११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

शिशु र आमा दुवैको मृत्युपछि लमजुङ अस्पतालमा प्रदर्शन

आश गुरुङ

लमजुङ — शल्यक्रियाबाट मृत शिशु जन्मिएको र उपचारको क्रममा सुत्केरीको पनि मृत्यु भएपछि पीडित पक्षले बेंसीसहरस्थित लमजुङ अस्पताल, बेसीसहरमा बुधबार बिहानैदेखि प्रदर्शन गरेका छन् ।

शिशु र आमा दुवैको मृत्युपछि लमजुङ अस्पतालमा प्रदर्शन

पीडित पक्षले अस्पतालको लापारबाहीका कारण शिशु र सुत्केरी दुवैको मृत्यु भएको आरोप लगाउँदै प्रदर्शन गरेका हुन् । पीडितको प्रदर्शनपछि लमजुङ अस्पताल तनावग्रस्त बनेको छ । अस्पतालको सेवा प्रभावित बनेको छ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका ९, पामचोककी २६ वर्षीया शोभा विकको उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालमा नियमित जाँचमा रहेकी महिलालाई सुत्केरी बेथापछि गाउँबाट ल्याएर सोमबार लमजुङ अस्पतालमा भर्ना गरिएको थियो ।

पीडित परिवारका अनुसार मंगलबार दिउँसो शल्यक्रियामार्फत शिशु निकालिएको थियो । पहिले साधारण अवस्थामा रहेको भनिएकोमा पछि एक्कासि शल्यक्रिया गर्नुपर्ने भनिएको र शल्यक्रिया गर्दा शिशु (छोरा) निकालिएको थियो । ‘शल्यक्रियापछि रगत रोकिएन । पाठेघर फुटेछ भनियो । छिटो ठूलो अस्पताल लैजाऔंभन्दा हेलिकप्टर बोलाउने हो भनियो, हेलिकप्टर आएन । चितवन अस्पताल पुर्‍याउँदा मान्छे नै रहेन,’ मृतकका एक जना आफन्तले भने ।

सुत्केरी आमाको रगत निरन्तर बगेको र नरोकिएपछि मंगलबार पौने ६ बजेतिर बेंसीसहरबाट चितवन मेडिकल कलेज लगिएको थियो । उनलाई अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेको आफन्तले बताए । पीडितपक्षले अस्पतालको लापारबाहीका कारण शिशु र सुत्केरी आमा दुवैको मृत्यु भएको आरोप लगाएका छन् । पीडितले शिशुको शव उठाएको छैन । मृतक सुत्केरीको शव पनि ल्याएर अस्पतालमै राखिएको छ ।

पीडित पक्षले अस्पतालमा प्रदर्शन गर्न थालेपछि बुधबार बिहान ११ बजेबाट अस्पताल व्यवस्थापन समिति अध्यक्ष, अस्पताल प्रशासन प्रमुख, मृतकका आफन्त, पीडितको स्थानीय तह मर्स्याङ्दी गाउँपालिका अध्यक्षलगायत छलफलमा जुटेका छन् ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले अस्पतालमा भइरहेको छलफल वार्ता प्रशासनमा जुट्ने तयारी भइरहेको बताए । यस विषयमा अस्पतालले औपचारिक रूपमा केही बोलेको छैन ।अस्पतालको सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएका छन् । पीडित पक्षले अस्पतालको गेटमा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित : मंसिर १३, २०८० १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?