नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु


पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको गैंडाकोटमा नारायणी नदीमा डुबेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । गैंडाकोट नगरपालिका-७ का सुमन कुमालका ९ र १४ वर्षका छोराको डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी बेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा १४ वर्षीय सविन कुमाल र ९ वर्षीय संगम कुमालको डुबेर मृत्यु भएको हो ।
डुबेका बालकलाई उपचारका लागि चितवन मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । अस्पतालमा चिकित्सकले बालकहरूलाई मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।
साथीहरूसँग पौडी खेल्न गएका उनीहरू नारायणी नदीमा डुबेका हुन् । प्रहरी र स्थानीयले तत्कालै उद्धार गरे पनि बचाउन नसकिएको स्थानीयको भनाइ छ ।
प्रकाशित : आश्विन १, २०८० १७:०२