कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुष्ठरोगी पहिचानमै सकस

नेपालमा ३० हजार कुष्ठरोगी ।
सन् २०३० सम्म कुष्ठरोगमुक्त नेपाल बनाउने सरकारको अभियानमा आईएनएफको साथ ।
दीपक परियार

पोखरा — हातको औंला कमजोर हुँदै जाने, खुट्टाका औंलामा घाउ देखिने लक्षण देखिएपछि तनहुँ दमौलीकी सुमिना विक पोखराको हरियोखर्क अस्पताल आइन् । औंला कमजोर हुँदा गितार बजाउन नसक्ने चिन्ता उनलाई थियो । अस्पतालमा जाँच गर्दा भने कुष्ठरोग भएको पत्ता लाग्यो ।

कुष्ठरोगी पहिचानमै सकस

उनले एक वर्षसम्म औषधि सेवन गरिन् । हातको थेरापी गराइन् । शल्यक्रिया पनि गर्नुपर्‍यो । बेलैमा रोग पहिचान भएर उपचार हुँदा अहिले उनी निको भएर गितार बजाउन सक्ने भएकी छन् ।

नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोगमुक्त नेपाल बनाउन राष्ट्रिय कुष्ठरोग रणनीति लागू गरेको छ । तर, कुष्ठरोगीको पहिचान गर्नै सकस हुँदा उपचारमा कठिनाइ भएको छ ।

समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टका अनुसार नेपालमा अझैं ३० हजार कुष्ठरोगी छन् । नेपालका बर्दिया, कैलाली र कञ्चनपुरमा कुष्ठरोगका बिरामी बढ्दो क्रममा छन् । ग्रामीण भेगमा कुष्ठरोगीका बिरामी उपचारका लागि अस्पताल नै नपुग्ने गरेको उनको भनाइ छ । ‘बिरामी पहिचानमा सरकारको साधनस्रोतले मात्रै भ्याउँदैन,’ उनी भन्छन्, ‘यो उपचारात्मक र निदानात्मक रोग हो र यसको बेलैमा पहिचान गरेर उपचार गर्न सके निको हुन्छ भन्ने जनचेतना फैलाउन जरुरी छ ।’

स्वास्थ्य मन्त्रालयअन्तर्गत काठमाडौंको टेकुस्थित कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रमुख डा. प्रशन्न नापित समयमै कुष्ठरोगको पहिचान हुन नसक्दा दोस्रो वर्गको अपांगतासम्म पुग्ने गरेको बताउँछन् । समाजमा कुष्ठरोगीप्रति हेर्ने दृष्टिकोण अझै पनि विभेदपूर्ण भएकोले रोग लुकाएर बस्ने प्रवृत्ति अझै विध्यमान रहेको उनले बताए । ‘अब सन् २०३० सम्म कुष्ठरोगमुक्त नेपाल बनाउन अन्तिम धक्का आवश्यक छ,’ उनी भन्छन्, ‘अस्पतालमा बिरामी आउँलान् र जाँचौंला भनेर बस्नुहुँदैन, घरघरमा पुगेर बिरामी खोज्नुपर्छ ।’

नेपाल सरकारको राष्ट्रिय कुष्ठरोग रणनीतिमा सहयोग पुग्ने गरी इन्टरनेसनल नेपाल फेलोसीप (आईएनएफ) नेपालले ‘शून्य कुष्ठरोग रणनीति’ सार्वजनिक गरेर कार्यान्वयनमा ल्याएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार उक्त रणनीति सार्वजनिक गरे । उनले सरकारले लिएको लक्ष्य पूरा गर्न आईएनएफको रणनीतिक कार्यक्रमले सहयोग पुग्ने बताए ।

सन् १९५२ मा स्थापना भएको संस्थाले कुष्ठरोगको क्षेत्रमा काम गरेको ७ दशक नाघेको छ । पोखरामा साइनिङ अस्पतालबाट आफ्नो सेवा सुरु गरेको संस्थाले हाल हरियोखर्क अस्पतालसँगै सुर्खेत र नेपालगञ्जका अस्पतालबाट समेत कुष्ठरोगीको निःशुल्क उपचार गर्दै आएको छ । कुष्ठरोग प्रभावितलाई उनीहरुको परिवार र समाजमा पुनर्स्थापना गर्न समुदाय स्वास्थ्य कार्यक्रम संस्थाले सञ्चालन गर्छ ।

आईएनएफका स्वास्थ्य सेवा निर्देशक डा. अरुणकुमार बुढाका अनुसार विभिन्न सरोकारवालासँगको छलफलबाट रणनीतिक योजना तर्जुमा गरिएको हो । रणनीति निर्माणमा स्वास्थ्यमन्त्रालयअन्तर्गत टेकुस्थित कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाको समेत सहयोग रहेको छ । रणनीतिक योजनामा समुदाय तहमा कुष्ठरोगका विविध पक्षबारे जनचेतना अभिवृद्धि गर्ने, कुष्ठरोगका बिरामीको पहिचान गर्न र समाजमा नखुलेका बिरामीलाई स्वास्थ्य संस्थासम्म ल्याइपुर्‍याउन स्थानीय स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने, जिल्ला र प्रदेश अस्पतालका छाला रोग विशेषज्ञहरुसँग नियमित रुपमा कुष्ठरोगसम्बन्धी अन्तरक्रिया गर्नुका साथै विशेषज्ञको प्राविधिक ज्ञानमा वृद्धिका लागि तालिम सञ्चालन गर्ने कार्यक्रम समावेश छन् ।

‘यसै रणनीतिक योजनाको आधारमा हामी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका कुष्ठरोगको प्रकोप दर उच्च भएका पालिकामा केन्द्रित हुन्छौं,’ उनले भने, ‘कुष्ठरोगमुक्त बनाउन समुदाय, जिल्ला र प्रदेश तहका सरोकारवालासँग सहकार्य गर्ने छौं ।’ संस्थाका कार्यकारी निर्देशक कृष्ण अधिकारीले कुष्ठरोग प्रभावितलाई उपचारपछि आफ्नै परिवार र समुदायसँग सम्मानित भइ बस्ने वातावरण बनाउन रणनीतिक योजनाले सहयोग पुर्‍याउने बताए ।

आईएनएफले संस्थापक आइलिन लज र बेट्टी बेलीको स्मृतिमा हरियोखर्क अस्पताल परिसरमा कुष्ठरोगीको उपचारका लागि ‘आइलिन एन्ड बेट्टी सेन्टर’ स्थापना गरेको छ । उक्त भवनको शुक्रबार नै मुख्यमन्त्रीले उद्घाटन गरे ।

प्रकाशित : जेष्ठ २७, २०८० १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?