गर्मी बढेपछि तनहुँका दुई पालिकामा एक हप्ताका लागि विद्यालय बन्द


तनहुँ — केही दिनदेखि गर्मी बढेसँगै तनहुँका दुई स्थानीय तहले एक साताका लागि विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् ।

गर्मीका कारण पठनपाठनमा समस्या भएको भन्दै आँबुखैरेनी गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाले सूचना जारी गर्दै पालिकाभित्र सञ्चालित सबै विद्यालय आइतबारदेखि एक साताका लागि बन्द गर्ने निर्णय गरेका हुन् ।
अत्यधिक गर्मी बढ्दै जाँदा विद्यालयमा हुने पठनपाठन तथा विद्यार्थीको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पर्न सक्ने भएकाले वर्षे बिदाबाट कट्टी हुने गरी सबै विद्यालयहरु जेठ २८ गतेबाट एक साता बन्द गर्न निर्देशन दिएको दुबै पालिकाले जानकारी दिएका छन् ।
गर्मी बढेसँगै तराईका अधिकांश स्थानीय तहले पनि सीमित अवधिका लागि विद्यालयको पठनपाठन बन्द गराएका छन् ।
प्रकाशित : जेष्ठ २६, २०८० १९:२१