३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

तनहुँ पूर्ण खोप सुनिश्चित

सम्झना रसाइली

तनहुँ — तनहुँ जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । ‘स्थानीय श्रोतको उपयोग, सहयोग र स्वामित्व पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित बुधबार आयोजित कार्यक्रममा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

तनहुँ पूर्ण खोप सुनिश्चित

नेपाल सरकारले जारी गरेको खोप ऐन, २०७२ को प्रस्तावनामा खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मूलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन तथा खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा प्रदान गर्ने सुनिश्चिततासँगै जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको जिल्ला खोप समन्वय समिति सचिव एवं स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।

‘जिल्लाका १० वटै स्थानीय तह र ८५ वटा वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा पूर्ण खोप लगाउनबाट बञ्चित बालबालिकालाई खोप प्रदान गरिएको छ,’ उनले भने, ‘सबै स्थानीय तहहरुले पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिसकेकोले सोही प्रावधानबमोजिम जिल्लालाई पनि घोषणा गरिएको हो ।’

स्थानीय तहले गरेको सर्भेक्षणअनुसार जन्मदेखि १५ महिनासम्मका ४ हजार ८८५ जना र १६ देखि ५९ वर्षसम्मका ११ हजार ८०९ जना बालबालिकामध्ये व्यास नगरपालिकामा १ र भानु नगरपालिकामा १ बालबालिकाले १ डोज पनि खोप नलगाएको भेटिएको थियो । यसैगरी व्यासमा ३७, भानुमा १३, शुक्लागण्डकी नगरपालिकामा ३७, भिमाद नगरपालिकामा २, ऋषिङ गाउँपालिकामा ५, म्याग्दे गाउँपालिकामा ५, बन्दीपुर गाउँपालिकामा २५, घिरिङ गाउँपालिकामा ८, देवघाट गाउँपालिकामा १२ गरी १४४ जनाले आंशीक खोप लगाएको भेटिएकोमा उनीहरुलाई पूर्ण खोप प्रदान गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषण गरिएको कार्यालयका प्रमुख अधिकारीले बताए ।

यस्तै, पूर्णखोप सुनिश्चितता तथा दिगोपनाका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग नेपालका सदस्य जुद्धबहादुर गुरुङले स्वस्थ नागरिक समृद्धिको आधार भएकाले कुनै पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुन नहुने बताए ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वग्लेले जिल्लाभित्र खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको बताए ।

प्रकाशित : जेष्ठ २४, २०८० २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?