलाई मुख्य दोषी करार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी मिनबहादुर घलेले फरार रहेको व्यक्तिलाई खोजी गरिरहेको बताए । पछिल्लो चरणमा अदालतबाट पक्राउ अनुमति लिएकाहरू जुनसुकै बेला पक्राउ गर्न सकिने प्रहरीले बताएको छ ।

प्रकाशित : मंसिर २२, २०८० १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?