बागलुङ — सोमबार बिहानदेखि झरी पर्दा ढोरपाटन र मध्यपहाडी लोकमार्गको केही खण्डमा हिमपात भएको छ । सिकार आरक्ष रहेको ढोरपाटन उपत्यका हिउँले सेताम्मे भएको छ ।
ढोरपाटनका अधिकांस बासिन्दा बेंसी झरेकाले यहाँ केही मानिस मात्रै बसेका छन् । आरक्षका कर्मचारी, सैनिक गण र केही तिब्बती शरणार्थी मात्रै छन् । उनीहरू घरभित्रै बसेको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रराज कँडेलले जानकारी दिए ।
निसीखोला गाउँपालिका ६ मा पर्ने मध्यपहाडी लोकमार्गको पातीहाल्ने क्षेत्रमा पनि सोमबार बिहानैदेखि हिमपात भएको स्थानीय दीपक अदैले बताए । हिमपातले सडक चिप्लो हुने डरले सवारीसाधन गुडेका छैनन् । यो सडकमा रुकुमदेखि पोखरा र काठमाडौंका लागि सवारी छुट्ने गरेका छन् । हिमपातले मानिस घरभित्रै बसेपछि पशुचौपायालाई घाँसपानी खुवाउन समस्या भएको समेत उनीहरूको गुनासो छ ।