कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

लमजुङमा कानको लोती चुँडाएर सुन लुट्ने पक्राउ

आश गुरुङ

लमजुङ — लमजुङमा एक जना वृद्धाको कानबाट सुन लुटेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । दोर्दी गाउँपालिका १, भारते एक्लेखेतका ३५ वर्षीय सन्तोष गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कात्तिक २८ गते गोवर्द्धन पूजाको राति छिमेकी ८५ वर्षीया विष्णुकुमारी थापाको कानको लोती चुँडाएर सुन लुटेको आरोपमा गिरीलाई बिहीबार नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

लुटिएको भनिएको सुन बरामद हुन नसकेपछि पीडित परिवारले ती युवकविरुद्ध अभद्र व्यवहार गरेको अरोप लगाउँदै जाहेरी दिएको र अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले बताए । उनका अनुसार अनुसन्धानका क्रममा अन्य कैफियत देखिए सोहीअनुसार मुद्दा अघि बढ्नेछ ।

वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीका अनुसार कान्छो छोरा काठमाडौं रहेकाले वृद्धासँग बस्दै आएकी बुहारी तिहारमा काठमाडौं गएकी थिइन् । वृद्धाको साथीका रूपमा उनकी कान्छी बहिनी आएकी थिइन् । कान्छी बहिनी खोपीमा सुतेको र घरभित्र सुतेको अवस्थामा वृद्धा लुटिएको वडाअध्यक्ष अधिकारीले बताए । ‘ती आमाको मुखमा बुझो कोचेर हात बाँधी कानको सुन लुटेछन् । खोपीमा सुतेको बहिनीले हारगुहार गरेपछि मात्रै नजिकैका आफन्तलाई थाहा भयो,’ उनले भने । कानको रिङ तान्ने क्रममा ती वृद्धाको बायाँ कानको लोती चुँडिएको प्रहरीले जनाएको छ । दायाँ कानको लोती पनि आधा चुँडिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार वृद्धाको कानमा रहेको एक तोला हाराहारिको रिङ लुटेर लाने क्रममा हारगुहार गरेपछि अर्को कानको लोती भन्ने छिन्न नपाएको र रिङ पनि लान नपाएको वृद्धालाई उद्धृत गर्दै प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी मिनबहादुर घलेले घटनामा संलग्न भएको आरोपमा ती युवकलाई नियन्त्रणमा लिएको र युवकमाथि छानबिन साथै घटनाको अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : मंसिर १, २०८० १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?