प्यानल बनाएर उम्मेदवारी दिए खारेज हुन्छ : सचिव विष्ट


पोखरा — नेकपा (एमाले) को गण्डकी प्रदेश अधिवेशन नजिकिँदै गर्दा पार्टी सचिव गोकर्ण विष्टले प्यानल बनाएर उम्मेदवारी दर्ता गराए उम्मेदवारी नै खारेज गरिदिने चेनावनी दिएका छन् ।


पोखरामा असोज १५ र १६ गते हुने अधिवेशनको तयारीबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले प्यानल बनाएर उम्मेदवारी नदिन आकांक्षी नेतालाई निर्देशन दिए ।
‘विगतमा विभिन्न तहका निर्वाचनमा प्यानलसहितको उम्मेदवारी दर्ताले पार्टीलाई कमजोर बनायो,’ पार्टीको गण्डकी प्रदेश इन्चार्जसमेत रहेका उनले भने, ‘प्यानलसहितको उम्मेदवारी दर्ताविरुद्ध आचारसंहिता बनाउँदै छौं ।’
एमालेमा गण्डकीको नेतृत्व लिनका लागि मोहन रेग्मी, नवराज शर्मा, मायानाथ अधिकारी, धनञ्जय दवाडी, रश्मी आचार्यलगायत आकांक्षी देखिएका छन् । पहिलोपल्ट हुन लागेको अधिवेशनका लागि प्रतिनिधि छनोटको मापदण्ड, विधि र प्रक्रिया पनि एमालेले सार्वजनिक गरेको छ । जसअनुरूप असोज ४ गतेदेखि जिल्ला कमिटीले मतदान अधिकृत तोक्नेदेखि ९ गते प्रतिनिधि छनोटका लागि निर्वाचन गर्नेसम्म रहेको छ ।
एमाले गण्डकीमा रहेका ६३ हजार ५ सय ३७ संगठित सदस्यबाट छानिने करिब ९ सय प्रतिनिधिले १ सय ६५ सदस्यीय प्रदेश समिति चयन गर्ने छन् । एमालेको गण्डकी अधिवेशनका लागि विभिन्न उपसमिति गठन गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने उद्घाटन समारोहका लागि जनसहभागिता जुटाउन घरदैलो कार्यक्रम गर्ने पनि एमालेले जनाएको छ । मंगलबार नै एमालेले आसन्न गण्डकी प्रदेश अधिवेशनको लोगोसमेत सार्वजनिक गरेको छ ।
प्रकाशित : आश्विन २, २०८० १९:४५