अत्यधिक गर्मीले मध्यबिन्दु नगरका विद्यालयमा थप दुई दिन बिदा

नारायण शर्मा

पूर्वी नवलपरासी — अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको भन्दै मध्यबिन्दु नगरपालिकाका विद्यालयहरुले दिएको बिदा थप लम्ब्याइएको छ । यसअघि चार दिनका लागि दिइएको बिदामा थप दुई दिन बिदा थपिएको हो । 

अत्यधिक गर्मीले मध्यबिन्दु नगरका विद्यालयमा थप दुई दिन बिदा

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले बुधबार एक सूचना निकालेर अत्यधिक गर्मीका कारण पालिकाभित्रका सबै विद्यालय आउँदो बिहीबार र शुक्रबार पनि नखुल्ने जानकारी दिए ।

मध्यबिन्दु नगरपालिकाले यसअघि बुधबारसम्म ४ दिन लगातार बिदा दिएको थियो । यहाँको मौसम ४२ डिग्री रहेकाले पठनपाठनमा बाधा पुगेको भन्दै बिदा दिनु परेको सूचनामा उल्लेख छ । कावासोती, बिनयी त्रिवेणी, देवचुली र गैंडाकोट नगरपालिकाले यसअघि नै सूचना जारी गरेर आउँदो शुक्रबारसम्म बिदा दिइसकेका छन् । अत्यधिक गर्मीका कारण तराईका अन्य जिल्लामा पनि विद्यालयको पठनपाठन रोकिएको छ ।

प्रकाशित : जेष्ठ २४, २०८० २०:०८
प्रतिक्रिया
पठाउनुहोस्