कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ : बागलुङमै ओलीका दर्जन कार्यक्रम

प्रकाश बराल

बागलुङ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बुधबार र बिहीबार बागलुङका दर्जन बढी कार्यक्रममा सहभागी भए । बुधबार दिउँसो १२ बजे बागलुङ रुकुम सिमाना पातीहाल्नेमा प्रवेश गरेपछि एकै दिन उनले ७ वटा कार्यक्रममा भाग लिए । बिहीबार चारवटा कार्यक्रममा भाग लिए ।

एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ : बागलुङमै ओलीका दर्जन कार्यक्रम

गाडीमा सवार ओलीले बुधबार र बिहीबार १ सय २० किमीको दरले यात्रा पनि गरे । बुधबार चार ठाउँमा बिहीबार २ ठाउँमा भाषणसमेत गरे । ७१ वर्षीय ओलीको भाषणमा आफू प्रधानमन्त्री भएको बेलामा भएका कामको चर्चा गरे ।

उनले भाषणमा मध्यपहाडी लोकमार्गदेखि कालीगण्डकी करिडोर, तराईको हुलाकी मार्गदेखि मदन भण्डारी राजमार्ग, पोखरा विमानस्थलदेखि चीनको नाका खोलेको जस एमालेलाई दिए ।

चुच्चे नक्सा प्रकाशन र राष्ट्रियताको रक्षा गर्ने पनि एमाले भएको बताए । उनले जति-जति अलपत्र सडक छन् ती कांग्रेसले ठेक्का पाएको आरोपसमेत लगाए । सरकारले बजेट कटौती गरेर कैयौं योजना अलपत्र पारेको पनि दाबी गरे ।

वर्तमान सरकारलाई त ओलीले गाली गरे । सरकारलाई उनले ‘लुते’ भनेर नाम दिए । ओलीले सरकारलाई चरम असफल, गैरजिम्मेवार, इमान नभएको, लाजसरम पचेको, अराजक समूहको झुण्ड, कर्मचारी पनि पाल्न नसक्ने हुतिहारा, राष्ट्रघाती र स्वाधीनता गुमाएको आरोप लगाए । महँगी बढाउने, भारतको कर्म्फटेबल सरकार भएकोले चीन तर्फका नाका खोल्दा डराएको, खोलिएका नाका पनि सञ्चालन गर्न नसकेको आरोप लगाए ।

उनको भाषणमा कार्यकर्ताले जोडदार ताली पिटिरहे । युवा संघको ब्यानर बोकेकाहरुले ‘आइलभ यु केपी बा’ भनेर नारा लगाए । उनीहरुतर्फ फर्केर उनले मुस्कान दिए । सँगै आएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु, महासचिव र सचिवहरु तथा स्थायी कमिटी र पोलिटब्युरोका गरी १ सय ५० नेतासमेत ओलीको पछि माला लगाएर हिँड्थे । सबैले कुर्सीमा बसेर ओलीको भाषण सुनिरहेका भेटिन्थे । कोही मञ्चमा कोही दर्शकदीर्घामा बसेका नेताहरु ओलीको इशारामा चलिरहेका थिए । उनको हरेक गतिविधि सामाजिक सञ्जालमा तत्कालै पोष्ट हुन्थ्यो ।

ओलीको यात्रामा झण्डै ३० देखि ४० मोटरसाइकल, ३० वटाकै हाराहारीमा गाडी हुन्थे । समृद्धिका लागि संकल्प यात्राको क्रममा झुलाघाटदेखि चिवाभन्ज्याङ यात्रामा निस्केका ओलीसहितका एमाले नेताहरुको लस्करले मध्यपहाडी लोकमार्गमा चहलपहल बनाएको छ ।

तर करोडौंका गाडी, नियमित यात्राका डेढ सयसहित हरेक जिल्लामा पुग्दा ४ सयदेखि ५ सय जनाको खानाखाजा इन्धन समेतको खर्चलाई भने धेरैले आलोचना गरेका छन् । ‘यात्रा त राम्रो हो, तर यति धेरै खर्चिलो नबनाएको भए हुन्थ्यो’ एक कार्यकर्ताले भने, ‘यो खर्च भूकम्पपीडितलाई खर्चन सकेको भए राम्रो सन्देश जान्थ्यो ।’

यो अभियानलाई अन्य दलका कार्यकर्ताले भने आलोचनात्मक रुपमा टिप्पणी गरेका छन् । सहरबजार ध्वजापतकाले रंगिएको खर्च ठूलै आउने नेकपा (एकीकृत समाजवादी) बागलुङका अध्यक्ष लालबहादुर थापाले बताए । ‘यो खर्च गराइ हेर्दा कम्प्युनिस्ट भन्ने भएन,’ थापाले भने, ‘सर्वहाराको नारा दिएर करोडौंका गाडीको सवार अपाच्य हुनुपर्ने हो ।’

कांग्रेस क्षेत्रीय प्रतिनिधि सुमन भुसालले पार्टी र पद्धतिलाई स्वीकार्ने हो भने नेताको जयजयकार गर्न छाड्नुपर्ने बताए ।

समृद्धिका लागि संकल्प यात्राको क्रममा झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको यात्रामा निस्केको सातौं र आठौं दिन एमालेले बागलुङमा बिताएको हो । ओलीले सातौं दिनका ४ वटा कार्यक्रममा सबै दल र कार्यकर्ता मिलेर देश विकासमा लाग्नुपर्ने बताएको भोलिपल्टै दुईवटा कार्यक्रममा सरकार र कांग्रेसप्रति बढी आक्रोश पोखे । समृद्धिका लागि थालिएका सबै काम एमालेको पालामा भएको दाबी गरे ।

ओलीले आफ्नो एक घण्टा लामो सम्बोधनमा सरकार, कांग्रेस, राजावादी र बैंकर्सलाई समेत आक्रोश पोखे । ‘जहाँ-जहाँ सडक बनेका छैनन् त्यहाँ कांग्रेसले ठेक्का लिएको छ,’ ओलीले भने, ‘सरकार त विकास गर्न नसक्ने लुते नै भयो ।’ पोखरा विमानस्थल आफूले बनाएर छाडेको दाबी गर्दै सञ्चालन गर्न छिमेकीसँग डराएकोले सरकार लुते भएको उनले प्रस्ट्याए । ‘यो सरकार कम्फर्रटेबल वाला हो, त्यसैले उ रिसाउँछ कि भनेर जहाज ल्याउन दिएको छैन,’ ओलीले भने, ‘न कुसी छाड्छ, न काम गर्छ, यस्तो देख्दा एमालेको मन पोलेको छ ।’ उनले मिसन २०८४ मार्फत एमालेले एकल सरकार बनाएर जनताका सपना पूरा गर्ने दाबीसमेत गरे । बैंकहरुले ब्याज बढाएर आमनेपालीलाई सास्ती दिएको उनको टिप्पणी थियो ।

प्रकाशित : मंसिर २१, २०८० १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?