१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

ढोरपाटनमा चोरीसिकारी बढ्दो

प्रकाश बराल

बागलुङ — नेपालको एकमात्र सिकार आरक्षमा सुरक्षा अभाव भएको छ । बर्सेनि करोडौं रकम राजश्व संकलन गर्ने ढोरपाटन सिकार आरक्षले कर्मचारी र सुरक्षाकर्मी अभावमा ६० प्रतिशत भूगोलमा सुरक्षा दिन नसकेको हो । 

ढोरपाटनमा चोरीसिकारी बढ्दो

सुरक्षा अभावमा पटकपटक अवैध सिकारीले हतियारसहित पसेर संरक्षित पशुचौपाया मार्ने गरेका छन् । संरक्षित जनावरबाहेक अन्य पशुपक्षी समेत मार्ने गरेको वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रराज कँडेलले बताए ।

बोबाङ स्थित प्रहरी चौकीले सामान्य प्रशासनिक काम गरेपनि आरक्ष लक्षित प्रहरी चौकी समेत छैन । बागलुङमा मुख्य कार्यालय रहेपनि आरक्षको अधिकांश भूगोल रुकुम र केही खण्ड म्याग्दीमा पर्छ । आरक्षका ७ वटा ब्लक मध्ये ३ वटा रुकुम, ३ वटा बागलुङ र १ वटा म्याग्दीमा छ । ती सबै ब्लकमा सुरक्षाकर्मी र आरक्षका कर्मीचारी नहुँदा नियमित चोरी सिकार भइरहेको छ । अवैध हतियार समेत बेलाबेलामा भेटिने गरेका छन् । लाखौंको जडिबुटी र काठ समेत तस्करी हुने गरेको आरक्षको तथ्यांक छ ।

लाइसेन्स प्राप्त सिकारीले राष्ट्रिय वन्यजन्तु संरक्षण विभागको अनुमतिले सिकार गर्न आउने गरेका छन् । तर त्यो भन्दा बढी चोरीसिकारीबाट क्षति हुने गरेको हो । ‘हामीसँग कम्तिमा ७२ जना कर्मचारी हुनुपर्ने दरबन्दी सिलिङ छ, तर अहिले ५५ जना मात्रै छौं,’ कँडेलले भने, ‘प्रशासनिक काममा समेत अप्ठ्यारो परिरहेको छ ।’ त्यस बाहेक ढोरपाटनमा रहेको नेपाली सेनाको देवी बक्स गुल्मको उपस्थिति पनि बागलुङ र म्याग्दीमा मात्रै छ । ६० प्रतिशत भूगोल ओगटेको रुकुम तर्फ अहिलेसम्म सुरक्षा पोष्ट राख्न नसकिएको उनले बताए । भएको जनशक्तिले मुख्य कार्यालय, ढोरपाटन सिकार आरक्ष प्रवेशद्वार रहेको देउराली र म्याग्दीको गुर्जाघाटमा मात्रै सेनाले सुरक्षा दिएको छ ।

ढोरपाटनमा हुने घटना, चोरी सिकार तथा अवैध हतियार बरामद भएमा प्रहरी मुचुल्का गर्न समेत अप्ठ्यारो भएको कंडेलले बताए । ‘केही अवैध हतियार भेटियो भने फोनबाट प्रहरीमा खवर गर्ने र सेनाबाट मुचुल्का उठाएर कार्यालयमा ल्याउने काम हुन्छ’ कंडेलले भने, ‘प्रहरीको उपस्थिति पनि भैदिए राम्रो हुन्थ्यो ।’

अवैध हातहतियार बाहेक बन्यजन्तुको हाड, छाला वा मृत शरीर भेटिँदा सेनाको सहयोगमा मुचुल्का बनाएर कार्यालयमा रेकर्ड राख्ने गरिएको उनले बताए । आरक्षले गत असारदेखि अहिलेसम्म १० थान अवैध हतियार समेत बरामद गरेको छ । १९ जना जना चोरीसिकारी समेत पक्राउ परेका छन् । साथै ५ हजार केजी विभिन्न प्रजातिको जडिबुटी, १ हजार ५ सय क्युफिट काठ पनि बरामद भएको छ ।

गत मंगलबार मात्रै आरक्षले ३ जना चोरी सिकारीसहित दुई अवैध बन्दुक र अन्य सामान बरामद गरेको छ । ती सामान र पक्राउ परेका सिकारीलाई आरक्षले राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारवाही पछि पुनः हात हतियार तथा खरखजना मुद्दामा जिल्ला अदालत पठाउने गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कानून बमोजिम हदैसम्मको कारवाहीकालागि सिकारीलाइ जिल्ला अदालत पठाउने बताए ।

हातहतियार तथा खरखजाना ऐन २०१९ को दफा ९ ले अवैध रुपमा हातहतियार वा खरखजाना भेटिएमा स्थानीय प्रहरी कार्यालयमा बुझाउनु पर्ने भन्ने कानूनी प्रावधान छ । त्यस बाहेक संरक्षित वन्यजन्तु चोरी सिकार गरेकालाई आरक्षले कारवाही गर्न पाउने प्रावधान छ ।

जिल्ला प्रहरी वा जिल्ला प्रशासनमा आउन आरक्ष कार्यालय देखि १ सय ३६ किमि यात्रा गर्नुपर्छ । वर्षातमा बुर्तिवाङदेखि ढोरपाटनसम्म सवारी समेत चल्न सक्दैनन् । ‘घटनास्थल आरक्षको कार्यालय देखि एकदुई दिनको यात्रापछि मात्र पुग्न सकिने अवस्था हुँदा भेटिएका सामाग्री आन्तरिक मुचुल्का बनाएर राख्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘हामीलाई आरक्षण सुरक्षा प्रहरी चाहिएको छ ।’ सेनाको संख्या समेत कम भएकोले सबै सिकार ब्लकमा सुरक्षा पोष्ट राख्न नसकिएको उनले बताए ।

२०३९ सालमा १ हजार ३ सय २५ वर्ग किमी क्षेत्रफलमा फैलिएको क्षेत्रलाई सरकारले ढोरपाटन सिकार आरक्षको रुपमा घोषणा गरेको थियो । उक्त क्षेत्रफलको ६० प्रतिशत रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत म्याग्दीमा पर्छ । यहाँ ३२ प्रकारका स्तन्धारी प्रजाति, १ सय ६४ प्रकारका चरा र जडिबुटी समेट पाइन्छ ।

प्रकाशित : मंसिर ९, २०८० १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?