कालीगण्डकी करिडोरको मालढुंगा-बलेवा खण्डमा पहिरोले सास्ती


बागलुङ — कालीगण्डकी करिडोरको मालढुंगा-बलेवा खण्डमा दैनिक सडक अवरुद्ध हुँदा आवागमनमा ठूलो सास्ती छ । बागलुङ नगरपालिका-१० को दब्ल्याङस्थित एक्लेसालको पहिरोले यात्रुलाई सास्ती दिएको हो । पहिरो पन्छाउन सडक डिभिजन कार्यालयले भने वास्ता गरेको छैन ।


कालीगण्डकी करिडोर आयोजनाको काम भन्दै डिभिजन तर्किएको छ । करिडोरको कार्यालय पाल्पामा छ‚ उताबाट समस्यालाई गम्भीररुपले नलिँदा दैनिक सयौं यात्रीलाई सास्ती भइरहेको हो । एक्लेसालको पहिरोबाट करिडोर भएर यात्रा गर्ने दक्षिण बागलुङवासी र मालढुंगादेखि कुश्मीसेरा हुँदै बरेङ जाने अर्को सडकका यात्रीलाई बढी सास्ती छ ।
मालढुंगा-कुश्मीसेरा सडकको दुई घुम्ती र करिडोरको एउटा खण्डमा एउटै पहिरोले क्षति पुगेको छ । तीन वर्षदेखि यो सास्ती निरन्तर छ । सडक र करिडोरले काम नगरेपछि बागलुङ नगरपालिकाले दैनिक एउटा डोजर यो पहिरोमा राखेर पन्छाउने काम गरिरहेको छ । ‘दैनिक डिजल खर्च हुन्छ, दुई जना प्राविधिक नियमित खटाउनु पर्छ‚’ नगरप्रमुख वसन्तकुमार श्रेष्ठले भने, ‘चासो राख्नुपर्ने निकायले वास्ता गरेको छैन ।’ सडक अवरुद्ध भएपछि दक्षिण बागलुङबाट सदरमुकामसम्म बिरामी एम्बुलेन्समा ल्याउन सकिंदैन ।
किसानले बलेवा र जैमिनी क्षेत्रबाट दूध र तरकारी समेत ल्याउन पाउँदैनन् । ‘हामीले खबर गरेपछि नगरपालिकाले दैनिक डोजर लगाएर पहिरो पन्छाइदिएको छ‚’ बागलुङ-१२ का चन्द्रबहादुर केसीले भने, ‘अघिल्ला वर्षझै महिनौं सडक बन्द भएन ।’
नगरपालिकाले दैनिक डोजर पठाएकाले पहिरो खसेको ४ देखि ५ घण्टामा निरन्तर खुलाउने गरिएको उनले बताए । यो सडक निर्माणका लागि गण्डकी प्रदेश सरकारले ५ करोड लागतको योजना बनाएको छ । तर ठेक्का लगाएको छैन ।
दैनिक खस्ने पहिरोले दुर्घटनाको समेत जोखिम छ । यहाँ २७ वटा पायल्स फाउन्डेशनसहितको संरचना बनाएर पहिरो नियन्त्रण गर्ने लक्ष्य छ । समयमा काम सुरु नभएपछि यात्रीले बाटो रोकिनासाथ नगरपालिका गुहार्ने गरेका छन् । यो सडकमा दैनिक २ सयभन्दा बढी जिप र मालबाहक पिकअप बिहान सदरमुकाम आउने र बेलुकी फर्कने गरी गुड्छन् । करिडोरको यात्रा गर्ने बस र जिप पनि चल्छन् । वर्षा लागेपछि केही स्थानमा निर्माण भइरहेकाले करिडोरको लामो यात्रा गर्ने बस भने चलेका छैनन् ।
करिडोरको मालढुंगादेखि बलेवा एयरपोर्ट‚ उक्त खण्डदेखि गुल्मी सिमाना र त्यसपछि पाल्पासम्मको गरी ३ खण्डमा कालोपत्रेका लागि काम भइरहेको छ । यो सडक संचालनमा आएपछि बुटवल र पाल्पाका यात्रीले छोटो दुरीमा बागलुङ, म्याग्दी र मुस्ताङ पुग्न सक्छन् ।
प्रकाशित : आश्विन २, २०८० १६:५१