खसी भनेर बाख्रीको मासु बेचेको आरोपमा दुई जना पक्राउ

सम्झना रसाइली

तनहुँ — तनहुँको व्यास नगरपालिका–३ तरकारी लाईनस्थित एक मासु पसलबाट खसी भनेर बाख्री काटेर बेचेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

खसीको मासु भनी बिक्री गर्नका लागि बाख्री जातको मासु काट्दै गरेको अवस्थामा मासु पसलका सञ्चालक महम्मद फिरोज व्यास–५ चापाघाटका १९ वर्षीय इस्तखार आलमलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । इस्तखारसँगै बाख्री काट्दै गरेका ४० वर्षीय सनोज देवानलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

तनहुँ मासु व्यवसायी संघमा दर्ता गरी सञ्चालन रहेका विभिन्न मासु पसलहरुको गुणस्तर मापन गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय, जिल्ला जिल्ला प्रहरी कार्यालय, व्यास नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र गुणस्तर तथा नापतौल कार्यालय तनहुँको संयुक्त अनुगमन टोलीले उनीहरुलाई आइतबार नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुई ब्यापारीलाई जिल्ला प्रशासन कार्यालय तनहुँमा उपस्थित गराई निजहरु उपर कालो बजारी तथा केही अन्य सामाजिक अपराध सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ २२, २०८० १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?