१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११०

मोटरसाइकल दुर्घटनामा जर्मन पर्यटकको मृत्यु

घनश्याम खड्का

म्याग्दी — मोटरसाइकलबाट बेनी हुँदै जोमसोम जाँदै गरेका जर्मन नागरिक म्याट्रेड विको दुर्घटनामा मृत्यु भएको छ । बेनी–जोमसोम सडक अर्न्तगत पर्ने अन्नपूर्ण गाउँपालिका ३ काप्रेभीरबाट मोटरसाइकल अन्दाजी ८० मिटर तल कालीगण्डकीमा खसेको थियो ।

मोटरसाइकल दुर्घटनामा जर्मन पर्यटकको मृत्यु

चालक भने सडकदेखि अन्दाजी ६० मिटर तल भीरमा अल्झेका थिए । उद्धारकर्मीले फेला पार्दा म्याट्रेडको मृत्यु भइसकेको उद्धारमा संलग्न जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक कुमार गुरुङले बताए । उनको शव राति २ बजे बेनी अस्पतालमा ल्याइएको छ ।

दुर्घटना साँझ ७ बजे तिर भएको अनुमान छ । दुर्घटनामा उद्धार गर्न मुस्ताङबाट आएको सेना, बेनीबाट गएको प्रहरी तथा सशस्त्र र बाग्लुङबाट विपद उद्धार टोली परिचालन भएको थियो । भीरमा अल्झेका पर्यटकलाई उद्धार गर्न साँझ ८ बजेबाट राति १२ बजेसम्म लागेको पनि प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार चार जना स्पेनिस र ११ जर्मन गरी १५ जना मोटरसाइकल राईडरहरू बिहीबार पोखराबाट बेनी हुँदै मुक्तिनाथ यात्रामा निक्लेका थिए । सवारमध्ये कुन मोटरसाइकल, कति बेला दुर्घटनामा परेको हो, यकिन भएको छैन । मोटरसाइकल धेरै तल कालीगण्डकीमा खसेकोले नम्बर प्लेट र कम्पनीको नाम खुलेको छैन ।

‘बेनी–जोमसाोम सडकको म्याग्दी–मुस्ताङ सीमावर्ती काप्रेभीरबाट मोटरसाइकल तल कालीगण्डकीमा खस्दा एक जर्मन पर्यटकको मृत्यु भएको छ । चालक भीरमा मृत अवस्थामा फेला परेका थिए, उनले चलाएको मोटरसाइकल अझ धेरै तल कालीगण्डकीमा खसेकोले भेटिएन । दुर्घटनाको समय खुलेको छैन,’ उद्धारबाट फर्केका प्रहरी निरीक्षक कुमार गुरुङले भने, ‘चालक मृतक जर्मन नागरिकका अन्य साथीहरू मुस्ताङको लेते पुगेको र अहिले शुक्रबार बिहान बेनी अस्पतालमा आउने जानकारी प्राप्त भएको छ ।’

प्रकाशित : कार्तिक २४, २०८० ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?