कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

नगरप्रमुख अध्यक्ष रहेको सहकारीबाट ठगिएको भन्दै प्रहरीमा उजुरी

प्रकाश बराल

बागलुङ — ढोरपाटन नगरप्रमुख देवकुमार नेपाली अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाबाट ठगिएको भन्दै प्रहरीमा उजुरी परेका छन् ।जिल्ला प्रहरी कार्यालय बागलुङमा मंगलबार दिउँसो पीडितले उजुरी दिएका हुन् । उनीहरुले आफ्नो रकमको सुरक्षाका लागि प्रहरी र प्रशासनलाई मागसमेत गरे । 

नगरप्रमुख अध्यक्ष रहेको सहकारीबाट ठगिएको भन्दै प्रहरीमा उजुरी

गत वैशाख ६ गतेको संचालक समिति बैठकले निर्णय गरेर सहकारी बन्द गराएको थियो । बन्द भएको सहकारीमा सयौं बचतकर्ताले पटक-पटक धर्ना दिएका थिए । अध्यक्ष नेपालीसहित संचालक सम्पर्कविहीन भएपछि बचतकर्ताले प्रशासन र प्रहरी गुहारेका हुन् ।

मंगलबार प्रहरीमा पुगेका पीडितले जाहेरी दिएका हुन् । ‘लाखौं रकम डुब्यो, खोजी होला कि भनेर जाहेर दिन आएँ,’ बागलुङ नगरपालिका-२ रुद्रे पिपलकी रउमती छन्त्यालले भनिन्, ‘छोराछोरी पढाउँला, घर चलाउँला भनेको लाखौं रकम बर्बाद भयो ।’ उक्त सहकारीको बागलुङ, गलकोट, बुर्तिवाङ र पोखरामा गरी १ अर्ब ५४ करोड रुपैयाँ रकम हिनामिना भएको सहकारी रजिष्ट्रार कार्यालयको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

जिल्ला प्रहरीका डिएसपी मदन केसीले जाहेरी पर्न थालेको बताए । ‘पीडितहरु आइरहनुभएको छ, कतिको प्रक्रिया पुग्दैछ,’ केसीले भने, ‘पीडितले आफ्नो समस्या खुलाएका छन्, प्रहरीले पनि सोहीअनुसार अनुसन्धान गर्छ ।’

सहकारी अभियन्ताहरुले पनि नेपालीलाई पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् । राजनीतिक संरक्षण गर्नसमेत नपाइने उनीहरुको माग छ । ‘जनता ठगिंदैछन् भन्ने जान्दाजान्दै पनि भाग्ने अवसर कसरी आयो ?’ सहकारी अभियन्ता डिलबहादुर कार्कीले भने, ‘कानुनको कमजोरी खोजेर नेपालीले जनतालाई ठगेर भागे ।’ भाग्न नदिने भन्ने, तर देख्दादेख्दै पक्राउ गर्न नसक्ने कानुनले नेपाली भाग्ने अवसर पाएको उनले बताए ।

प्रकाशित : जेष्ठ २३, २०८० २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?