कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वैवाहिक बलात्कार र बाल यौन दुराचार आरोपमा दुई पक्राउ

हरिराम उप्रेती

गोरखा — यौन दुराचारका दुई छुट्टाछुट्टै घटनामा प्रहरीले आइतबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पालुङटारको माझगाउँ र सहिद लखन गाउँपालिकाका ३०/३० वर्षका युवक छन् । 

वैवाहिक बलात्कार र बाल यौन दुराचार आरोपमा दुई पक्राउ

३६ वर्षीय महिलालाई वैवाहिक जबर्जस्ती करणी गरेको कसुरमा पालुङटार नगरपालिका-७ माझगाउँका ३० वर्षीय युवक पक्राउ परेका छन् । भदौ २४ गते गर्भवती अवस्थामा रहेकी महिलालाई इच्छाविपरीत धाकधम्की दिइ कुटपिटसमेत गरी जबर्जस्ती करणी गरेको जाहेरी परेको थियो । पीडितको जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले बताए ।

आरोपितलाई आइतबार वैवाहिक जबर्जस्ती करणी कसुरमा मुद्दा चलाउन जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद लिइ घटना अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै १६ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको आरोपमा सहिद लखन गाउँपालिका-७ का ३० वर्षीय सुजन परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

बालिका एक्लै भएको मौका छोपी विभिन्न डर त्रासमा पारी करणी गर्ने आशयले दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तले दिएको जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरोपितविरुद्ध बालयौन दुरुपयोग कसुर शीर्षकमा मुद्दा चलाउन अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।

प्रकाशित : भाद्र ३१, २०८० २१:५४
प्रतिक्रिया
पठाउनुहोस्