गण्डकीमा शिक्षा दिवस : व्यावसायिक र सिपमूलक शिक्षामा जोड  

शिक्षकले गरे कार्यक्रम बहिष्कार
प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले मंगलबार राष्ट्रिय शिक्षा दिवस मनाएको छ ।कार्यक्रममा सहभागीले अभिभावक र विद्यार्थीको रोजाई अनुसारको शिक्षा र सिप प्रदान गर्नुपर्ने बताएका छन् । स्वदेशमै युवालाई टिकाउन तीनै तहका सरकारले यी विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको भनाइ थियो ।

गण्डकीमा शिक्षा दिवस : व्यावसायिक र सिपमूलक शिक्षामा जोड  


नेपाल सरकारका पूर्वसहसचिव बाबुराम पौडेलले ‘म विद्यार्थीका लागि विद्यार्थी मेरा लागि’ भन्ने अभियानका साथ कार्यपत्र प्रस्तुत गरेका थिए । उनले समाजवाद कुनै भाषण र कम्युनिष्ट विचारबाट नआउने बताउँदै समाजवाद कक्षा कोठाबाटै ल्याउन सुरुआत गर्नुपर्ने बताए ।

‘पोसाक, स्टेशनरी र खाजा सबै विद्यार्थीका लागि समान हुनुपर्छ,’ शिक्षा विभागका पूर्वमहानिर्देशकसमेत रहेका उनले भने, ‘अभिभावक नहुने विद्यार्थीको पठनपाठनको सम्पूर्ण जिम्मा तीनै तहको सरकारले लिन सक्नुपर्छ । तब मात्र समाजवाद शिक्षा ल्याउन सकिन्छ ।’ नेपालमा अहिले पनि ३ लाख विद्यार्थी शिक्षाबाहिर रहेको तथ्यांक उनले सार्वजानिक गरेका थिए ।

चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) गण्डकी प्रदेश प्रमुख दामोदर देवकोटाले गुणस्तरीय प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यकता भन्ने विषयमा आफ्नो प्रस्तुती राखेका थिए । सहभागीले सिपको प्रमाणीकरण हुन नसकेको गुनासो राखेका थिए । प्राविधिक तथा व्यावसायिक शिक्षा, सिप विकासको क्षेत्र र आवश्यकताका क्षेत्र पहिचान गरी सिप विकास गर्न लगानी गर्नु अहिलेको आवश्यकता रहेको उनले बताए ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले स्थापना गरेको विश्वविद्यालयले कुनै पनि विश्वविद्यालय र क्याम्पसमा नभएको विषयलाई पठनपाठन गर्न सक्नुपर्ने बताएका छन् । ‘उनै भइरहेको विषय पठाउने हो भने विश्वविद्यालय किन चाहियो ?’ उनले भने, ‘सिपमूलक शिक्षासहितको पठनपाठन गराउन सके मात्र नयाँ विश्वविद्यालयको औचित्य हुन्छ ।’ मुख्यमन्त्री पाण्डेले स्वदेशमा नै युवा टिकाउनका लागि कस्तो शिक्षा आवश्यक पर्छ भन्ने विषयमा पनि विश्वविद्यालयले अध्ययन गर्न जरुरी रहेको बताए ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले गण्डकी प्रदेश सरकारले शिक्षा क्षेत्रमा उपयुक्त लगानी गरेको बताउँदै सरकारी विद्यालय सुधारका लागि पहल गरिरहेको बताइन् । शिक्षा संविधानको साझा अधिकार सूची अन्तर्गत रहेको बताउँदै उनले शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धि गर्नका लागि प्रदेश सरकारले लगानी गर्दै आएको बताइन् ।

‘समावेशी र सिपमूलक शिक्षाः स्वदेशमै युवा, राष्ट्रको इच्छा’ भन्ने नाराका साथ गण्डकीमा राष्ट्रिय शिक्षा दिवस मनाइएको हो ।

शिक्षा दिवस कार्यक्रमलाई शिक्षकहरूले बहिष्कार गरेका थिए । सरकारले ल्याएको शिक्षा ऐनको विरोधमा कार्यक्रम बहिष्कार गरेका हुन् । ‘प्रावधिक तथा व्यावसायिक शिक्षा र तालिमका अवसरलाई व्यापक विस्तार गरी समावेशी एवम् समतामूलक पहुँच स्थापित गर्दै देश विकासका लागि योग्य, सक्षम, सिपयुक्त र उद्यमशील जनशक्ति तयार गर्ने नीति सरकारको छ,’ मन्त्री सिम्खडाले भनिन् ।

प्रकाशित : आश्विन २, २०८० १५:४१
प्रतिक्रिया
पठाउनुहोस्