२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

म्याग्दीमा बाढीले बगाएर एक जनाको मृत्यु

घनश्याम खड्का

म्याग्दी — रघुगंगा गाउँपालिका–६ पाखापानीमा बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार दिउँसो अन्दाजी ४.३० बजे गाउँदेखि केही पर नाङ्ले भन्ने जंगलमा घाँस काट्न गएकी रघुगंगा गाउँपालिका–६ कालावाङ बस्ने २४ वर्षीया हरिमाया शेरपुञ्जालाई बाढीले बगाउँदा मृत्यु भएको हो ।

बाढीले बगाउँदा सोही स्थानकी ३० वर्षीया दानदेवी पाइजा घाइते भएकी छिन् । घाइते पाइजाको बेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाँस काट्न जंगल गएका उनीहरू दिउँसो ४ बजे परेको भारी वर्षापछि ओत लाग्न खोल्सा छेउको ओढारमा बसेका बेला माथिबाट अचानक ठूलो बाढी आई बगाएको थियो । घाँस काट्न गएका महिलाहरु बाढीमा परेको देखेपछि स्थानीयले पाइजालाई जीवित उद्धार गरेका थिए । शेरपुञ्जालाई भने केही तल मृत अवस्थामा भेटाएका थिए ।

प्रकाशित : जेष्ठ २२, २०८० २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?