मुख्यमन्त्रीले भेट नदिएपछि जनआन्दोलनका घाइतेले हुलाकबाटै पठाए चिठी


पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट नदिएको भन्दै जनआन्दोलन सहिद परिवार तथा घाइते समन्वय समितिले हुलाकमार्फत मागपत्र पठाएको छ । समितिले बुधबार हुलाक निर्देशनालय पोखराबाट मुख्यमन्त्रीको कार्यालयलाई सात बुँदे मागपत्र पठायो ।


समितिका अध्यक्ष शेखर गौतमले निर्देशनालय प्रमुख कीर्तनराज पौडेललाई मागपत्र बुझाएका थिए । पौडेलले नियमित प्रक्रिया बमोजिम चिठी सम्बन्धित ठेगानामा बुग्ने बताए । समितिले तत्कालीन जनआन्दोलनका घाइतेको उपचार निर्देशन तथा व्यवस्थापन समिति २०६३ ले घाइतेको स्वास्थ्यको आधारमा दिएको परिचयपत्र र घाइते प्रतिशतको पुनर्मूल्यांकन गर्न माग गरेको छ ।
पहिलाको मूल्यांकन व्यवहारिक नभएको र तत्कालीन समयमा सामान्य भनि वर्गीकरण गरिएका घाइतले अहिलेसम्म निरन्तर उपचार र औषधि सेवन गर्नुपरिरहेको समितिका अध्यक्ष शेखर गौतमले बताए ।
परिचयपत्रको आधारमा घाइते तथा घाइते आश्रित परिवारलाई निःशुल्क स्वास्थ्य, शिक्षा, रोजगारी र यातायातमा सुविधाको व्यवस्था सुनिश्चित गर्नुपर्ने, तीनवटै तहको निर्वाचनपछि गठन भएका सभाले ऐतिहासिक जनआन्दोलनका घाइते योद्धालाई सम्मानजनक व्यवहार गर्नुपर्ने, प्रदेशको बजेटमा जनआन्दोलनका घाइते तथा सहिद परिवारलाई सम्बोधन गर्ने कार्यक्रम ल्याउनुर्ने, लोकतान्त्रिक आन्दोलनका सहिदको सम्मानमा गण्डकी प्रदेशस्तरीय सहिदपार्क निर्माणको व्यवस्थित कार्ययोजना तयार गरिनुपर्ने समितिको माग छ ।
मुख्यमन्त्रीसँग पटकपटक समय माग गरे पनि उपलब्ध हुन नसकेकोले हुलाकमार्फत मागपत्र पठाएको समितिका अध्यक्ष गौतमले बताए । ‘जनआन्दोलनका घाइतेको उपचार गर्ने सन्दर्भमा राज्यले उदासिनता देखाएको छ,’ उनले भने, ‘बजेटमा स्वास्थ्योपचारका कुरा समेटिनुपर्छ भनेर वैशाख ११ र जेठ १५ मा मुख्यमन्त्रीलाई भेट्न खोज्यौं तर समय दिइएन । बाध्य भएर हुलाकमार्फत पठाउनुपर्यो ।’
प्रकाशित : जेष्ठ २४, २०८० १७:३६