बाटोमा लत्रिएको तारले करेन्ट लाग्दा एक जनाको मृत्यु

बागलुङ — गोरेटो बाटोमा लत्रिएको तारबाट करेन्ट लागेर बागलुङको निसीखोलामा एक जनाको मृत्यु भएको छ ।
निसीखोला गाउँपालिका–३, काउलेमा शुक्रबार बिहान करेन्ट लागेर ६२ वर्षीय भाजबिर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मदन केसीले जानकारी दिए ।
निसीखोला दोश्रो जलविद्युत् आयोजनाबाट लगिएको बिजुलीको तार भुईंमा लत्रिएको अवस्थामा भाजबिरले कुल्चेका थिए । करेन्ट लागेर ढलेका नेपालीको घटनास्थलमै मृत्यु भएको थियो ।
मृतकको पोस्टमार्टमपछि शव परिवारलाई बुझाइने छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।