१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

गण्डकी विश्वविद्यालयले एआई र जलवायु परिवर्तन विषय पढाउने

प्रतीक्षा काफ्ले

कास्की — नेपालमा नै पहिलोपटक खेलकुद व्यवस्थापन विषयमा अध्यापन गराएको गण्डकी विश्वविद्यालयले आर्टिफिसियल इन्टेलिजेन्स(कृत्रिम बौद्धिकता)सम्बन्धी अध्ययन सञ्चालन गर्ने भएको छ ।

गण्डकी विश्वविद्यालयले एआई र जलवायु परिवर्तन विषय पढाउने

गण्डकी विश्वविद्यालयका रजिस्ट्रार कैलाश तिमिल्सिनाले विभागीय मन्त्री (सामाजिक विकास तथा स्वास्थ्य) सुशीला सिम्खडालाई गत आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन बुझाउँदै विश्वविद्यालयले आर्टिफिसियल इन्टेलिजेन्स र मौसम परिवर्तनको विषयमा पढाइ सञ्चालन गर्नेबारे जानकारी गराएका हुन् ।

यस विश्वविद्यालयमा हाल बीए एलएलबी, खेलकुद व्यवस्थापन, बीबीए, बीआईटी, बी फार्म र व्यवस्थापन विषयमा पढाइ हुँदै आएको छ । विश्वविद्यालयले गत आवमा कुल बजेटको ९६ प्रतिशत बजेट खर्च गरेको छ । यस विश्वविद्यालयमा हाल ५२ जिल्लाका ४ सय ६० जना विद्यार्थी अध्ययनरत छन् । गत आवमा १६ जना शिक्षक र २१ कर्मचारी नियुक्त गरिएको प्रतिवेदनमा उल्लेख छ । हाल विश्वविद्यालयमा २४ जना शिक्षक र ५० कर्मचारी स्थाय ीरुपमा कार्यरत छन् ।

अन्वेषण र आविष्कार केन्द्रमा हालसम्म मुलुकका आवश्यकतामा लक्षित प्रविधियुक्त ८ वटा मेसिन तथा केही बहुकार्यात्मक औजार उत्पादन भएको रजिस्ट्रार तिमिल्सिनाले बताए । मेसिनलाई प्रयोग गरेर कृषि, स्वास्थ्य, सूचना प्रविधिजस्ता विषयसाग सम्बन्धित आधुनिक उपकरण तथा औजार विकास गर्न सकिने उनको भनाइ छ ।

विगतका शैक्षिक तथा प्राज्ञिक अभ्यास र गण्डकी विश्वविद्यालय शिक्षण अस्पताल स्थापना गर्ने विषयलाई निरन्तरता दिँदै तयार गरिएको एमबीबीएस कोर्सको जानकारी प्रदेश सरकारमा दिने र गुणस्तरीय शिक्षाको विकास एवं प्रवर्द्धन गर्ने नीति विश्वविद्यालयले लिएको छ । प्राध्यापक र कर्मचारीको प्रयासबाट विश्वविद्यालयलाई गुणस्तरीय नमुना विश्वविद्यालय बनाउने कामको सुरुवात भएको प्रतिवेदनमा उल्लेख छ । गण्डकी विश्वविद्यालयले शैक्षिक गतिविधि (विभिन्न थरीका खेलकुद) आत्मरक्षा कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

अनुसन्धान, अन्वेषण तथा आविष्कारका गतिविधि प्रवर्द्धन गर्दै शिक्षण, अनुसन्धान र समुदायमा आधारित जीवनोपयोगी अनुसन्धान कार्य गर्ने उद्देश्यले २०७६ मा विश्वविद्यालयको स्थापना भएको हो । न्यायिक परिषद् गठित प्रदेश सरकारले स्थापना गरेको यो नेपालकै पहिलो विश्वविद्यालय हो । यहाँ कुलपति खुला रूपमा नियुक्त गरिएको छ । सरकारले स्थापना गरेको विश्वविद्यालय भए पनि गण्डकी विश्वविद्यालय पूर्ण रूपमा स्वतन्त्र छ । खानी, कृषि, इन्जिनियरिङ, उद्यमशीलता जस्ता प्राविधिक विषयको पठनपाठनको माग रहेको विविले जनाएको छ । विश्वविद्यालयले विद्यार्थीको मागअनुसार शैक्षिक आवश्यकता मूल्यांकन र दस वर्षे रणनीतिक योजनालाई अवलम्बन गर्दै अगाडि बढेको प्रतिवेदनले जनाएको छ ।

इन्जिनियरिङ (मेकानिक अटो मोबाइल) एनआरएम र कृषि, कानून, स्वास्थ्यसम्बन्धी कार्यक्रम समावेश गर्नका लागि प्राथमिकता तयार गरिएको उल्लेख छ । मास्टर डिग्री प्रोग्राम मिट अल (कृत्रिम बुद्धिमत्ता) कार्यक्रम हालै प्राज्ञिक परिषद्ले पारित गरेको छ । जलवायु परिवर्तन, दिगोपन र नगरपालिका विकास योजना विषयमा मास्टर डिग्री स्थापना गर्ने कार्य अन्तिम चरणमा रहेको प्रतिवेदनमा बताइएको छ ।

अनुसन्धान, अन्वेषण तथा आविष्कारका गतिविधि प्रवर्द्धन गर्दै शिक्षण, अनुसन्धान र समुदायमा आधारित जीवनोपयोगी अनुसन्धान कार्य गर्ने उद्देश्यले गण्डकी विश्वविद्यालय अनुसन्धान केन्द्र (अन्वेषण तथा आविष्कार केन्द्र)को स्थापना भएको थियो । सोहीअनुरुप विश्वविद्यालयले आफ्नै भवन प्रयोगमा ल्याएको छ । ‘विज्ञान तथा प्रविधिको वर्तमान युगमा नयाँ प्रविधि तथा नवप्रर्वतनलाई जोड दिन आवश्यक छ,’ कुलपति प्रा.डा. गणेशमान गुरुङले भने, ‘यसै कुरालाई आत्मसाथ गर्दै गण्डकी विश्वविद्यालयले आफ्नो शैक्षिक क्रियाकलापमा सैद्धान्तिक ज्ञानलाई अनुसन्धान, अन्वेषण तथा आविष्कारसँग जोडने प्रयास गरेको छ ।’ विश्वविद्यालयले नियमित विद्यार्थीलाई मात्र नभई अन्य व्यक्तिका लागि पनि सीपमूलक तालिम दिने उदेश्य राखेको छ ।

गण्डकी विश्वविद्यालयले पहिलोपटक गैरकानुनी रूपमा उत्पादन हुने कोदोको रक्सीलाई कानुनी दायरामा ल्याई कोदोको संरचना, उत्पादन तथा आर्थिक उपार्जनको लागि बजारीकरणको गर्न अनुसन्धान कार्य अगाडि बढाएको छ । प्रतिवेदनका अनुसार सीमित स्रोत र साधनको अधिकतम सदुपयोग गरी निर्धारित लक्ष्य हासिल गर्नु नै यस विविको मुख्य चुनौती हो । गण्डकी विश्वविद्यालयलाई विश्वविद्यालय अनुदान आयोगको परिभाषाभित्र समावेस गराउनु र वैदेशिक सहयोग लिन नेपाल सरकारको अनुमति प्राप्त गर्न पनि चुनौती रहेको कुलपति गुरुङले बताए । हाल विश्वविद्यालयले ७ सय २६ रोपनी जमिन उपयोग गर्न पाउने गरी प्राप्त भएको छ । नेपाल सरकारबाट थप २ सय ४८ रोपनी जमिन लिने प्रयास भएको कुलपतिले जानकारी दिए ।

प्रकाशित : मंसिर १४, २०८० १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?