कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पोखरामा आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव 

पोखरा — अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा नेपाल पर्वतारोहण संघको आयोजना आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव शुक्रबारबाट पोखरामा सुरु हुँदैछ । संघले वर्षेनि गर्ने महोत्सव पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा यस वर्ष पाँच दिनसम्म चल्नेछ ।

पोखरामा आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव 

महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका वृत्तचित्रदेखि जलवायु परिवर्तनको असरबारे बहस पनि हुने भएको छ । महोत्सवको उद्घाटन अर्थमन्त्री डा प्रकाशशरण महतले गर्नेछन् ।

संघका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारका अनुसार महोत्सवको पहिलो दिन शुक्रबार नेपाल पंक्षी संरक्षण संघसँगको सहकार्यमा ‘साइलेन्ट बर्ड्स’ नामक नाटक देखाइनेछ । ‘गिद्धको महत्त्व र उपयोगिताबारे बालबालिकाले नै नाटकबाट प्रस्तुत गर्नेछन्,’ उनले भने ।

महोत्सवमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)सँगको सहकार्यमा पाँचै दिन पर्वतारोहण र पर्वतीय जीवनबारे ६ वटा वृत्तचित्र देखाइने उनले जानकारी दिए । महोत्सवमा पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृत्तचित्र मञ्चन हुनेछन् ।

महोत्सवमा जलवायु परिवर्तनले हिमालसँगै हिमाली जनजीवनमा पारेको प्रभाव र कालापत्थरमा परिणत हुँदै गएका हिमालबारे पनि बहस हुने भएको छ । ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्धित छ ?’ शीर्षकमा विश्व वन्यजन्तु कोषका डा घनश्याम गुरुङ, इसिमोडकी डा अमिना महर्जन र पत्रकार कुन्द दिक्षितले वार्तालाप गर्ने छन् । उक्त बहस सोमबार दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

महोत्सवकै अवसरमा फरकफरक भूगोलमा एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरी डा इरिका हुबाचेक र उनकी छोरी इर्मट्रड हुबाचेकले कैद गरेका तस्बिर पनि प्रदर्शनमा राखिने आयोजकले जनाएको छ ।

महोत्सवमा पर्वतारोहणसम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीको फोटो प्रदर्शनीसमेत गरिने महोत्सवकी सदस्य–सचिव निर्मला न्यौपानेले जानकारी दिइन् । प्रतियोगितामा यो वर्ष ‘टग अफ वार’ पहिलोपल्ट समावेश गरिएको छ । ‘यसबाहेक छेलो प्रतियोगिता, जिपलाइन, दोहोरी गीत पनि समावेश गरिएको छ,’ उनले भनिन् ।

प्रकाशित : मंसिर २१, २०८० १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनबारे तपाईंको धारणा के छ ?