लमजुङको तार्कुघाटस्थित एक घरमा आगलागी, झन्डै ३३ लाख रुपैयाँबराबरको क्षति

लमजुङ — लमजुङको राइनास नगरपालिका ८, तार्कुघाटस्थित शुकलाल श्रेष्ठको परिवार बस्दै आएको घरमा आगलागी हुँदा ३३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

विन्दु श्रेष्ठको २ तले कच्ची घरमा केही वर्षदेखि शुकलालको परिवार बस्दै आएका थिए । स्थानीयका अनुसार मंगलबार साँझ साढे ६ बजेतिर उक्त घरमा आगलागी भएको हो । आगलागीबाट जस्ताले छाएको घर र घरभित्रका सबै सामान जलेर नष्ट भएको वडाअध्यक्ष कृष्णबहादुर रानाभाटले बताए । वीर भक्ति माविनजिकै रहेको उक्त घरमा आगलागी भएपछि स्थानीयले हारगुहार गरेका थिए ।
शुकलालका श्रीमानश्रीमती साथै छोरा र छोरी खाना खानको लागि बाबा आमाको उपल्लो घरमा खाना खान गएको बेला आगलागी भएको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको देखिएको छ ।
स्थानीय, प्रहरी साथै बेंसीशहर नगरपालिकाको दमकलले आगो निभाए पनि घरभित्रका सवै सामान जलेर नष्ट भएको स्थानीयले बताएका छन् । आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी मिनबहादुर घले आफैं घटनास्थल पुगेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाइँले आगलागीबाट ३३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक छ । उनका अनुसार १२ लाख रुपैयाँ बराबरको सुनचाँदी, नगद २ लाख रुपैयाँ, लगत्ता कपडा, भाँडावर्तन, फर्निचर सबै जलेको मुचुल्का प्रहरीले उठाएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । पीडित परिवार अहिले बाबाआमाकै घरमा बसिरहेका छन् ।
प्रकाशित : कार्तिक २९, २०८० ०८:३४