भीरबाट लडेर सख्त घाइतेको मृत्यु

लमजुङ — भीरबाट लडेर सख्त घाइते मर्स्याङ्दी गाउँपालिका-३, थाकनका ४८ वर्षीय लेखबहादुर गुरुङको उपचारको क्रममा मृत्यु भएको छ ।
तिहार भाइटीकाको भोलिपल्ट बिहीबार उनी बाख्रा चराउन जंगलमा गएको बेला भीरबाट खसेर गम्भीर घाइते भएका थिए ।
उनका उपचारको क्रममा नेपाल मेडिसिटी अस्पताल भैंसेपाटी ललितपुरमा मृत्यु भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । बाख्रा चराउने क्रममा घरबाट १ किलोमिटर टाढा रहेको जंगलमा रहेका उनी भीरबाट करिब ४० फिट तल खसेका थिए ।
टाउको र शरीरका अन्य भागमा गहिरो चोट लागेका उनलाई बिहीबार दिउँसो साढे २ बजेतिर स्थानीयले थाह पाएपछि उद्धार गरेर बेंसीसहरस्थित लमजुङ अस्पताल ल्याइएको थियो । लमजुङमा उपचार हुन नसकी प्राथमिक उपचारपछि उनलाई बिहीबार नै चितवनस्थित नारायणी अस्पताल लगिएको थियो ।
चितवनमा पनि उपचार हुन नसकेपछि मेडिसिटी अस्पताल रिफर गरिएको थियो । मेडासिटीमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको खबर साँझ ६ बजेतिर प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले बताए ।
प्रकाशित : मंसिर २, २०८० १९:३७