१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

हिमाल संरक्षणमा चुनौती

पोखरामा मनाइयो ७३ औं अन्नपूर्ण दिवस
प्रतीक्षा काफ्ले

कास्की — सेता देखिने हिमाल पछिल्लो समय काला देखिन थालेका छन् । जलवायु परिवर्तनका कारण हिमाल पग्लिन थालेपछि पर्यटन व्यवसायी पनि जोखिममा छन् । अब हिमाललाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने मुख्य चुनौती थपिएको उनीहरूको भनाइ छ ।

हिमाल संरक्षणमा चुनौती

पर्यटन व्यवसायी लक्की कार्की भन्छिन्, ‘पहिलेको जस्तो स्थिति छैन । अब पनि संरक्षणमा ध्यान नपुर्‍याउने हो भने हिमाल मासिँदै जान्छन् ।’ उनले हिमाल संरक्षण चुनौतीपूर्ण रहेको बताइन् ।

अन्नपूर्ण आरोहण दिवस जुन ३ तारिखमा मनाइँदै आएको छ । ७३ औं अन्नपूर्ण दिवसको अवसरमा शनिबार अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले आयोजना गरेको पर्वतीय पर्यटनमा पर्वतारोहणका चुनौतीसम्बन्धी अन्तरक्रियामा कार्कीले बताएकी हुन् । उनले अन्नपूर्ण हिमालले नै महिला ट्रेकिङ गाइड उत्पादन गरेको उल्लेख गर्दै चार महिला ट्रेकिङ गाइडले पर्वतारोहण गरेको जनाइन् । ‘एक महिलालाई नै चुनौती थियो,’ उनले भनिन्, ‘अन्नपूर्ण हिमालमा पहिलोपटक आरोहण गरिएको हो ।’ हाम्रो प्रदेशको सबैभन्दा महत्त्वपूर्ण हिमालको संरक्षण गर्नु चुनौती रहेको बताइन् । उनले पछिल्लो समय हिमाल पग्लने क्रम बढ्दो रहेको बताइन् ।

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा शिखर छन् । त्यसमध्ये अन्नपूर्ण प्रथम ८०९१ मिटर उचाइमा छ भने चौध अग्ला शिखरमध्ये १० औं स्थानमा रहेको छ । सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली नागरिक मौरिस हर्जोगसहितको टोलीले अन्नपूर्ण चुचुरोमा पाइला टेकेको थियो । त्यसयता थुप्रै स्वदेशी तथा विदेशी आरोहीले अन्नपूर्ण आरोहण गर्दै आएका छन् । सन् २०२१ सम्म ३ सय ९ जना आरोही चुचुरो चुम्न सफल भएको तथ्यांक संग्रहालयको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले सरकारले विगतमा के काम गर्‍यो भन्दा पनि आगामी दिनमा गर्नुपर्ने कामलाई जोड दिनुपर्ने बताइन् । उनले जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमालमा देखिएको बताउँदै यसतर्फ सरकारको ध्यान जानुपर्ने बताएकी छन् । ‘हाम्रो कला, संस्कृति, विज्ञान अन्नपूर्णसँग जोडिएको छ,’ उनले भनिन्, ‘अन्नपूर्ण हाम्रो सम्पत्ति हो । अहिलेको आवश्यकता यसलाई कसरी जोगाउन सकिन्छ भन्ने हो ।’

नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा शेर्पाले हिमाल चढ्नु जत्तिको चुनौती यसको संरक्षणमा आएको बताए । ‘हिमाल पग्लिन थालेसँगै नेपालमा पर्यटन व्यवसायमा पनि असर पुगेको छ,’ उनले भने । यसैगरी पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटनका समृद्धि नै हिमाल रहेको तर्क राखे । पोखरा महानगर–१७ का वडाध्यक्ष राधिका शाहीले हिमाल चढ्ने पर्यटकको संख्या बढाउन ध्यान दिनुपर्ने बताइन् ।

कार्यक्रममा सहभागीले हिमाल गण्डकी प्रदेशका गौरवका विषय रहेकाले यिनको संरक्षणमा चौतर्फी आवाज उठाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा अन्नपूर्ण चौथो (७५२५ मि) कि कीर्तिमानी आरोही मनु गुरुङ (मुना) लाई सम्मान गरिएको थियो ।

प्रकाशित : जेष्ठ २०, २०८० २२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?